Skip to main content

अंग्रेजी कक्षामा हेलम्बुका आमा

-प्रतिमा सिलवाल

Mahilaहेल्लो एभ्रिवडी, आइ एम लाक्पा डोल्मा हेल्मो । आइ एम फिप्टी फाइभ यर्स वल्ड । आइ एम फ्रम सेर्मा थाङ, इट लाइज इन सिन्धुपाल्चोक डिस्ट्रिक्ट । दिस इज आवर फोल्क स्कुल । आइ अल्वेज कम हिअर । आइ लाइक इंलिस ल्यांग्वेज क्लास ।
डोमा हेल्मोले अरू साथीहरूको परिचय सुनिसकेपछि यसरी आफ्नो परिचय दिइन् । साँझको ८ बजे उनी कापीकिताब लिएर अक्षर खुट्याउने कोसिस गर्दै थिइन् । ५५ वर्षे यी शेर्पिनी आमै हेलम्बुको चिसोबाट बच्न लुसुक्क न्यानो ओच्छ्यानमा पस्नुको सट्टा हरेक दिन अंग्रेजी पढ्न यसैगरी आइपुग्छिन् । भात, तरकारी पकाइवरी साँझ ६ बजेदेखि ८ बजेसम्म अंग्रेजी सिक्न तयार भइसकेकी हुन्छिन् हरेक दिन । घरबाट करिब पाँच मिनेटको दूरीमा रहेको विद्यालय उनको दैनिक नयाँ कुरा सिक्ने थलो हो ।
‘एक वर्षदेखि अंग्रेजी सिक्दै छु,’ किताबमा लेखिएको अंग्रेजी अक्षर पढ्न बुढ्यौलीले छोइसकेका आँखा तन्काउँदै भनिन्, ‘विदेशीहरूले हेल्लो भन्दा, जवाफमा ‘नो इंलिस’ भन्नुपथ्र्यो । आज त्यो दिन गइसक्यो ।’ बिहानैदेखि दिनभरको घरधन्दाले शरीर थाकेको भए पनि एक वर्षयता उनको मानसिक थकान भने हराउन थालेको छ । ‘कडा पढाइ छ, क्लास नआएर त भएन नि,’ पढाइप्रतिको लगाव सुनाउँदा अँधेरीमा पनि उनको अनुहारको चमक भने प्रस्टै बढेको देखियो ।
हेलम्बु, पर्यटकीय क्षेत्र । हरेक दिनजसो विदेशी पाहुना ल्हाक्पाको घरमा टुट्दैनन् । नेपाली बोल्न नजान्ने विदेशीलाई खाने कुरा दिँदा उनी भाषा नजानेर संकेतमा कुरा गर्थिन्, पहिलेपहिले । यसो गर्दा सबै कुरा बुझिँदैनथे । तीन छोराकी आमा लाक्पाले आफ्ना सन्तानलाई स्कुल पठाइन् । तर, आफू भने निरक्षरका निरक्षर । जन्मेलगत्तै चौँरी गोठालो हुनुपर्ने बाध्यताका कारण उनले स्कुले शिक्षाको अनुभव लिन पाइनन् । तर, निरक्षर हुनुको पीडा उनले राम्ररी बुझ्न थालिन् । त्यसैले सन्तानलाई भने शैक्षिक अवसरबाट वञ्चित राखिनन् । छोराहरूले कापीकलम लिएर बस्दा पनि उनी आफूलाई भने अक्षर चिन्ने सोख थिएन, न त आवश्यकता महसुस गरिन् । तर, आज उनका लागि अंग्रेजी पढ्नु बाध्यता र आवश्यकता दुवै बनेको छ । भन्छिन्, ‘अंग्रेजी नजानेको मान्छे त लाटोजस्तै हुँदो रहेछ ।’
०००
सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुको शेर्माथाङ गाउँ । साँझ ६ बजेपछि एउटा घरमा गाउँका अधिकांश महिला भेला हुन्छन् । दिनभर आलुबारीमा गोडमेल गर्दाको थकाइ होस् वा घाँसपातको झन्झट, यस्ता सानातिना विषयमा गफ गरेर समय खेर फाल्ने फुर्सद उनीहरूलाई छैन अहिले । बरु, झोलाबाट कापीकिताब झिकिहाल्छन् । उमेर घर्किएकाहरू पावरदार चस्मा आँखामा थप्छन् । अनि सुरु गर्छन्, अंग्रेजी अक्षर फुटाउन । लाक्पा थप्छिन्, ‘पहिले त क्यापिटल र स्मल एबिसिडी पनि जानिनँ । पढ्न पनि लाज लाग्ने ।’
