किन बढ्दैछ आत्महत्याको श्रृङ्खला ?
भूमिराज शर्मा
१. विषय प्रवेश ः
२०६८ सालको एसएलसी परीक्षाको नतीजाले आधा भन्दा बढी परीक्षार्थीहरुलाई निराश तुल्याइदियो । मन र मुटु दरो पार्न सक्नेहरुले त जेनतेन चित्त बुझाएर बसे । पुरकमा वा अर्को बर्षको एक्जाम्टेडमा पास गर्ने अथवा एसएलसी परीक्षा बाटै सन्यास लिने निर्णय गरे । त्यसो गर्न नसक्ने कमजोर मनहरु मध्येका आधा दर्जन भन्दा बढी असफल बिद्यार्थीहरुले भने आत्म हत्याको बाटो रोजे । त्यसमा पनि आत्महत्या गर्ने अधिकांश विद्यार्थीहरु छात्रा थिए । यस बर्षको एसएलसी कसैको लागि सुखद बन्यो त कसैका लागि पीडादायी बन्न पुग्यो । शैक्षिक असफलता त केवल आत्महत्याको एउटा कारण मात्र हो । बालबालिकाहरुले आत्महत्याकै बाटो रोज्नुका पछाडि धेरै कारणहरु छन् । ती कारणहरुको समयमै पहिचान गरी समाधानको बाटोमा अगाडि बढ्नु अहिलेको प्रमुख आवश्यकता बनिसकेको छ ।
२. के हो त आत्महत्या ?
सामान्य भाषामा भन्नुपर्दा आफुलाई मुल्यहीन, सहारा विहिन ठान्दै एवं जीवन जिउने विकल्प नदेखि भावनात्मक आवेगमा आएर व्यक्ति स्वयंले आफ्नो जीवनको अन्त्य गर्नुलाई आत्म हत्याको रुपमा लिइन्छ । वयस्क मानिसहरुले जस्तै बालबालिकाहरुले पनि आत्महत्या गर्ने गरेको पाइन्छ । तर आत्महत्या गर्ने तरिकामा भने फरक पाइन्छ । सामान्यतया ८ वर्षदेखिका बालबालिकाहरुमा आत्महत्याका घटनाहरु पाइन्छन । विशेष गरी साना उमेरमा हुने मृत्युलाई अभिभावकले गम्भिरतापूर्वक नलिनाले, प्रचारप्रसार हुने डरले संचारमा नल्याउनाले, अनुसन्धानले गलत आरोप लगाउछ कि भन्ने डरले बालबालिकाको अकस्मात हुने मृत्युलाई दुर्घटनाको रुपमा परिभाषित गर्ने चलन छ ।
३. बालबालिकाहरुले आत्महत्याकै बाटो रोज्नुका कारणहरु ः
बाबुआमा तथा परिवारका सदस्यहरुबीच बारम्बार हुने झै झगडा, तनाव, बाबुआमा वा आफुलाई माया गर्ने परिवारका सदस्यको मृत्यु वा विछोड, पारिवारिक अपहेलना, अभिभावकबाट भेदभावपूर्ण व्यवहार, सौतेनी आमा वा बुबाको चर्को मानसिक र शारीरिक यातना, शैक्षिक असफलता, साथीहरुसँगको झगडा, विछोड, गरिबी, अधिक अपहेलना, सानै उमेरमा कामकोे बढी बोझ, रिसाहा स्वभाव, आर्थिक मामिलामा संवेदनशील स्वभाव, अर्काको सल्लाहमा मात्रै चल्ने बानी, चिन्ता एवं उदासनीता र कहि कतै जिज्ञासाको कारण पनि बालबालिकाहरुले आत्महत्या गरेको पाइन्छ ।
वास्तवमा बालबालिकाहरुले गर्ने आत्महत्याका जे जति कारणहरु भएता पनि उनीहरुलाई आत्म हत्याको अवस्थासम्म पुग्नबाट रोक्नु हामी सबैको दायित्व हो । यसका लागि आत्म हत्या गर्नु पूर्व बालबालिकाहरुमा देखिने संकेतहरुको बारेमा ध्यान पुर्याउनु पर्दछ । जब वालबालिकाहरुमा असामान्य व्यवहारहरु देखा पर्न थाल्दछन्, ती व्यवहारहरु प्रति अभिभावकले विशेष निगरानी गर्नु पर्दछ ।
४. बालबालिकाहरुले आत्म हत्या गर्नु पूर्व देखिने संकेतहरु
एक्लै बस्न रुचाउने
बढी गम्भिर र भावुक देखिने
अधिक डराउने
धेरैजसो समय गहभरी आँसु पार्ने
निराश देखिने
सुत्न नसक्ने वा ननिदाउने
शारीरिक क्रियाशीलतामा निस्क्रियता देखा पर्ने
बेहोसी बन्दै जाने
पढाइ लगायत अन्य कार्य सम्पादन दक्षतामा कमी आउँदै जाने
लागु पदार्थ दुव्यसन तर्फ लाग्ने
गैर सामाजिक क्रियाकलापमा संलग्न हुने भावनाको विकास हुने
बारम्बार साथीसंग मर्न पाए पनि हुन्थ्यो, यो ठाउँबाट हाम फाल्न पाए कस्तो हुन्थ्यो होला, म त मरिदिन्छु यार जस्ता कुराहरु गर्ने आदि
यी माथि उल्लेख गरिएका र यी बाहेक यस्तै अन्य विभिन्न संवेगात्मक संकेतहरु बालबालिकाहरुमा देखा परे भने उनीहरुले आत्म हत्याको बाटो रोज्न सक्ने सम्भावनालार्ई ख्याल पुरयाउनु पर्दछ ।
५. बालबालिकाहरुले आत्म हत्या गर्दा अपनाउने तरिकाहरु
बालबालिकाहरुले आत्म हत्या गर्दा विभिन्न तरिकाहरु अवलम्वन गर्न सक्दछन् । जसमध्ये खोला, नदी वा पोखरीमा हाम फाल्ने, झुण्डिने, विष सेवन गर्ने, अग्लो ठाउँबाट हाम फाल्ने, चलिरहेको सवारी साधनमा ठोक्किने आदि तरिकाहरु प्रचलित छन् ।
६. आत्महत्याको श्रृङ्खला रोक्न के गर्ने ?
