Skip to main content

आफ्नै थप सिर्जनाहरु


गजल
आफैलाई तल पारेर सम्झौता गर्न म चाहन्न ।
जिन्दगी सँग हारेर सम्झौता गर्न म चाहन्न ।।

नदेखाऊ मलाई बिदेशी मोह रम्छु यही माटोमा ।
बसाई अन्तै सारेर सम्झौता गर्न म चाहन्न ।।

यो मुटु भरी हिमाल पहाड तराईको माया छ ।
त्यो चोखो माया मारेर सम्झौता गर्न म चाहन्न।।

जे गर्न सक्छु आजै गर्छु  यो देशलाई सजाउंछु ।
भोलिभोलि भन्दै टारेर सम्झौता गर्न म चाहन्न ।।

गजल

कुरेर बसें तिमीलाई कलेजको गेटमा आईंनौ ।
तिम्ले आफै तोकेको उहि पुरानो डेटमा आईनौ ।।

रातैभरी नानाथरि कुरा गर्थ्यौ च्याटमा आउदा ।
अनायासै हराइछौ फेसबुक इन्टरनेटमा आइनौ ।।

याद आउँछ घरि घरि नछुट्टिने कसम खाको ।
छोड्नै परे पनि भन किन अन्तिम भेटमा आइनौ ।

कुर्ता सुरुवाल हराएछ, गुन्यू चोली लगाइछौ ।
धेरै पछि आयौ तिमी खै पुरानो सेटमा आइनौ ।।

सिउंदोमा सिन्दुर सजिएछ, जीऊ डाल फेरिएछ ।
आउन त आयौ तिमी उहि पुरानो पेटमा आइनौ ।।

२०७३-०६-२८/ बिहान ५:००

गजल
बाहिर हाँसो भित्र धेरै पीरहरु छन यहाँ ।
घर भित्रै ठूल्ठूला जंजीरहरु छन् यहाँ ।।

बिहानीमा डोको बोकी घाँस काटन जाँदा ।
चिप्लिएमा ज्यानै लिने भीरहरु छन यहां ।।

दिनभर मेलापात साँझ घर फर्कि आउँदा ।
उल्टै मन मुटु घोच्ने तीरहरु छन यहाँ ।।

दिनभर सुन्तलीको भट्टीमा दिन बिताएर ।
साँझ घर श्रीमती कुटने बीरहरु छन यहाँ ।।

क्षयरोग, क्यान्सर र एड्सले समातेपछि ।
बैशमैं सिउँदो पुछिएका शीरहरु छन यहाँ ।।
२०७३-०६-२७

गजल
पहिले घर पोत्ने गर्थे अहिले पोत्छन ओठहरु ।
खेत बारी बाँझै राख्छन रित्तै हुन्छन्  गोठहरु ।।

छोरा छोरी बोर्डिंगतिर पढाउने निहु पारिकन ।
शहर पस्छन बुहारीहरु सिध्याउछन् नोटहरु।।

बच्चा बोर्डिंग गएपछि दिउसो चल्छ मोजमस्ती ।
अति हुन्छ समाजले लगाउन थाल्छ खोटहरु ।।

पचास डिग्री तापक्रमको कमाइ सबै सिध्याएर ।
पोइला हिड्छन् मैयाहरु उल्टै दिन्छन् चोटहरु  ।।

२०६३-०६-२६

गजल
तल्लाघरे काइलो बिदेश जेलमा परयो रे ।
पल्लाघरे साइलो पनि अकालमै मरयो रे ।।

वल्लाघरे कान्छी अस्ति कुबेत छिरी भन्थे ।
हिजो उस्को यौबन साहुले आँखा तरयो रे ।।

माथ्लाघरे ठुली कान्छी जापान गएकी हो ।
नफक्रदै त्यो सुन्दर फूल भुइमा झरयो रे  ।।

छेउघरे काइलो पनि अमेरिका छिर्छु भन्थ्यो ।
रित्तै फर्क्यो दलालले उस्लाई भ्रम छरयो रे ।।

आज भोलि रत्तिभर कुरा बुझ्नै सक्या छैन  ।
खै को माथि कस्ले बिजय हासिल गरयो रे ।।

२०७३-०६-२५/५:१२

मुक्तक

तिम्रो बिचारसंग मेरो बिचार मिल्न सकोस् ।
एउटै दर्द दुबैको मनमा पसि चिल्न सकोस् ।।
हामी दुबै मिली एउटा यस्तो सियो बनाऊँ ।
जसले हाम्रो फाटेको मन मुटु खिल्न सकोस् ।।
२०७३-०६-०९/ बिहान ०७:००

मुक्तक

शेयर माग्दै लाइन बस्छन जनताहरु यता ।
जलबिद्युतमा लगानी गर्न बेच्छन जायजेथा ।।
आफ्नै सत्ता टिकाउन, प्रभुलाई रिझाउन ।
नदीनाला सगुन बोकी दक्षिण पस्छन नेता ।।

२०७३-०६-०८/बिहान ०८:२२

मुक्तक
सुन, चाँदी, हिरा मोती सबै खान मिल्ने भए ।
स्वर्ग पुगि फेरि फर्कि आउन जान मिल्ने भए ।।
अझै कति धन दौलत जोड्थ्यो होला मान्छे ।
मृत्यु पश्चात पोको पारी सँगै लान मिल्ने भए ।।

२०७३-०६-०७/१:३०pm

लामा नङ, कपाल पाल्नु, हुन्न बाबु नानीहरु ।
फोहोर कुरा मुखमा हाल्नु हुन्न बाबु नानीहरु ।।

सफा राख्नु पर्छ आफ्नो घर आगन बिद्यालय ।
जताततै फोहोर फाल्नु, हुन्न बाबुनानीहरु ।।

हतियार नचलाउनु जीउमा घाउ लाग्न सक्छ ।
जथाभाबी आगो  बाल्नु हुन्न बाबु नानीहरु ।।

नानीदेखि बसेको बानी छुटाउन कठिन हुन्छ ।
जाँड, रक्सी खान थाल्नु हुन्न बाबु नानीहरु ।।

सानोतिनो लापरबाहीले ज्यानै पनि जान सक्छ ।
खराब काममा पाइला चाल्नु हुन्न बाबु नानीहरु ।।

भूमिराज शर्मा
पर्बत
२०७३-०६-०६/०३:३७pm
सल्लेरीको सुसेलीमा हराएंछु आज ।
एकान्तमा अनायासै कराएँछु आज ।।

पछिबाट उनी आई आँखा छोपिदिंदा ।
झस्किएर उनी संगै डराएछुं आज ।।

नशालु त्यो नजरको बाण लागेछ कि ।
भित्रभित्रै उन्लाई मन पराएछु आज ।।

मेरो राजा भन्दै अंगालोमा बेरे पछि ।
खै कुन्नि के भएछ थर्थराएँछु आज ।।

२०७३-०६-०६/बिहान ६:३०

"अहिलेको मान्छे "

आफैलाई ठेस लागे पनि, ढूंगो फाल्दैन मान्छे ।
सुन्दर फूल मन पराउंछ, पानी हाल्दैन मान्छे ।।

पहिले टालोमाथि टालो, हाली सिउने गर्थ्यो ।
अहिले च्यात्छ प्वाल पार्छ, तर टाल्दैन मान्छे ।।

मरीमरी काम गर्थ्यो, स्वाबलम्बी बनेकोथ्यो ।
अहिले गफमात्र गर्छ, सिन्को ढाल्दैन मान्छे ।।

हिजो सडक चौतारो, पोखरी आफै खन्थ्यो ।
समाज सेवातिर आज, पाइला चाल्दैन मान्छे ।।

अतिथि देबो भव:भन्थ्यो, सत्कार कति गर्थ्यो ।
बेफुर्सदको बहाना पार्छ, पाहुना पाल्दैन मान्छे ।।