एक वर्षको लगातार पढाइपछि बुढ्यौली धक विस्तारै हटेर जान थाल्यो । ताजा दिमाग बोकेर स्कुल पुग्ने कलिला विद्यार्थीकै जस्तो उत्साह उनीहरूमा पनि पलायो । पाको दिमाग सजिलै कजिन मान्दैन । तैपनि उनीहरू दिमागी अवरोधलाई भत्काएरै छाड्छन् । अनि त्यहाँ भर्छन्, आधुनिक शिक्षाका आधुनिक ज्ञान, नवीन चेतनाहरू । त्यही परिश्रमको उपज हो, अहिले त उनीहरू आफ्नो परिचय निर्धक्क दिन मात्रै होइन, आफ्ना बारेमा अंग्रेजीमै फरर भन्न सक्ने भइसके । ‘हेल्लो हाइ एन्ड गुड इभिनिङ । माइ नेम इज सांगी डोमा । आइ एम म्यारिड । आइ ह्याभ टु चिल्ड्रेन । आइ एम अ हाउस वाइफ ।’ एउटा छोरा नजिकै घोप्टो परेर निदाइरहेको छ । अर्को काखमा बसेर दूध चुस्दै निदाउने तरखरमा छ । डोमाको ध्यानचाहिँ किताबतिरै छ । आज घर गएर भात पकाउन बाँकी नै छ । पति घरमा नभएका दिन उनी यसरी नै स्कुल गइरहन्छिन् ।
‘लोक विद्यालय,’ हेलम्बुका पाका आमाहरूको विद्यालयको नाम यसरी जुराएका छन् उनीहरूले । अहिले सरकारले देशभर साक्षरता अभियान सञ्चालन गरेको छ । देशबाट निरक्षरता उन्मूलन गर्न भनेर थालिएका साक्षरता कक्षामा आमा–दिदीबहिनीहरू कखरा सिक्दै होलान् । तर, एक वर्षयता हेलम्बुका महिलाचाहिँ अंग्रेजी सिक्दै छन् । उनीहरूका लागि यही शिक्षा व्यावहारिक भएको छ ।
०००
पिटर मोर्गेसन नामक डेनमार्कका नागरिकले हेलम्बुका आमाहरूलाई व्यावहारिक शिक्षा लिने आइडिया दिएका हुन् । नेपालयात्राका क्रममा पटकपटक हेलम्बु आउँदा उनलाई यहाँका बासिन्दाले गरेको आत्मीय व्यवहारले निकै छोएछ । तर, भाषाको अज्ञानताका कारण उनले त्यो आत्मीयता शब्दमा बाँड्न सकेनन् । त्यतिबेला उनलाई वर्षौंअगाडिको डेनमार्क याद आयो, जतिबेला त्यो मुलुक पनि भर्खरै शिक्षामा अघि बढ्दै थियो । त्यहाँ सरकारले अनौपचारिक शिक्षाको कक्षा चलाउँदै थियो, जहाँ किताबी पढाइ मात्रै होइन, स्थानीय संस्कृति, रहनसहन तथा संस्कारको पनि शिक्षण हुन्थ्यो । त्यो कक्षाले सांस्कृतिक प्रवद्र्धनका लागि कोसेढुंगाबराबरकै भूमिका खेल्यो ।
हेलम्बुको शैक्षिक अवस्थाले मोर्गेसनलाई आफ्नो देशको विगत सम्झाइदियो । अनि, स्थानीय युवासँग सल्लाह गरी उनले स्कुल सञ्चालन गर्न हौस्याए । गाउँका महिला तथा पुरुष एकजुट भएर प्रौढ साक्षरता शिक्षा सञ्चालनका लागि होस्टेमा हैँसे गरे । फलस्वरूप एक वर्षयता निरन्तर कक्षा सञ्चालन भइरहेको छ । चैतको मध्यतिर हेलम्बुको लोक विद्यालयमा भेटिएका मोर्गेसनले भने, ‘हामी लोककक्षामा पश्चिमा संस्कृति र पूर्वीय संस्कृतिका बीच पनि अन्तरक्रिया गराउँछौँ । यो सिकाइको कक्षा मात्रै नभएर संस्कृति आदानप्रदानको महत्त्वपूर्ण थलो बनेको छ ।’
