कविता
"मलाई माफ गर मेरो गाउँ"
जहाँ म जन्मे हुर्के
क ख र ए बी सी डी पढे 
जहाँको चिसो पानी
आटो ढिंडो खाएर बढे 
हो त्यही 
जन्म भूमिमा
मैले मेरो भविष्य देखिन ।
न त्यहाँ कुनै
मैले चाहेको शिक्षा थियो 
न कुनै सुविधासम्पन्न अस्पताल
न कुनै चिल्लो बाटो
न कुनै पार्क र रेष्टुरेन्ट
न कुनै रोजगारी ।
थिए त केबल
पुराना बस्तीहरू
पुरानै सोचका मान्छेहरू
घाँस दाउरा 
कुटो कोदालोमै
बिताउँथे तिनका दैनिकीहरु ।
सञ्चारको साधन
थिए  त केबल 
उनै कटुवाल 
अनि हुलाकी दाइ
पत्र मित्रताका 
रसिला पत्रहरु
चौतारीको जमघटले 
सूचित गराउँथ्यो
गाउँ भित्रका ताजा हालखबर हरु ।
खेल्थ्यौँ थोत्रा
मोजाका बलहरु
कपर्दी डन्डी बियो हरु
च्यातिन्थ्यो कमीज 
अनि 
हराउथे बटनहरु
उध्रेको कमिजको गाँठो सँगै
कस्सिन्थे हाम्रा सम्बन्धहरु ।
तिजु र दमौराका 
रुखका टुप्पामा बसेर 
सुसेली हालेको अझै ताजै छ 
बनभात खाने भन्दै 
खेतका  कान्लामा आगो बालेको 
अस्ति हो कि जस्तो लाग्छ ।
नदीको दहमा पौडी खेल्दा
झण्डै डुबेर मरिएन
त्यसैले त 
पौडी न सिकियो 
टाढाको स्कूल 
जाँदा र आउँदा
हस्याङ फस्याङ गर्दै  दौडिन सिकियो ।  
पेट खाली हुँदा समेत 
भोक लागेन
नाङ्गै हिँड्दा समेत 
चिसो लागेन 
कति स्वस्थ थियो शरीर
जे खायो मज्जाले पचाइदिने 
जंगली कन्दमूल ले नै बचाइ दिने ।
जब म शहर पसे
अनि महल भित्र बसें
फेरियो मेरो दैनिकी
रोजेको शिक्षा
ठूल्ठूला अस्पताल
चिल्ला सडकहरू अनि 
रमझमका सञ्चार माध्यमहरू ।
दौडिन मर्निङ वाक 
पौडिन स्वीमिङ पुल 
अग्ला टावर हरु माथि बसेर 
सुस्केरा हाल्दै
नियाल्छु सारा शहरलाई 
शहर दौडिरहेछ
म पनि दौडी रहेछु 
सपनाको खेति गरिरहेछु 
मनग्गे धन कमाई रहेछु
रमाउन खोजिरहेछु 
सुख सयल रोजिरहेछु ।
तर विडम्बना
कमाइरहेछु 
रमाउन सकेको छैन
यो सिंगो सहरले मलाई
खुशी दिन सकेन 
सन्तुष्टि दिन सकेन
सबभन्दा प्यारो मेरो 
जीवनको प्रत्याभूति दिन सकेन ।
हिजो विनासकारी 
भूकम्पले हल्लायो 
तिमीलाई सम्झे
तिम्रै शरणमा आएँ
आज कोरोना ले तर्साइरहेछ
शहर बाट भाग्दै लखेटिदै
जीवनको भिख माग्दै
म फेरि तिम्रो शरणमा आई रहेछु ।
आशा छ
पक्कै शरण दिने छौ 
तिम्रै क्वारेन्टाइन मा 
सुरक्षित राख्ने छौ 
आत्मबल थपि दिने छौ 
रोग प्रतिरोधात्मक क्षमता 
बढाइ दिने छौ 
यो संकटको घडी बाट 
पार लाग्न  साथ दिने छौ । 
माफ गर मेरो गाउँ
मैले तिमीलाई बेलैमा चिन्न सकिन
तिम्रो सम्पदाको अवमूल्यन गरें 
बद्नाम गरें
तिम्रो विकासमा चासो दिइन
तैपनि तिमी आफ्नै बलबुताले
उन्नतिको बाटोमा लम्किरहेको पाएँ
प्रकृति र विकासलाई
समायोजन गर्दै 
बिस्तारै  बिस्तारै चम्किरहेको पाएँ ।
मलाई थाहा छ
भोलिका दिनमा पनि 
यस्ता कैयौं विपत्तिहरुमा
तिमीले मलाई बचाउनु पर्छ 
मैले तिमीलाई बचाउनु पर्छ 
त्यसैले त तिमी र म 
सँगै मिलेर दुनियालाई हसाउनु पर्छ ।
२०७६/१२/११/७:५२am
भूमिराज शर्मा
पर्वत