भूमिराज शर्मा
पर्बत
२०७३-०६-०५/२:००pm

चिन्ता नगर तेरो म छु भन्नेहरु भेटेको छु ।
मेरो प्रगतिका पाइला गन्नेहरु भेटेको छु ।।

जस्को निम्ति जोखिम मोलि काम गरें हिजो ।
आज आफ्नै तगारो उनै बन्नेहरु भेटेको छु ।।

जसको प्रशंसामा मैले धेरै पल बिताएको छु ।
आज तिनै आफ्नै खोइरो खन्नेहरु भेटेको छु ।।

चामलमा बिया हुन्छन् भन्ने कुरा मनन गरी ।
मित्रताको नाङलोमा  निफन्नेहरु भेटेको छु ।।

२०७३-०६-०५/बिहान ९:११

हाम्रा बालबालिकाहरु यसै गरी रमाउन पाउनु पर्छ  ।
अधिकारले दिएको कापी कलम समाउन पाउनु पर्छ ।।
सानै देखि माया र ममता, हक अधिकार प्राप्त गरी ।
दुनियाकै असल मान्छे बनी नाम कमाउन पाउनु पर्छ ।।

शुभबिहानी ।

जंगलको बीच बाटो मैं हराउन थालेको छु ।
कतै साथ छूटने हो कि डराउन थालेको छु ।।
भन्नेले जे सुकै भनुन आ-आफ्नो रोजाई हो ।
उही पुरानो गाउँघर मन पराउन थालेको छु ।।

गजल
खुट्टा तान्न छोडी देउ, पाइला चाल्न सिक ।
बरु तिमीले आफ्नै मनको, दियो बाल्न सिक ।

सकारात्मक सोचले मात्र, बदलिने गर्छ मान्छे ।।
रिस, राग,डाह, ईर्ष्या, मनै देखि फाल्न सिक ।।

दुख्न सक्छ मुटु अनि, च्यातिन सक्छ मन पनि ।
उध्रीएको त्यो मन मुटु, धैर्यताले टाल्न सिक ।।

रुखमा चढ़न लगाएर,  फेद ढाल्ने धेरै हुन्छन् ।
आफ्नो पौरखले आफै, नयाँ कर्म थाल्न सिक ।।

भुमिराज शर्मा
पर्बत
२०७३-०६-०४/बिहान ७:२६

आफन्तले आफन्तकै ऊँचो शीर ढ़ाल्छ मान्छे ।
नानाभाँति षडयन्त्रका कदमहरु चाल्छ मान्छे ।।

कहिले यता कहिले उता गर्ने उसको चरित्र हो ।
अबसर खोज्न दुई डूंगामा पाइला हाल्छ मान्छे ।।

आफ्नो बुद्धि बिबेकको रत्तिभर प्रयोग गर्नु छैन ।
आँखा चिम्ली भिडकोपछि दौडिन थाल्छ मान्छे ।।

लक्ष्य के हो गन्तब्य के हो पहिल्याउन नसकेर ।
उर्जाशील समय त्यसै त्यसै खेर फाल्छ मान्छे ।।

२०७३-०६-०३/दिउसो ३:३७

गाडी राम्रो भएर के भो
सडकमा ताल भएपछि ।
सवारी नियम भएर के भो
यात्रुको बेहाल भएपछि ।।

सिन्की खांजे जस्तो गरी
बसमा मान्छे खांज्ने गर्छन ।
अरुको के मतलब भयो
आफू मालामाल भएपछि ।।

बर्दी लगाई सडकमा
बसेकोले देख्दैन किन ।
देखेको नदेखे झै गर्छन्
कमाउने चाल भएपछि ।।

हिजो आज यात्रा गर्दा
मुटु काप्न थालेको छ ।
यात्रुहरुको नजर भरि
ड्राईभर काल भएपछि ।।
२०७३-०५-०३/०७:४२am

"सडक हुनु तराइको जस्तो ।
महल  हुनु पराइको जस्तो ।।
पोके दुधको के स्वाद लिनु ।
भए पो माटे कराईको जस्तो ।।"
२०७३-०६-०२/बिहान ८ बजे

शुभ प्रभात

गजल

नेताहरु केबल यहाँ, गफाडी बनेपछि ।
युवाहरुको गन्तब्य, खाड़ी बनेपछि ।।

दिउसै बाघ भालुहरु ,कराउन थाले ।
खेत बारी बाँझिएर , झाड़ी बनेपछि ।।

रंग ढंग नहुनेले , लीला मच्चाउंछन ।
जान्ने बुझ्नहरु नै, अनाडी बनेपछि ।।

बजैलाई मिनि स्कर्ट, प्रिय लागेको छ ।
लगाउन असजिलो, साड़ी बनेपछि ।।

जीबनभर कमाएको , स्वाहा हुने हो कि ।
मैयाको शोख बंगला र, गाड़ी बनेपछि ।।

भुमिराज शर्मा
२०७३-०६-०१/१२:०६am

गजल

नखुलेको पोल खोल्छन् दारू पिएपछि ।
नशामा जवानी घोल्छन दारू पिएपछि ।।

नानी  देखि नसिकेको अंग्रेजी भाषा पनि ।
खैरे भन्दा बढ़ी बोल्छन दारू पिएपछि ।।

को हो आफ्नो को अर्को हो अत्तोपत्तो छैन ।
आफन्त कै मुख पोल्छन दारू पिएपछि ।।

थरथर काप्दै  फरियाभित्र लुक्नेहरु पनि ।
जस्तोसुकै जोखिम मोल्छन दारू पिएपछि ।।
२०७३-०६-०१/९:३५pm

भाग्य हेर्ने आधार छैन चिना हराएछ ।
गरी खाने साहस छैन पसिना हराएछ ।।
बेबारिसे लास जस्तै बनेको छ जिबन ।
कस्तुरीको जस्तै आफ्नै बिना हराएछ ।।
२०७३-०५-३०/साँझ ६:२५

दुनियामा एक्लो बनि जिउनु परेपछि ।
च्यातिएको मन आफै सिउनु परेपछि ।।
हिजो आज नशामा झुम्न थालेको छु ।
जिउन कै लागि यहाँ पिउनु परेपछि ।।

२०७३-०५-३०
गजल

शीरबाट खसेको त्यो ताज जस्तै बनेको छु ।
पग्लिएको साबुनको गाज जस्तै बनेको छु ।।

खै कसरी चुम्न सक्छु अब  मैले गन्तब्यलाई ।
पखेटाहरु काटिएको  बाज जस्तै बनेको छु ।।

टूटी गए सपनाहरु अबरुद्ध छन मार्ग हरु ।
कुहिरोबीच हराएको ज'हाज जस्तै बनेको छु ।।

मरुभूमिमा पानी खोज्दै तृस्ष्णा बोकि हिड्ने ।
मृगको लागि नभेटिने मि'राज जस्तै बनेको छु ।।

रचना : भुमिराज शर्मा
पर्बत
२०७३-०५-२८/४:२३pm

मुक्तक

जिन्दगीका रंगहरु बदलिन थालिसके ।
ती पुराना ढंगहरु  बदलिन थालिसके ।।
ख्याल ख्यालमै समयले नेटो काटेपछि ।
आज धेरै प्रसंगहरु बदलिन थालिसके ।।

२०७३-०५-२७/साँझ ५:३०बजे

आफै तिर फर्किएका खुकुरीका धारहरु ।
धेरै होइन मात्र थिए संख्यामा दुई चारहरु ।।

रत्तिभर भुल्ने छैन जिबन भर सम्झिने छु ।
यो मुटुमा भाला रोप्ने छन केहि उद्गारहरु ।।

निकालेर फाल्नै पर्ने आँशु झर्न थाले पछि ।
अगेनोमा पिल्सिएका ख़ुर्सानीका खारहरु ।।

