२०७० मङि्सर १२, बुधबार
फिदिम: गीत गाउन सोखिन पाँचथरको फिदिमस्थित गडी माध्यामिक विद्यालयमा अध्ययनरत विशेष शिक्षा कार्यक्रमका दृष्टिविहीन छात्रछात्रा गोर्खा वेलफेयर सेन्टरबाट वाद्यवादनका सामग्री पाएपछि दंग परेका छन्।
दुई महिनाअघि फिदिम आएको समयमा उक्त विद्यालयमा पुगेका पूर्वगोर्खा आर्मीका परिवारहरूको संस्था साफाका पदाधिकारी त्यहाँका छात्रछात्राले गीत गाएको सुनेर प्रभावित भएका थिए। उनीहरूको प्रतिभाबाट प्रभावित भएर संस्थाले विभिन्न किसिमका वाद्यवादन सामग्री पठाएको हो।
सोमबार आयोजित कार्यक्रममा गोर्खा वेलफेयरका लेप्टिनेन्ट कर्नेल रिडम्यानले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी लावतीलाई सामग्री हस्तान्तरण गरे। त्यसपछि लावतीले दृष्टिविहीन छात्रछात्रालाई वाद्यवादनका सामग्री पनि हस्तान्तरण गरे। हार्मोनियम, गितार, कंगो, मादलसहित संगीत कक्षामा प्रयोग हुने सामग्री छन्।
वाद्यसामग्री पाएपछि दंग परेका छात्रछात्राले वेलफेयरबाट प्राप्त सामग्री बजाउँदै गीत गाएर वेलफेयरका प्रतिनिधि र आगन्तुकलाई सुनाएका थिए। ‘गीत रचना गर्न र गाउने सोख भएर पनि सामग्रीको अभावमा खुम्चेका थियौं। अब भने मज्जाले सदुपयोग गर्छौं’, दृष्टिवहीन छात्र कृष्ण रिजालले भने।
कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले विद्यार्थीको शिक्षणमा त्यस्ता सामग्रीले सकारात्मक प्रभाव पार्ने टिप्पणी गर्दै गोर्खा वेलफेयरलाई धन्यवाद दिए।
गोर्खा वेलफेयरका लेप्टिनेन्ट कर्नेल रिडम्यानले गडी माविका छात्रछात्राको प्रतिभा देखेर सामग्री हस्तान्तरण गरिएको बताए। उनले यस वर्ष नेपालका दुईवटा विद्यालयलाई संस्थाबाट यस्ता सामान उपलब्ध गराइएको जानकारी पनि दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी लावतीले पनि सामग्री उपलब्ध गराउने संस्थालाई धन्यवाद दिए। विद्यालयमा २२ जना दृष्टिविहीन छात्रछात्रा अध्ययनरत रहेको जानकारी प्रधानाध्यापक मानध्वज थाम्सुहाङले दिए।
source:www.annapurnapost.com