बालबालिकाहरुमा आत्म हत्याका संकेतहरु देखा पर्न थाले भने अभिभावक र शिक्षकहरुले उनीहरुसंग बसेर मनका कुराहरु बुझी दिने, उनीहरुका पीडा मर्का तनाव एवं चिन्ताको बारेमा गहिरो अध्ययन गरी समस्या बुझी दिने प्रयास गर्ने,
जोखिमपूर्ण वातावरणमा रहेका बालबालिकाहरुलाई विशेष संरक्षणको व्यवस्था मिलाउने,
आत्महत्या तर्फ उन्मुख बालबालिकाहरुलाई मनोचिकित्सक तथा मनोविदहरुबाट उचित परामर्श र सल्लाह प्रदान गर्ने,
बालबालिकाहरुलाई मानव जीवनको महत्व, जीवन संघर्ष, र जीवन जिउने कलाहरुको बारेमा प्रशिक्षित गर्ने,
बालबालिकाहरुमा म आफू पूर्ण रुपले सुरक्षित छु भन्ने अनुभूति दिलाउने व्यवहार र प्रेरणा प्रदान गर्ने,
बालबालिकाहरुमा देखा पर्ने नकारात्मक सोच हटाई सकारात्मक सोंचको विकास गराउने किसिमका कार्यक्रमहरु संचालन गर्ने,
लागु पदार्थ सेवनको कारण पनि बालबालिकाहरुले आत्महत्या गर्ने हुदा लागु पदार्थ सेवनको कुलतमा लाग्न नदिने,
शिक्षक तथा अभिभावकहरुले बालबालिकाहरु प्रति भयरहित र यातनामुक्त व्यवहार प्रदर्शन गर्ने,
जीवनप्रति विश्वास र आशा एवं भरोसाको संचार गराउने खालका कार्यक्रहरु संचालन गरी उनीहरुको आत्मबल दरो बनाउने,
बालबालिकाहरुलाई पर्याप्त मायाममता स्नेह प्रदान गर्ने,
उनीहरुलाई आफू एक्लो भएको अनुभूति गर्न नदिने खालको वातावरण सिर्जना गर्ने,
७. निष्कर्ष
आत्महत्या नेपालको एक प्रमुख समस्याको रुपमा देखापरेको छ । कलिला बालवालिका र किशोरहरु आत्महत्या गर्न पुग्नु एउटा सभ्य समाजको लागि पक्कै पनि सुखद कुरा होइन । यसले सभ्य समाजको उपहास गरिरहेको छ । भोलिको नेपाल निर्माण गर्ने दायित्व बोकेका कर्णधारहरु जीवन अन्त्यको अवस्थामा पुग्नुका पछाडि रहेका कारणहरुको पहिचान गरी समयमा नै मनोवैज्ञानिक ढंगले समस्या समाधानको बाटोमा अगाडी बढ्नु अहिलेको प्रमुख आवश्यकता हो । यो सामाजिक समस्यालाई हल गर्नका लागि राज्य, नागरिक समाज र विभिन्न सामाजिक संघ–संस्थाहरुले बेलैमा होस पु¥याउन जरुरी भइसकेको छ । बालवालिकाहरुलाई निर्भयतापूर्वक आत्मविश्वासका साथ जीवन जिउनको लागि उपयुक्त किसिमको पारिवारिक र सामाजिक वातावरणको सिर्जना गर्नु हामी सबैको दायित्व हो । यसका लागि हामी र हाम्रो परिवार, उनीहरुले पढ्ने विद्यालय र समाज बालमैत्री बन्नै पर्दछ । परिवार र समाजले बालबालिकाहरुका चाहना, आवश्यकता र आकांक्षाहरुलाई सम्बोधन गर्नै पर्दछ । अन्यथा यो वा त्यो वहानामा अझ धेरै बालवालिकाहरुले अकालमै आफ्नो जीवन समाप्त गर्दै जानेछन् । घटना घटिसकेपछि पछुताउनु बाहेक हामीसंग कुनै अर्को विकल्प रहने छैन ।
सुझाव र प्रतिक्रियाका लागि कजष्पकजबचबकबचयपबच२थबजयय।अयm