शनिबारको बसाइमा  गोडमेल गरि दिएँ ।
फेसबुकमा उम्रिएका बिषालु ती झारहरु ।।

२०७३-०५-२६/साँझ ७:५६
मुक्तक

निशाना खै के लगाउनु तीर नभए पछि ।
बहकिन्छ यो मन त्यसै स्थिर नभए पछि ।।
प्रयास जति गरे पनि सफलता टाढा रह्यो ।
यस्तै हुँदो रैछ क्यारे तक्दिर नभएपछि ।।

२०७३-०५-२६/ साँझ ५:५५  बजे

माला उन्दा फरक फूलको
थुङगो काम लाग्न सक्छ ।
गह्रौं बस्तुको बीचमा पनि
हलूंगो काम लाग्न सक्छ ।।

धन हुनेको संगतमा परी 
घमण्ड धेरै गर्छौ किन ।
आपत पर्दा आखिर उही
बूङगो काम लाग्न सक्छ ।।

निहित स्वार्थ पूर्ति भए
पिठ्यू फर्काउँछौ किन ।
आचि पुछि फालेको नि
ढूंगो काम लाग्न सक्छ ।।

आफै मात्र जान्ने सुन्ने
जस्तो ठान्ने गर्छौ किन ।
तिम्रो गलत नजरको त्यो
लफूंगो काम लाग्न सक्छ ।।

२०७३-०५-२६/०६:३०am

एक हातमा कोदालो
अर्को हातमा बादल ।
रमाउंदै नाच्छु  म त
बजाइ देउ न मादल ।।

कृषिमा नै रम्छु म त
खनि खोस्री  माटो ।
खेत बारीमा उब्जाएर
खान्छु गुन्द्रुक आटो ।।

करेसामा तरकारी छ
फल फूल बगैचामा  ।
जंगलमा भेट्छु मीठो
निउरो टुसा तामा ।।

स्वाबलम्बी बनेको छु
आफ्नै पसिनाले ।
कहिलेकाहिं सताउंछ
पापी असिनाले ।

२०७३-०५-२५/७:३३pm

कबि मोहन दुवालको मर्मस्पर्शी कबिता
" म सस्तो दाममा मास्टर भएर आफूलाई बेचि रहेछु "

चक, डस्टर, ब्ल्याकबोर्डमा आफूलाई सीमित राख्दै
केटाहरुको कचकच र फतफतमा आफूलाई हराउँदै
हस्याङ–फस्याङ र स्वाँ–फ्वामा आफूलाई चलाउँदै
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

घन्टीको भरमा सधैँ आफूभित्रको स्वत्वलाई गुमाउँदै
कागजमा कोरिएको रुटिन–बोर्डमा आफूलाई नचाउँदै
केबल आफूभित्रको मान्छेलाई सकी–नसकी सम्हाल्दै
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

घडी–घडीमा मनभित्रको कुरो मनमा नै राखी सल्किरहेछु
तातो चियाको बाफले सकी–नसकी आफै सेकिरहेछु
सुकेको ओठ, भोकोउको पेट थमथमाउँदै बाँचिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

म स्कुलको मास्टर हुँ सरस्वती खोज्दै बाँचिरहेछु
शिक्षा दिनु धर्मको नाममा आफूलाई सुकाइरहेछु
तर साथी के गर्ने खोइ यहाँ पनि मत्स्य–न्याय भोगिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

दुई छाक उसिना भातको भरमा ठूलो स्वरले चिच्याउँदै
जे गरे पनि यहाँ फटाहाहरुको अगाडि बेवकुफ बन्दै
सकी–नसकी आफूलाई आफै सम्हाल्दै–उठाउँदै
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

बजारको भाउले हुत्तिहारा मास्टर भन्दै गिज्याएको भोगिरहेछु
यस्तै छ साथी, उकुसमुकुसभित्र जीवन साँच्दै हाँसिरहेछु
गधाले पनि सकेको मात्र भारी बोक्छ, ऊभन्दा हीन जीवन बाँचिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

सरसफाई गर्नु स्वस्थ रहनु हो, कक्षामा आफू बकिरहेछु
तर आफूभित्र म मास्टरलाई साबुनले ब्यङ्ग्य गरेको सुनिरहेछु
सन्तुलित आहाराको पाठ पढाउँदै आफू कर्कलाको झोलमा डुबिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

नक्कल गर्नु नेपालीहरुको स्वभाव हो यसैले त नक्कल हुन्छ
यहाँ बिरालालाई क्याट भन्नुपर्छ बिराला भने मुर्ख बन्नुपर्छ
म नेपालको मास्टर हुँ– विदेशी भई नेपालीको बन्धक राख्नुपर्छ
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

फाटेको जुत्ता मलाई चियाइरहन्छ, म उसलाई थुमथुमाइदिन्छु
मेरा कोटका प्वालहरुले जिस्क्याइरहन्छन चुपचाप सोच्दै हेरिरहेछु
यस्तै हो म नेपालको मास्टरको जिन्दगी सकी–नसकी डो¥याइरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

सहनुको पनि सीमा हुन्छ, अन्यायभित्रैबाट न्यायको शंखनाद हुन्छ
अब म भित्रको मास्टर जवालमुखीझैं फुट्न फुट्न मात्र बाँकी छ
अब मजस्तै असंख्य निमुखा मास्टरहरु जुर्मुराएर उठ्न मात्र बाँकी छ
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।

पल्लो गाउको खेत भाझो ओल्लो पाखो बारि
परजिबी जन्तु हामी रासन हाम्रो पारी ।
दिन भरि जुवा खाल्मा साझ सोमरस
गयो घर कुत्यो स्वास्नी गुमाएर होस । ।

दिन भरि स्रम गरे मिल्थ्यो दाना पानी
खेर फाल्छ समयलाई किन जानजानी ।
पाखा भरि चिया अनि रोपे कफी बोत
हुन्थ्यो कमाइ एक दुइ साल्मा पर्थ्यो हातमा नोत । ।

सम्म जमिन घदेरी भो पाखो बारी खालि
किन्छोउ रासन भर्छोउ पेत मह्नगो दाम हाली ।
सबै मिली खेती गरौ अनि पशुपालन
एक अर्कोलाई सहयोग गर्ने बनाउ नया चलन । ।

साइला दाइले भैसी पाल कान्छो भाइले खसि
अन्तरेले तरकारी र गर्छ खेती फर्सी ।
हरि भाइले तमातर  गर खेती काउलि
थुली भाउजु पल्लो खेतमा आलु खेती लाउली । ।

दुध मासु फलफुल बजार तरकारिको
राम्रो हुन्छ कमाइ हाम्रो जागिर सरकारिको ।
आफ्नै फसल आफ्नै पसल खोलौ मिलाएर
बिचौलिया पाखा लाग्ने सिस्तम बसाएर । ।

स्वास्थ्य गीत

पेट सफा भ्एन भने, दसौ रोग को खानि हो त्यो
काँचो कचिलो हग्न सजिलो, सुनेको छ कि छैन यो?

काँचो कुरा धेरै खानु ,मुला गाजर काँक्रो अनी
काँचो लसुन धनीया पत्ता, सलाद प्याज टमाटर नि
बिहान उठि भर्पेट पानी, चिया पिउनु कागतीको
काँचो कचिलो हग्न सजिलो, सुनेको छ कि छैन यो?

बेलुका माछा मासु खाए, सिधै बोसो जम्मा हुन्छ
मामा चाउमिन धेरै भात, रोग हास्छ स्वास्थ्य रुन्छ
चुरोट गुट्खा रक्सी चिसो, शरीरलाई बिस्तारै लान्छ हो
काँचो कचिलो हग्न सजिलो सुनेको छ कि छैन हो?

