उत्तरः खराव आचरण, खराव व्यवहार, खराव कार्यशैली, साधनस्रोतको दुरुपयोग भ्रष्टाचार हो । मुलतः सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक स्रोत, साधन र अवसर आफ्नो निजी स्वार्थ, फाईदाको लागि प्रयोग गर्ने गैरकानूनी कार्यको समग्रतालाई भ्रष्टाचार भनेर बुझिन्छ ।
‘खराव आचरण भएको व्यक्तिले अवसर पाएमा भ्रष्टाचार मौलाउँछ ।’
भ्रष्टाचार = अवसर X इच्छाशक्ति
यो वर्तमान नेपाली समाजको क्यान्सर हो । कानूनतः दण्डित भएतापनि घट्नुको सट्टा बढ्दै जानुका केही कारणहरु;
– राजनीतिक कारणः भ्रष्टाचारको नियन्त्रणमा राजनीतिक प्रतिवद्धताको अभाव, भ्रष्टहरुको राजनीतिकरण र राजनीतिको भ्रष्टीकरण ।
– आर्थिक कारणः गरिवी, अभाव, न्यून वेतन, अपारदर्शी स्रोत परिचालन तथा वितरण, जसरी पनि धन कमाउनुपर्छ भन्ने भ्रष्ट मति, राजश्व चुहावट, कर छली ।
– सामाजिक कारणः भ्रष्टहरुलाई सामाजिक बहिष्करण छैन, जसरी भएपनि धन कमाए समाजमा स्वीकार्य, भड्किको सामाजिक व्यवहार, अपारदर्शी प्रतिस्पर्धा ।
– नैतिक कारणः सार्वजनिक पद धारकमा सदाचारिता, इमान्दारिता, नैतिकताको अभाव ।
– अन्य कारणः भ्रष्टाचार विरुद्ध एक्वैबद्धताको अभाव, सेवा प्रवाहमा सूचना तथा प्रविधिको न्यून प्रयोग, सामाजिक सचेतनाको कमी, भ्रष्ट कार्य तथा भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने संस्कृतीको कमि जस्ता विविध कारणहरुले भ्रष्टाचार नेपाली समाजमा बढ्दै गएको पाईन्छ ।
भ्रष्टाचार बढ्नु प्रभावहिन शासन र प्रशासनको उपज हो । यसको नियन्त्रणका लागि;
– प्रभावकारी कानूनको तर्जुमा गर्ने, मौजुदा कानूनलाई समयसापेक्ष बनाउन परिमार्जन गर्ने र कार्यान्वयनमा तदारुकतासाथ लाग्ने ।
– भ्रष्टाचार नियन्त्रणका लागि कार्यरत कार्यालयहरुको सबलिकरण, सशक्तिकरण गर्ने, स्रोतसाधन सम्पन्न बनाउने, आपसी समन्वय कायम गर्ने ।
– प्रभावकारी शासन, विकास र सेवाप्रबाहका माध्यमबाट गरिवी, अभाव हटाउने ।
– वेतन प्रणालीलाई समयसापेक्ष बनाउने ।
– सामाजिक सचेतना मार्फत भ्रष्टाचार विरोधी समाजको निर्माण गर्ने।
– भ्रष्टहरुलाई कडा र निर्मम सजाय गर्ने ।
– सार्वजनिक पद धारकहरुमा नैतिक शिक्षा प्रदान गर्ने ।
– प्रशासन – समाज – सञ्चारमाध्यम सहकार्य गर्ने ।
– सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधि (ICT) तथा ICT Based Expenditure System प्रयोग गर्ने ।
– सार्वजनिक पदधारकको सम्पत्ति विवरण भर्ने भराउने प्रक्रियालाई व्यवस्थित, बैज्ञानिक र कार्यपरक बनाउने ।
अन्त्यमा : भ्रष्टाचार अख्तियारको दुरुपयोग हो । यसको नियन्त्रण राज्यको प्रमुख कर्तव्य, दायित्व भएतापनि यो आम सरोकारको विषय हो । भ्रष्टाचारको नियन्त्रणार्थ स्थापित सस्थाहरुले अन्य सरोकारित संस्थासँग मिलेर वर्तमान समयमा गरेको कार्यले केही हदसम्म सकारात्मक सन्देश दिएतापनि नीतिगत रुपमा हुने भ्रष्टाचार र राजनीतिक आवरणमा लुकेको भ्रष्टाचारजन्य कार्यलाई नियन्त्रण गर्न अझै गति लिन सकेको देखिँदैन । सबैको समन्वयकारी भूमिका मार्फत भ्रष्टहरुको नियन्त्रण गरी पारदर्शी, अनुशासित, इमान्दार शासन र प्रशासनको माध्यमबाट समग्र राष्ट्रको उन्नति र विकास सम्भव हुन्छ, जुन अपरिहार्य छ ।