शेर्माथाङ र डेनमार्कको ब्रेन्डेर्‍युपबीचको फ्रेन्डसिप गु्रुप गठन गरी त्यसको अध्यक्षको कार्यभारसमेत मोर्गेसनले नै सम्हालेका छन् । उनले हेलम्बूका महिलामा आएको अंग्रेजी भाषाप्रतिको ज्ञानले पर्यटकहरूलाई समेत सहज भएको उल्लेख गरे । ‘सबैभन्दा सजिलो त मैलाई भएको छ, त्यसैले सबैभन्दा खुसी पनि म नै छु,’ उनले हाँस्दै सुनाए । हरेक वर्ष डेनमार्कबाट उनैको नेतृत्वमा एक समूह शेर्माथाङ पुगेर सांस्कृतिक अध्ययन पनि गर्दै आएको छ ।
०००
आइ सि ट्रिज अफ ग्रिन
रेड रोज टु
आइ सि देम ब्लुम
फर मि एन्ड यु
एन्ड आइ थिङ्क टु माइ सेल्फ
ह्वाट अ वन्डरफुल वल्र्ड
छोरालाई दूध चुसाउँदै सांगी डोमा अंग्रेजी गीत सिक्दै छिन् । गीतमा डुबेर उन्मुक्त आवाजसहित गाइरहेको देख्दा लाग्छ– उनले घर फर्किएर भात पकाएर खानु छ भन्ने कुरा नै बिर्सिएकी छिन् यतिखेर । साधारण लेखपढ जानेकी उनी बिहानै एउटा छोरालाई स्कुल पठाउँछिन्, साँझ चार वर्षको त्यही छोरालाई लिएर अंग्रेजी पढ्न पुगिसक्छिन् । निमा डोल्मा पनि त्यही लोक विद्यालयकी विद्यार्थी हुन् । तीन छोराछोरीकी आमा डोल्मालाई हिजोआज साँझ कक्षामा नगई चित्तै बुझ्दैन । पहिलापहिला गाउँका दिदीबहिनी भेट्दा फाल्तु गफ गरेर दिन बिताउने उनी अहिले होमवर्कको कुरा गर्दैमा फुर्सद नपाइने बताउँछिन् ।
पहिले विद्यालयमा पुरुष पनि जाने गर्थे, पछिल्लो समय भने अधिकांश महिला मात्र जान्छन् । ६ सदस्यीय समिति गठन गरेर विद्यालय सञ्चालन गरिएको छ । स्थानीय धामे लामा ह्योल्मो संयोजक रहेको विद्यालयको महत्त्वपूर्ण काम ‘गाउँको संस्कृतिको संरक्षण गर्नु’ उल्लेख गरिएको छ ।
सीप, कला, संस्कृतिलाई जोगाई यसबारे शिक्षा दिन ‘सेर्माथाङ–ब्रेन्डेरूप मैत्री संगठन’ स्थापना गरी सेर्माथाङ फोल्क हाई स्कुल अर्थात् सेर्माथाङ लोक विद्यालयको अवधारणा अघि सारी सञ्चालन गरिएको बताउँछन् सञ्चालक समितिका सदस्यसमेत रहेका स्थानीय याङरिमा स्कुलका डाइरेक्टर टासी लामा ह्योल्मो । उनका अनुसार विद्यालयमा आउने महिलाले समूह गठन गरेर बचतको कार्यक्रम पनि सुरु गर्ने योजना बनाएका छन् । सहकारीमार्फत गाउँको आर्थिक तथा पर्यटकीय विकासका लागि दीर्घकालीन योजना तयार भइसकेको उनले बताए ।
पढ्न थालेपछि महिलाहरू पनि आफूलाई दह्रिलो महसुस गर्न थालेका छन् । आफ्नो सिकाइको अहिलेसम्मको अनुभवको निष्कर्ष निकाल्दै सांगीले भनिन्, ‘आइ गेट सेल्फ पावर, सेल्फ नलेज एन्ड सेल्फ कन्फिडेन्स फ्रम दिस क्लास ।’


Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...