मुक्तक

मापन सही कसरी हुन्छ बिना नापो नापेपछि ।
सत्य कुरा लुक्न थाल्छ बोल्ने ओठ कापेपछि ।।

कर्मशील हातहरु  सधै ओझेल पर्ने गर्छन् ।
कामचोर नै पुरस्कृत भई  पदक थापेपछि ।।

गजल
( सन्दर्भ: ३७ औ शिक्षा दिबस तथा अन्तर्राष्ट्रीय साक्षरता दिबस)

देशबाटै अज्ञानता भगाउनु पर्छ अब ।
जन-जनमा चेतना जगाउनु पर्छ अब ।।

जे जति स्रोत साधन उपलब्ध छ यहाँ ।
शिक्षाको बिकासमा लगाउनु पर्छ अब ।।

समाजमा देखिएका कुरीति र कुसंस्कार ।
गण्डकीको भेलसंगै बगाउनु पर्छ अब ।।

चेतनाको दियोसँगै सुगन्धित बासनाहरु ।
हरेक गाउँ बस्तीमा मग्मगाउनु पर्छ अब ।।

२०७३-०५-२३/७:१८ am
गजल

कसैले भन्छन् जन्मिदै भाग्य फूटेको मान्छे हूँ म ।
आफ्नो भन्नेले आफ्नै खुशी लुटेको मान्छे हूँ म ।।

कति थिए सपनाहरु, आशा र अभिलाशाहरु ।
काँच फूटे झैँ चकनाचूर बनी टुटेको मान्छे हूँ म ।।

गन्तब्यतिर मोडिन खोजें बीच बाटोमा रोकिएं ।
हातमा टिकट भएर यात्रा  छुटेको मान्छे हूँ म ।।

लुटेको खुशी टुटेका सपना छुटेको यात्रा खोज्दै ।
भाग्यलाई छोडी कर्मको भरमा जुटेको मान्छे हूँ म ।।

२०७३-०५-१८/३:५३pm

रेट्दा रेट्दै टुटेको सारंगीको तार जस्तै ।
चुहिएर रित्तिएको पानीको जार जस्तै ।।

हिजो आज जिन्दगानी ब्यर्थ लाग्न थाल्यो ।
बगैचामा उखेलेर फालिएको झार जस्तै ।।

कति मरे सपनाहरु ओइलिएर चिरा पर्दै ।
खडेरीले चर्किएर सुकेको त्यो टार जस्तै ।।

शिखर चुम्ने आशाहरु त्यसै मरी गएपछि ।
जिन्दगी बनेको छ मरुभूमि पठार जस्तै ।।

२०७३-०५-१८/६:४६am

गजल(सन्दर्भ : बाबुको मुख हेर्ने दिन)

ताते गर्दै अघि बढाइ दिने बाबा भैदिएको भए ।
चुप्प खांदै कांध चढाइ दिने बाबा भैदिएको भए ।।

मलाई एक्लो देखि हेप्दै गाली गर्ने दुश्मनलाई ।
बौद्धिकताले  लडाई दिने बाबा भैदिएको भए ।।

भोक प्यास अभाबले म छट्पटिदै रुदै हिडदा ।
नरोऊ भनि  सघाइ दिने बाबा भैदिएको भए ।।

कति सुखी हुन्थ्यो होला अझै मेरो जिन्दगानी ।
मैले चाहे जति पढ़ाई दिने बाबा भैदिएको भए ।।

हौसलाले प्रगतिका कति शिखर चुम्थे होला ।
सफलतामा बधाई दिने बाबा भै दिएको भए ।।

२०७३-०५-१६/११:००pm

alone

कबिता 
"यस्तो भएको छु "

लामो थकान
अनि केहि दशकको
प्रतिक्षापछि 
आशाको किरण बन्दै
बंशजको निरन्तरताका खातिर
असारे खेत 
रोप्दा रोप्दै
हिलोमै फुलेको एउटा फूल भएको छु  ।

पन्छाउंदै 
वरपरका बिशालु झारहरु
बिना गोडमेल
हुर्किएको बिरुवा जस्तै 
उदाउदै गरेको
त्यो
क्षितिजको सूर्यको 
प्रकाश खोजिरहेको 
जंगलबीचको कन्दमूल भएको छु  ।

माली नभएको
जिन्दगीको बगैचामा 
पत्ता पत्ता थुतिएको फूल जस्तै
कति थुतिए 
जीवनका पत्ताहरु 
कति आए 
हुरीका झोकाहरु
कति हराए मेरा सौंन्दर्यहरु 
त्यसैले त म 
भित्रै बाट सर्बश्व हराएको
बन्द कोठाको चुकुल भएको छु  ।

यही
प्रकृतिमा
अरु सरह हुर्किंन पाउने
मेरो अधिकार कुण्ठित गर्दै
आफ्नै 
आँखा अगाडि
असत्यले सत्यको 
निरन्तर बलात्कार गर्न थालेपछि
तिम्रै बिद्रोहमा
आज 
त्यहि फूलबारीमा
बेमौसमी फूल फुलाउन
आह्वान गर्ने बिगुल भएको छु ।

केबल
दुई छाकको लागि
रगत र पसिना बगाउदै 
कमाएको
आफ्नै पौरख गुमाएर
सदाको निम्ति
दासत्व स्विकार्न
बाध्य पार्दै रगत चुस्ने
तिनै परजीवी 
लामखुट्टेहरु छेक्ने झूल भएको छु ।

उर्लिदो 
साउने भेल होस वा बाढ़ी
चाहे आओस 
जीवनकै 
भयानक आँधी
प्रतिकूलताहरु सँग 
जुध्दै
जस्तो सुकै भार खपेर पनि
गन्तब्य भेट्न 
खोज्नेहरुका लागि
नदी किनार जोड्ने एउटा पुल भएको छु ।

२०७३-०५-१६/६:१४pm

रिसानि माफ होस्

दूधमा दारू मिसेपछि तर कसरी हुन्छ ।
दिन दिनै खाए पछि दर कसरी हुन्छ ?

कहिले यता पार्टी भन्यो कहिले उतातिर।
घरमा भने बेहाल भो भर कसरी हुन्छ ?

काम छैन काज छैन भन्न केहि हुदैन ।
अति गर्न थाले पछि घर कसरी हुन्छ ?

एक दिने तीजलाई महिना दिन मनाएर।
गरेको त्यो खर्च भन उपर कसरी हुन्छ ?????

२०७३-०५-१५/११:००pm

बिजुलीको भन्दछन खानी ।
त्यही गाउँमा अन्धकार भैरहनि ।।

ए पशुपति दाइ !
बत्ती बाल्नै नपर्नी मैंयालाई
हाम्रो गाम्मा पठाई देउन है ।

उनकै कानमा मोबाइल चार्ज गर्नि हो ।
गीत घन्काउंदै ओराली झर्नी हो ।।

ए पशुपति दाइ !
बत्ती बाल्नै नपर्नी मैंयालाई
हाम्रो गाम्मा पठाई देउन है ।

२०७३-५-१५/६:४०am

दुई मुक्तक

१.
मादलुको खरी पनि झर्थ्यो मैले बजाऊँदा ।
त्यही तालमा नाच्दा खेरि तिमी लजाउंदा ।।

तीज पर्बको बेग्लै मज्जा हुने गर्थ्यो सानु ।
गुन्यू चोली पटुकीमा तिमीलाई सजाउंदा

२.
हिजो आज मादलुको ताल हराएछ ।
कम्मर भांचि नाच्ने तिम्रो चाल हराएछ ।।

पहिरन पनि फेरिएछ झनै कुरूप देख्छु ।
मनमोहक पुरानो जीऊ डाल हराएछ ।।

२०७३-०५-१३/१०:०२pm

तिम्रो सुन्दरताको बयान
खै कसरी गरूँ मैले ।
सुनजस्तो रुपमा सुबास
खै कसरी छरूँ मैले ।।

बर्णन गर्ने शब्द पाइन
त्यही रुपले मोहित पार्यौ ।
त्यसै माथि अझै श्रृंगार
खै कसरी भरूँ मैले ।।

तिम्रो बैंसको भेलबाढ़ीले
बगाइदिने हो कि फेरि ।
जिन्दगीका जंघारहरु
खै कसरी तरूँ मैले ।।

काला गए गोरा मिल्छन
भन्न थाली सक्यौ अरे ।
तिम्लाई छोडी अन्तै बसाइं
खै कसरी सरूँ मैले ।।

२०७३-०५-१२/१०:००pm

उम्लिएको दुधको अर्थ आफै पोखिएर हेर ।
दुनिया जोख्ने तराजुमा आफै जोखिएर हेर ।।

पोखिनु र जोखिनुको बल्ल थाहा हुन्छ अर्थ ।
कति ठाउँमा बिटुलो बन्यौ अब चोखिएर हेर ।।

दुख हण्डर खान कति गार्हो हुन्छ भन्ने कुरा ।
नदीमा बग्ने ढुंगा गीटि जस्तै ठोकिएर हेर ।।

अरुलाई पछि पार्दै अघि बढ्न खोज्ने तिमी ।
समयको महत्वलाई एकछिन रोकिएर हेर ।।

२०७३-०५-११/१०:३०pm

मान्छे !!!

