Skip to main content

म्याग्दीको विध्यालयलाई पुर्व गोर्खा सैनिकको सहयोग

म्याग्दी, कात्तिक १४ गते । म्याग्दी दानाका एक पूर्वबेलायती गोर्खा सैनिकले आफूले पेन्सनबापत प्राप्त गर्ने एक महिनाको रकम सामुदायिक विद्यालयलाई सहयोग गर्दै आएका छन् । दाना गाविस–३ का कमल पुर्जाले बेलायत सरकारले पेन्सनबापत दिने एक महिनाको रकम वर्षमा दुईवटा सामुदायिक विद्यालयलाई उपलब्ध गराउँदै आउनुभएको छ । शारीरिक रूपमा अपाङ्गता भएका पुर्जाले हालसम्म म्याग्दीका सातवटा विद्यालयलाई सहयोग गरिसक्नु भएको छ ।

आफूले पेन्सनबापत बेलायतमा प्राप्त गर्ने रकम बचत गरेर सामुदायिक विद्यालयलाई उपलब्ध गराएको पुर्जाले बताउनुभयो । दरवाङको जनप्रिय उच्चमावि, भुरुङतातोपानीको सर्वोदय उच्चमावि, सदरमुकामको बेनी सामुदायिक उच्चमावि, बिमको किसानी उच्चमावि, बेगको महादेव मावि, चिमखोलाको अमर माविलाई एक÷एक लाख रुपैयाँ नगद सहयोग गर्नुभएका पुर्जाले दानाको ज्ञानप्रकाश उच्चमाविलाई दुई लाख २० हजार १८० रुपैयाँ उपलब्ध गराउनुभएको छ ।

दसैँ मनाउने क्रममा हालै जन्मथलो आउनुभएका पुर्जाले सो सहयोग उपलब्ध गराउनुभएको हो भने दानाको काभ्रेमा रहेको सरस्वती प्राविलाई आगामी वर्ष एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । ग्रामीण क्षेत्रका विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयलाई सहयोग उपलब्ध गराएको पुर्जाको भनाइ छ ।

तीन वर्षअघि देखि सामुदायिक विद्यालयलाई सहयोग गर्दै आउनुभएका पुर्जाले जिल्लाका सबै सामुदायिक विद्यालयलाई सहयोग गर्ने योजना रहेको बताउनुभयो । सन् १९८९ मा गोर्खा सैनिकमा भर्ती भएका पुर्जा सन् २००६ मा सेवा निवृत्त हुनुभएको थियो । सैनिक सेवामा प्रवेश गरेको तीन वर्षमा नै ढाडमा समस्या देखिएपछि उहाँ हाल बैसाखीको साहराले हिँड्डुल गर्नुहुन्छ ।

शारीरिक रूपमा अशक्त भए पनि पुर्जाले दुःखमा परेका नेपालीलाई बेलायतमा सहयोग जुटाउन सक्रिय भूमिका निभाउँदै आउनुभएका म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) युकेका उपाध्यक्ष दल जुक्जालीले बताउनुभयो । आफ्नो जन्मगाउँमा शिक्षा, स्वास्थ्य र विकासका लागि सहयोग भित्र्याउन फ्रेन्डली ब्रदर्स दाना सेरोफेरो युके, मोना लगायतका संस्थामा पनि आबद्ध रहेका पुर्जा अध्यक्ष रहेको मद्दत समूह बेलायतलाई गत वर्ष त्यहाँको सरकारले क्विन अवार्डको सम्मान उपलब्ध गराएको थियो ।

म्याग्दीका सामुदायिक विद्यालय र सामाजिक सङ्घसंस्थालाई पुर्जाले गर्नुभएको सहयोग धेरैका लागि अनुकरणीय विषय भएको बेनी सामुदायिक उच्चमाविका प्राचार्य दीपक श्रेष्ठले बताउनुभयो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...