गति हुँदा सबै मेरो भन्दै मुड्की बर्साउँछ मान्छे ।
धाक धम्की रवाफले सबैलाई तर्साउंछ मान्छे ।।

तुजुक घट्छ अनि खुल्न थाल्छन आँखाहरु ।
गर्नु पाप गरे पछि बल्ल मन्दिर धाउंछ मान्छे ।।

अन्जानमा गल्ती भयो मोक्ष पाऊँ प्रभु भन्दै ।
कुकर्मकै भेटि लगी देउतालाई चढ़ाउँछ मान्छे ।।

जब दिन ढल्दै जान्छ शरीर पनि गल्दै जान्छ ।
आत्म अनुभूति गर्दै यथार्थतामा आउँछ मान्छे ।।

२०७३-०५-११/१२:२०am

गजल

जता जान्छु उतैतिर, बेरोजगारको लाम देख्छु ।
रोजगार दाताभित्र पनि, बडो छल छाम देख्छु ।।

उजाडिए बस्तीहरु, बाँझै छन ती फांट हरु ।
खण्डहर बनेको त्यो, शहर अनि गाम देख्छु ।।

कस्तो शिक्षादीक्षा दियो, हाम्रो शिक्षा पद्धतिले ।
डिग्री पास गर्नेको मूल्य, आज रित्तो खाम देख्छु ।।

नीतिहरु बदलिन्छन,  स्थिति कहिले बदलिन्न ।
यहाँ केबल नाराहरुमा, मात्र ताम झाम देख्छु ।।

आज एउटा हल्ला गरयो, भोलि अर्कै कुरा फेरयो।
मैं हुँ भन्ने बिज्ञको  पनि, यहाँ कच्चा काम देख्छु ।।

२०७३-०५-११/९:३८am

वा ! वा !! हाम्रा नेताहरु !!!

चुनाबमा भोट माग्न, गाउँमा आउँछन् नेताहरु ।
नानाथरि आश्वासनका, गीत गाउंछन नेताहरु ।।

जनतासंग गरेका ती, प्रतिबद्धताहरु  बिर्सिएर ।
देश लुट्न नौ महिनाको, पालो लाउछन नेताहरु ।।

गरीबको ओत लाग्ने, स्याउले झुप्रो कुहिसक्यो ।
उता आफ्नो महललाई, सुनले छाउंछन नेताहरु ।।

सामान्य केस घटाएको, कार्यकर्ता जेलमा सड्छ ।
गम्भिर अपराधमा पनि, छूट पाउंछन नेताहरु ।।

आफ्नो लागि निर्णय आफै, गर्न नसकेर हो कि ।
दिल्ली र बेइजिंगतिर, मात्रै  धाउंछन नेताहरु ।।

२०७३-०५-११/८:२१am

खै कसरी बधाई दिउं देशै छोडी जानेलाई  ।
पराइलाई आफ्नो ठानी नाता जोड़ी जानेलाई ।।

पारिबारिक सम्बन्धमा दरार पैदा गराएर ।
नानाथरि प्रलोभनमा पाइला मोडी जानेलाई ।।

२०७३-०५-११/६:००am

झरी बादल बर्षा केहि भन्नु पनि छैन ।
स्वर्ग जाने बाटो मलाई खन्नु पनि छैन ।।

सेवामा नै समर्पित गरिदिन्छु जिन्दगानी ।
बिना कर्म कसैको जाती बन्नु पनि छैन ।।

२०७३-०५-१०/७:०१ am
हो रैछ कि क्या हो !!!

घोडा चढ़ने मान्छे एकदिन
लड्छ भन्थे बुढ़ापाका ।
जवानीमा बैंश सबैलाई
चढछ भन्थे बूढ़ा पाका ।।

नचढेकै मान्छे लढयो
बाल्यकालमै बैंश चढ्यो ।
कलियूंगमा मान्छे झनै 
सड्छ भन्थे बुढ़ापाका ।।
२०७३-०५-०९/११:००pm

दुनियामा कस्ता कस्ता साथी हुँदा रैछन ।
थोरै तल धेरै जना आफू माथि हुँदा रैछन ।।

मुखमा मात्रै रामराम बगलिमा छुरा राखी ।
अघिल्तिर भेट्दा मात्रै जाती हुँदा रैछन ।।

सबैलाई एकै ठान्नु ठूलो भूल रहेछ यहाँ ।
कतिपय साथीहरु पनि घाती हुँदा रैछन ।।

स्वार्थ नै स्वार्थले घेरिएको यो दुनियाबीच ।
आफ्नो भन्नेहरु  झन खुराफाती हुँदा रैछन ।।

२०७३-०५-०९/९:२७pm
के हुन्छ ?

दिनरात भट्टीमा गई झुम्यो भने के हुन्छ ?
बत्ती नजिक पुतली गई घुम्यो भने के हुन्छ ?

मान्छेको इज्जत काँच जस्तै हुन्छ भन्छन् ।
थाहै होला जोसमा होस गुम्यो भने के हुन्छ ?

घरवाली श्रीमती र जहानलाई हेला गरी ।
बाहरवाली प्रेयसीलाई चुम्यो भने के हुन्छ ?

यात्रुहरुको ज़िन्दगीको प्राणको भिसा बोकी ।
गुडिरहेको गाडी चालक उम्यो भने के हुन्छ ?

२०७३-०५-०८/७:३३am
चाहिंदैन

बर्षाको झरी बग्न कुलो चाहिंदैन ।
भुसुनो लाई लुक्न दुलो चाहिंदैन ।।

सच्चा छ माया यदि  मुटुमा भने ।
प्रेममा माया जोख्न तुलो चाहिंदैन ।।

आपसमा कुरा यदि मिलेन भने ।
झगडाको बीऊ यहाँ  ठूलो चाहिंदैन ।।

झुपडी नै नभएका दुखिया लाई ।
ब्यर्थको आगो फुक्न चुलो चाहिंदैन ।।

२०७३-०५-०७/८:००am
मातृभूमिको के अर्थ सपनाको देश अर्कै भएपछि ।
राष्ट्रियताको के अर्थ लगाउने भेष अर्कै भएपछि ।।

कोहि छिर्छन लुकिलुकि अरु पढ्ने निहु पार्छन ।
देशै रित्तो हुने पो हो कि परिबेश अर्कै भएपछि ।।

२०७३-०५-०४/१०:१३pm
गाई जात्रा -२०७३

बम्बैका काल कोठरीमा नानी पठाए पछि ।
खाडीतिर यूवाहरुको जवानी पठाए पछि ।।

देश आफै झलमल हुन्छ भन्छन् नेता गण ।
लगानी सँगै दिल्लीतिर पानी पठाए पछि ।।

२०७३-०५-०४/३:४९pm
बस्ती भन्दा अलि टाढा क्षितिज पारी जाने हो कि ।
फेरि फर्कि नआउने गरी बसाइं सारी जाने हो कि ।।

सानो छंदा सुसेली हाल्दै डुल्ने पाखा पखेराहरु ।
बिर्सिएर सधैंका लागि  माया मारी जाने हो कि । ।

२०७३-०५-०४//१२:४०pm
स्वार्थी दुनिया !!!

उर्लिएको जवानीको कदर गर्छ मान्छे ।
जस्तोसुकै सर्त पनि सदर गर्छ मान्छे ।।

जब बैश ढल्दै जान्छ रूप रंग हराउंछ ।
अनि त्यहि सम्बन्धलाई बदर गर्छ मान्छे ।।

२०७३-०५-०३/४:३८pm
जताततै हरियाली फांट उस्तै छ ।
अनुपम प्रकृतिको छाँट उस्तै छ ।।

कृषिमा प्रबिधिको मेल हुनुपर्छ अब ।
गरिखाने कृषकको आँट उस्तै छ ।।

२०७३-०५-०३/९:३०am
गणित गजल

नाफा नोक्सान नहुने भो पाठ्यक्रमबाट कटाएपछि ।
गणित सरल हुन्छ भन्छन् ऐकिक नियम हटाएपछि ।।

दैनिक जीबन ब्यबहार जे सुकै होस् बाल मतलब ।
उपलब्धि बढ़िहाल्छ ग्रेडिंगको ढयांग्रो ठटाएपछि ।।

जस्तालाई तस्तै अनि ढ़िडोलाई निस्तै भन्छन् ।
हटाइदेउ भो ज्यामिति पनि नसिकेर सताएपछि ।।

कहीं नभाको जात्रा हांडी गाउँमा हुने गर्छ अरे ।
गणितभित्र कथा राख अधिकार दिई खटाएपछि ।।
२0७३-०५-०२/१०:१२pm
खै के जिन्दगी !

अभाबै अभाबमा बाच्नु पर्ने जिन्दगी ।
अर्कैको दबाबमा नाच्नु पर्ने जिन्दगी ।।

मनभित्र असह्य पीडाहरु खपेर पनि ।
कृतिम जवाफमा हास्नु पर्ने जिन्दगी ।।

२०७३-०५-०२/९:१०pm

पिडाहरु भुल्न खोज्दा मेटिएछन यादहरु ।
बिस्मृतीको करौतिले  रेटिएछन यादहरु ।।

जिन्दगीका थोरै सुखद क्षणहरु बाँकी थिए ।
तर आज अनायासै लखेटिएछन यादहरू ।।

२०७३-०५-०२/७:२४pm
धर्ति छोड्दा बधाई दिने देशको नागरिक हूँ म ।
आफ्नोपन हराएको पराई भेषको नागरिक हूँ म ।।

परेको छ आज आफ्नो स्वाभिमान नै संकटमा ।
भागफल मेटिएको शून्य शेषको नागरिक हूँ म ।।

२०७३-०५-०२/ ६:५१am

क्षमता भन्दा तेब्बर यात्रु बोकि बस गुड्दा पनि ।
बिग्रिएका जहाजहरु आकासतिर उड़दा पनि ।।

खै के हेरी बस्छन यहाँ  सम्बन्धित निकायहरु ।
लापरबाहीले दर्जनौ यात्रुको प्राण टुटदा पनि ।।

अझै पनि नेपालीको चेत खुल्न सकेको छैन ।
बारम्बार उही खाल्डोमा परी आफै उठदा पनि ।।

जोखिम कम गर्ने जुक्ति खोज्न अबेर गर्नु हुन्न ।
ट्राफिक नियम पालन गरौं सवारीहरु छुट्दा पनि ।।

२०७३-०४-३२/९:४५am

के अर्थ ?

बिजयोत्सब बिनाको फेताको के अर्थ ।।
कार्यकर्ताहरु बिनाको नेताको के अर्थ ।।

लगाउने निधार नै  बिटुलो छ भने यहाँ।
थालीमा मुछेको त्यो अक्षताको के अर्थ ।।

प्रत्यक्षदर्शीले नै झूठो गबाही दिएपछि ।
पापी यो दुनियामा सत्यताको के अर्थ ।।

सुधार गर्नु पर्नेले उल्टै बिगार गर्छ  भने ।
स्वार्थी यो समाजमा सभ्यताको के अर्थ ।।

२०७३-०४-३०/९:३० am

म्याग्मा त्यसै लाभा हुन्न धर्ति फोड्नु पर्छ ।
सफल हुन अबरोधका जंजीर तोड्नु पर्छ ।।

निरन्तर परिश्रमको फल  मात्र मीठो हुन्छ ।
फसल राम्रो लिन मलजल गरी गोड्नु पर्छ ।।

रिस , लोभ, मोह, कुलत सबै त्याग गरी ।
सच्चा मानब हुनलाई अहंकार छोड्नु पर्छ ।।

एक्लो बृहस्पति बनि कर्म गर्न गार्हो हुन्छ ।
असल साथीहरु छानी नाता जोड्नु पर्छ ।।

निरन्तर लागि पर्दा सफलता हात नपरेमा ।
उद्धेश्य पुनर्बिचार गरी यात्रा मोड्नु पर्छ ।।

२०७३-०४-३०/ बिहान ६:२० बजे

स्वदेशमैं केहि गर्छु भन्ने दिन गएछन अब ।
कर्मशील जनशक्ति परदेशी भएछन अब ।।

रित्तिएछ गाउँ बस्ती रित्तिदैछ शहर पनि ।
बृद्धबृद्धा केटाकेटी मात्रै यहाँ रहेछन् अब ।।

२०७३-०४-२७/६:४०am

बोले बोली पासो हुन्छ भने किन बोल्नु परयो ।
हार सुनिश्चित भए  जोखिम किन मोल्नु परयो ।।

तिम्रो मेरो प्रेमको घोल्य मात्रा फरक भएपछि ।
जिन्दगीको बिकरमा राखी किन घोल्नु परयो ।।

जे हुनु भो भैगो प्रिय बिर्सि देउ अतीतका कुरा ।
भो अब नबोल आफ्नै पोल किन खोल्नु परयो ।।

दिन दिनै चस्किरहन्छ घाइते मुटु अझै पनि  ।
त्यसै माथि पीडाको रापले किन पोल्नु परयो ।।

२०७३-०४-२६ / ८:०१ pm

आफू तल रही उस्लाई शिखर चुमाएं मैले ।
जिन्दगी मा थोरै  पाउन धेरै गुमाएं मैले ।।

कस्तुरीको जस्तै बिना आफै भित्र हुँदा हुँदै ।
ब्यर्थै किन बाहिर बाहिर नजर घुमाएँ मैले ।।

२०७३-०४-२६/६:३५ am

आफ्नै आँगनी बाट हेर्दा बिहानीमा ।
प्रकृतिले नयाँ रँग फेर्दा बिहानीमा ।।

खै किन बेग्लै मज्जा आएको छ आज ।
उमंगका दुई चार शब्द केर्दा बिहानीमा ।।

याद आयो ।


रानी बनमा गाई बाख्रा चराएको याद आयो ।
अलि पर गर्जिदै बाघ कराएको याद आयो ।।

उता बाघ कराऊँदा यता मलाई झम्टिएर ।
म भन्दा नि उनी बढ़ी डराएको याद आयो ।।

गोठालो जांदा ऐसेलु र काफल टिपि दिंदा ।
भित्र भित्रै उन्ले मन पराएको याद आयो ।।

अंगालोमा बेरिएर नछुट्टिने कसम खांदै ।
बादलभित्र हामी दुई हराएको याद आयो ।।

२०७३-०४-२३/०६:१८pm
साउनको भेल छल्दै भंगालोमा आइन् ऊनी ।
एक्लै भाको मौका पारी बंगालोमा आइन ऊनी ।।

ओठ टोक्दै मुस्कुराउंदै नजरहरु जुधाउंदै ।।
ठट्टा गर्दै जिस्किएर अंगालोमा आइन् ऊनी ।।

यौवनको उन्मादमा अनि के के गरिन कुन्नि ।
हरपल  यादहरूको संगालोमा आइन ऊनी ।।

सम्झनाको लागि एउटा रुमाल छोडी गइन ।
निचोरेर सुकाउंदा टगालोमा आइन ऊनी ।।

२०७३-०४-२२/८:१५

खडेरीमा तपतप चुहिने पहराहरु सुक्दै गए ।
बर्षातमा छङछङ गर्ने छहराहरु सुक्दै गए ।।

स्कुल जाँदा चौतारीमा पींङ खेल्ने गरथ्यौ ।
आज त्यही बरका पनि लहराहरु सुक्दै गए ।।

२०७३-०४-२१/६:३० am

बधाई छ कमरेड !
सफल कार्यकाल को शुभकामना ।

दस बर्ष जन युद्ध लड्दै बन्दूक भिरेपछि ।
बिचारलाई बलि चढ़ाई संसदभित्र छिरेपछि ।।

पालो आयो कमरेडको फेरि कुम हल्लाउने ।
तोक्नेले नै आज टाउकाको मूल्य तिरेपछि ।।

२०७३-०४-१९/ ७:१७ pm

यहाँ यस्तै छ !

जिम्मेबारी बीचमा छोडी तर्की हिड्नेहरु ।
कहिले यता कहिले उता फर्की हिड्नेहरु ।।

फूर्ति गर्छन् समन्वय समझदारी गर्छु भन्दै ।
पाइलै पिच्छे बिबाद गर्दै चर्की हिड्नेहरु ।।

बडो बिश्वास पात्र बन्न खोज्ने गर्छन् यहाँ ।
आलो घाउमा नुन र चुक छर्की हिड्नेहरु ।।

समीपमा आइकन कुरा गर्न खोज्छन आज ।
हिजो केहि बोल्न खोज्दा झर्की हिड्नेहरु ।।

२०७३-०४-१७/९:०१pm

म कसरी तिमीलाई बधाई दिउं कमरेड ?

संसार बदल्न
महासमरमा होमिएको यात्री
बिचार
अनि सिद्धान्तबाट
स्खलित हुँदै
आफै बदलिंदै
संसद भित्र छिरेपछि
मार्क्स बाद लेनिनबाद
अनि माओबादका सपनाहरु
प्रचण्ड घाममा
बिस्कुन सरी
सुकाउनु परेपछि
म कसरी तिमीलाई बधाई दिउं कमरेड ?

सर्बहारा बर्गको
मुक्तिका खातिर
तिमी आफैले उद्घोष गरेको
युद्धमा  लड्दा लडदै
जिउंदै हराएको
बेपत्ता श्रीमानको
एकमात्र नासो
रातो चुरा
फुटाउनु परे पछि
म कसरी तिमीलाई  बधाई दिउं  कमरेड ।

हिजो
तिमी र म
सँगै भएर
आजको तिम्रो सहयात्रीलाई
पेस गरेका माग पत्र लिएर
तिम्रा सामु म आएँ भने
सायद
तिमीले मलाई
आतंककारी भन्दै
टाउकाको मूल्य तोक्नेछौ
र त्यही बहानामा
गोली ठोक्ने छौ
ठीक
त्यहिबेला
जनबादको निम्ति
हामीले सँगै लुकाएको बन्दूक
उठाउनु परेपछि
म  कसरी तिमीलाई बधाई दिउं कमरेड !

२०७३-०४-१९/१०:१२pm

दस बर्ष जन युद्ध लड्दै बन्दूक भिरेपछि ।
बिचारलाई बलि चढ़ाई संसदभित्र छिरेपछि ।।

पालो आयो कमरेडको फेरि कुम हल्लाउने ।
तोक्नेले नै आज टाउकाको मूल्य तिरेपछि ।।

चमक छैन अनुहारमा फूर्तिफार्ति हराएछ ।
यस्तै हुन्छ जनताको नजरबाट गिरेपछि ।।

कस्तो जोगी आयो भनि सोध्नु किन परयो ।
आउनु भन्दा पहिले उस्को कान चिरेपछि ।।

२०७३-०४-१९/ ७:१७ pm

गाई भैंसी हराइसके  खीर खोज्दै छु ।
जंगे पिल्लर हराइसके बीर खोज्दै छु ।।

पहिले यता बग्ने गर्थे अहिले कता गए ।
नदी नाला हराइसके तीर खोज्दै छु ।।

पहिले खेति हुने फांटमा बजार भरिएछ ।
पुराना बस्ती हराइसके भीर खोज्दै छु ।।

हजारौं युवा दिन दिनै बिदेशिन थाले ।
युवक कति हराइसके शीर खोज्दै छु ।।

२०७३-०४-१५/०८:१६pm

मतलब पूरा गर्नलाई शिखर चढ़ाई दिन्छ मान्छे ।
स्वार्थ सिद्ध भएपछि भुइँमा लडाई दिन्छ मान्छे ।।

मानिस भन्दा बढ़ी स्वार्थी दुनियांमा को नै छ र ।
डडेलोले भन्दा बढ़ी यो मन डढाई दिन्छ मान्छे ।।

कहिले यता कुरा ल्याउंछ कहिले उता लान्छ  ।
बिनासित्ति आपसमा द्वन्द बढाई दिन्छ मान्छे ।।

खुशी हुँदा देउता बन्छ रिसाउंदा राक्षस उही ।
मन परेन भनेदेखि जिउंदै  सडाइ दिन्छ मान्छे ।।

२०७३-०४-१५/२:५२pm

काम गर्ने कालु हुन्छ मकै खाने भालु ।
दिनभरि भुंडी पल्टाई बस्छन ठूलाठालु ।।

मरि मरी काम गरयो कमाई खाने अर्कै ।
दुखियालाई एउटै पीर जहान केले पालूँ।।

थरथर काप्छन् सिरेठोमा लालाबालाहरु ।
च्यातिएका झुत्रे लुगा खै कसरी टालूँ ।।

संबिधानमा लेख्या छ रे खाद्य संप्रभुता ।
खान लाउन पाइन भनि उजुर कता हालूँ ।।

काम गर्ने भोकै मर्ने सामन्ती ब्यबस्था ।
लौन कोहि बताइदेउ न कसो गरी फालूं ।।

२०७२-०४-१५/९:१२ am

यस्तै छ यहाँको चलन !

उद्धार गर्ने भन्दा यहाँ रमिता हेर्ने धेरै हुन्छन् ।
मौका मिले सर्पले झै कांचुली फेर्ने धेरै हुन्छन् ।।

बिपत्तिमा ज्यूँदो राख्न प्रयास गर्ने भेटिदैन ।
मरे पछि श्रद्धान्जली शब्द केर्ने धेरै हुन्छन ।

कबिता 'अस्मिता"

हे मेरी प्रिय
अस्मिता
खोज्दै छु म
आज बिश्व मानचित्रमा
मेरो प्यारो मातृभूमि
बीर पूर्खाहरुको पौरख

मेटिएछन
अनि मेटाईएछन
कति सीमा रेखाहरु
भेट्नै कठिन भो यहाँ
खै कहाँ नेर छ मेरो धर्ति

खोज्दै जान्छु
न सुस्ता भेटिन्छ न कालापानी
हराउँदै छन लिपु लेकहरु
लक्षणपुर र टनकपुरहरु
अब कहिल्यै नभेटिने गरी

हो  तिमी र म
सँगै खेल्ने गरेको
आगँन आज हराएको छ
ओत लाग्ने त्यही झुपडी पनि
पराईको भै सक्ने छ भोलि

मडारिइ रहेछन
निराशाका काला बादलहरु
निस्पट कालो रातमा पनि
म एक्लै खोजी रहेछु तिमीलाई
कतै तिमी भेटिन्छयौ की भनि

हो म त्यहि
अध्यारोमा रुमलिदै
आफै हराएको छु
जहाँ मेरो धर्ति हराएको छ
मेरो अस्मिता हराएको छ
तिमीलाई खोज्दा खोज्दै
मेरो सर्बस्व हराएको छ

अकस्मात
आज म खुशी छु अस्मिता
मैले तिमीलाई यो धर्तिमा नभेटे पनि
किनकि मिर्मिरे सँगै तिमीलाई देखेको छु
क्षितिजपारीको त्यहि कालो
मडारीएको बादलभीत्र

सपना हो वा बिपना
म आफैलाई थाहा छैन
तर भेटेको छु मेरो सग्लो मातृभूमि
जहाँ छ मेरो प्यारो सुस्ता कालापानी
उहि लिपु लेक अनि टनकपुर

आऊ अस्मिता
सँगै रमाएर खेलौ आफ्नै आगनिमा
कुहिरो भित्रको काग झै हराउंदै
खुशिको उन्मादमा
मुक्त कण्ठले चिच्याउंदै र कराउंदै
किनकि धर्तिमा नभेटिए पनि
गगनमा सुन्दर नेपाल भेटिएको छ ।

२०७३-०४-०६/११:२३pm
कठै मेरो देश


त्यही देशको नागरिक हूँ
जहाँ बिदेशको डिभी पर्दा भोज भतेर चल्छ  ।
देशकै उच्च पदस्थ कर्मचारी
डिभी पिआरका  खातिर जागिर अनि देशै छोडछ ।
(राष्ट्रीयता )


त्यहि देशको नागरिक हूँ
जहाँ बिद्यालय तह देखि नै बिदेशी भाषा सिकाइन्छ ।
किंनकि बिध्यालय तह पार नहुंदै
साउदी कतार मलेशिया जापान कोरिया पुग्नुछ ।

( माध्यमिक तह ११/१२ को पाठ्यक्रममा कोरियन र जापानी भाषा थप्नुको उद्देश्य )


त्यहि देशको नागरिक हूँ
जहाँ दिनहुँ हजारौं युवा युबति निर्यात गरिन्छ ।
बैधानिक र अबैधानिक मार्गहरु हुँदै
अनि आयात गरिन्छ बाकसमा उनिहरुकै लाशहरु ।
(युवा युबतिको घाटा ब्यापार)

हो, म
त्यहि देशको नागरिक हूँ
जहाँ हरेक बसन्तमा रुखले पालुवा फेरेझै
सरकारहरु फेरिन्छन नेताहरु फेरिन्छन
तर जनताको जिबनस्तर कहिल्यै फेरिंदैन ।
(अस्थिर राजनीति )

२०७३-०४-०५/८:००pm
शिष्य सँगै  सद् मार्गमा धाउने गुरु बन्न सकौ ।
हरेक संकट मोचनमा सघाउने गुरु बन्न सकौ ।।

उदाहरणीय कर्म गरी शिष्यहरुको मन मनमा ।
युगौ युग सम्म पनि सजाउने गुरु बन्न सकौ ।।

मन भित्रको अज्ञानतालाई चिर्दै ज्ञान फैलाउने ।
मिर्मिरेको प्रकाश  सरी छाउने गुरु बन्न सकौ ।।

ज्ञान सीप अभिबृत्ति  शिष्यमा हस्तान्तरण गरी ।
गरी खान सक्ने सीप सिकाउने गुरु बन्न सकौ ।।

कुरिति र कुसंस्कारलाई जरै देखि निर्मूल पारी ।
जात धर्म भन्दा माथि उठाउने गुरु बन्न सकौ ।।

सदबिचार, सत्कर्म , सहयोग, सहकार्य गरी ।
छरिएका मनहरुलाई जुटाउने गुरु बन्न सकौ ।।

२०७३-०४-०४/९:४१am गुरुपूर्णिमा

दुबै हातमा मेहन्दी हरिया चुरा ।
श्रावण महिनामा नारीका कुरा ।।

सोमबारे ब्रत पतिकै भलाईमा ।
आकांक्षा मनका हुन सबै पूरा ।।

कर्म गरे फल अबश्य मिल्छ ।
शुभ कार्यहरु नहुन अधूरा ।।

सुखद क्षण होस् दीर्घायु हुनु ।
बाल बच्चाहरु नहुन टुहुरा ।।

२०७३-०४-०३/८:२१pm
अर्थ छैन फूर्ति गर्नु सफल नभएपछि ।
अर्थ छैन काम गर्न सबल नभएपछि ।।

जलस्रोतमा संसारकै दोश्रो धनी राष्ट्र ।
अर्थ छैन तिर्खा मेट्ने जल नभएपछि ।।

पटक पटक भोट हाली पठाएता पनि ।
अर्थ छैन बिकासमुखि दल नभएपछि ।

लोकतन्त्र गणतन्त्र जे सुकै भन तिमी ।
अर्थ छैन समस्याको हल नभएपछि ।।

२०७३-०४-०३/४:२५pm
यो नेपाली समाजको दलन अन्त्य गरौं ।
गरिबी र भोकमरीको जलन अन्त्य गरौं ।।

स्वदेशमै रोजगारीका द्वारहरु खोलौं अब ।
बाकसमा फर्कि आउने चलन अन्त्य गरौं ।।

२०७२-०३-०९/६:३७am
केहि मुक्तक
१.
गमलामा धान रोप्यौ  खेत भेटिएन ।
लाखौं नेपालीको भोको पेट मेटिएन ।।

के गर्नु हुन्छ अनि के हुदैन भन्ने अझै ।
माननीय मन्त्री ज्यूमा चेत भेटिएन ।।
२.
किसानलाई पेन्सन दिन्छु भनी गर्थे हल्ला ।
उल्टै आज टेन्सन बाँडे कस्ले दियो सल्लाह ।।

जानकार कोहि भए बताइ देउन बरु ।
गमलामा रोपेको धान कति मुरी फल्ला ।।
असार गरे मंसिर फल्छ भन्थे बूढ़ा पाकाहरु ।
नत्र जीवन कसरी चल्छ भन्थे बूढ़ा पाकाहरु ।।

पसिना बगाउ स्वदेशमै खनी खोस्री यही माटो ।
नत्र चुलो कसरी बल्छ भन्थे बूढ़ा पाकाहरु ।।

आफ्नो सबै श्रम सीप यही माटोमा लगाउ तिमी ।
स्वाभिमानको  दियो जल्छ भन्थे बूढ़ा पाकाहरु ।।

आफ्नै मातृभूमि बिर्सि अर्कैको भर पर्यौ भने ।
एकदिन पक्कै उस्ले छल्छ भन्थे बूढ़ापाकाहरु ।।

२०७३-०३-२३/८:२०am

हल्लै हल्लाको देशमा अर्को हल्ला चलेको छ ।
नचाहेरै सुन्नु पर्ने गरी  चर्को हल्ला चलेको छ ।।

भत्केको घरको अझ बिग्रेको चाला भएपछि ।
दुनियांबीच आज त्यहि घरको हल्ला चलेको छ ।।

जुटने अनि जुटाउने बुद्धि यहाँ हराए पछि ।
जात धर्म बंश अनि थरको हल्ला चलेको छ ।।

हल्ला मात्रै गर्दै हिड्ने सिन्को भाच्ने होइन ।
आज नेतृत्वमा उही नरको हल्ला चलेको छ ।।

२०७३-०३-२४/८:१५am

सरकार फेर्ने कसरतमा लागे प्रचण्ड ।
देउवा संग प्रधानमन्त्री मागे प्रचण्ड ।।

संसदीय ब्यस्थाको घोर बिरोध गर्थे ।
आज त्यही ब्यबस्थामा जागे प्रचण्ड ।।

द्वन्द्धकालिन मुद्धाहरु त्यसै थाति रहे ।
जे पर्ला त्यही टर्ला बढ आगे प्रचण्ड ।।

सिद्धान्त र ब्यबहारमा दरार पैदा गरी ।
पूँजी बादी क्याम्प तिर भागे प्रचण्ड ।।

२०७३-०३-२९

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव