गजल (जो जससंग सम्बन्धित छ )
बडा दशै हिलो हुने हो कि पानी नहटेपछि ।
अझै ऋण थपिने हो कि लगानी नहटेपछि ।।
सँगै पीङ खेलेको याद घरी घरी आई दिन्छ ।
बाल्य कालकी उनै दिलकी रानी नहटेपछि ।।
डर लाग्छ कतै अर्को घरबार पो हुने हो कि ।
उमेर ढल्कि जाँदा समेत जवानी नहटेपछि ।।
दुबै आँखाबाट यहाँ एउटै दृश्य देखिदो रैछ ।
यस्तै हुँदो रैछ बीचको त्यो नानी नहटेपछि ।।
२०७३-०६-१५/८:३०am
गजल
बालुवा झैँ कुरा चाल्ने धेरै भेटेको छु ।
खोलो तरी लौरो फाल्नेधेरै भेटेको छु ।।
संङलिएको पानीलाई धमिलो बनाएर ।
मौका छोपी जाल हाल्ने धेरै भेटेको छु ।।
अध्यारोमा टुकी सल्काइदिने भेटिदैन ।
उज्यालोमा बत्ती बाल्ने धेरै भेटेको छु ।।
दुनियाको भलो गर्छु भन्ने निहुँ पारी ।
आफ्नै मात्र भोटो टाल्ने धेरै भेटेको छु ।।
आफन्तकै भर पर्न शंका लाग्न थाल्यो ।
रुखमा चढ़ाई फेद ढाल्ने धेरै भेटेको छु ।।
२०७३-०६-१५/१०:२२am
गजल
यस पालिको दशैं पनि मान्न गाह्रो भो ।
आङ ढाक्ने नयाँ लुगा छान्न गाह्रो भो ।।
वल्लो पल्लो घर घोर्ले खसी ढलाउंदा ।
किन भोकै बस्नु परयो जान्न गाह्रो भो ।।
अभाब र गरिबीको दुष्चक्रमा फसेंको छु ।
दशैं लाई बिजयोत्सब ठान्न गाह्रो भो ।।
दिन रात मरी मरी परिश्रम गर्दा पनि ।
एक मुठी सास अझै धान्न गाह्रो भो ।।
परिश्रम गर्नेलाई उल्टै दुःख दिनेलाई ।
निशानामा पारी तारो हांन्न गाह्रो भो ।।
(आफ्नै पुरानो डायरीबाट)
एकजना बादशाह आफ्नो कुकुरको साथ डुंगामा यात्रा गरिरहेका थिए । नाउँमा अन्य यात्रुहरुको साथमा एकजना दार्शनिक पनि थिए । कुकुरको लागि डुंगाको यात्रा पहिलोपटक थियो । यसर्थ, कुकुर केही डराइरहेको थियो । कुकुर यताउता गर्दै दौडिरहेको थियो ताकि केही दुर्घटना हुनेवाला छ । उसको गतिविधिले कसैले पनि चयनले बस्न पाएका थिएनन् ।
डुंगाको नाविक कुकुरका कारण केही यात्रुले गर्नसक्ने अस्वभाविक गतिविधिका कारण डुंगा डुब्न सक्ने सम्भावनाबाट त्रसित थियो । कुकुरले यस्तै गतिविधि जारी राखेपछि बादशाह पनि कुकुरसँग रिसाइरहेका थिए ।
यत्तिकैमा डुंगामा सवार दार्शनिकले राजालाई बिन्ती गरे, ‘सरकार ! यदि हजुरको आदेश हुन्छ भने म यो कुकुरलाई तह लगाउन सक्थेँ कि ?’ बादशाहले तत्काल अनुमति दिए ।
दार्शनिकले दुई यात्रुको सहारा लिएर कुकुरलाई उचालेर नदामा फ्याँकिदिए । कुकुर एकछिन पानीमा पौडियो र हायलकायल हुँदै जीवन जोगाउन डुंगानेर आयो । दार्शनिकले कुकुरलाई तानेर डुंगामा राख्यो । लगत्तै कुकुर एउटा कुनामा गएर घरपालुवा बाख्राजस्तै शान्तसँग बस्यो ।
सबै यात्रुहरुसँग बादशाह पनि कुकुरको अचानक फेरिएको व्यवहार देखेर आश्चर्यचकित भए । बादशाहले दार्शनिकलाई सोधे, ‘यो पहिला त छटपटाइरहेको थियो, सबैलाई हैरान बनाएको थियो, अहिले अचानक कसरी बदलियो ?’
दार्शनिकले जवाफ दिए, ‘आफैंले दुःखको स्वाद नचाखेसम्म कसैले पनि अरुको दुःख बुझ्न सक्दैन । यो कुकुरलाई जब मैले पानीमा फ्याँकेँ, तब मात्र यसले पानीको शक्ति र डुंगाको उपयोगिता बुझ्यो ।’
एक पटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकन आफ्नो साथीको घोडागाडीबाट कतै गइरहेका थिए । बाटोमा एक मजदुरले उनलाई केही झुकेर प्रणाम गर्यो । त्यसको जवाफमा लिंकनले पनि उसैगरि झुकेर प्रणाम गरे ।
यो देखेर उनका साथीले उनलाई सोधे, 'तपाईले त्यो साधारण मजदुरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुपर्यो ?'
अब्राहम लिंकनले जवाफ दिए, 'महोयद म चाहन्न कि नम्रतामा कोही म भन्दा अगाडि जाओस् ।'
यो सुनेर उनको साथीको शिर लाजले निहुरियो ।
शुभप्रभात ।
सुकरात अत्यन्त कुरूप थिए । र पनि ऐना आफुसित सधैं राख्थे र बारम्बार ऐनामा आफ्नो अनुहार हेरिरहन्थे । यस कुरामा एकजना साथीले अचम्म मान्दै उनलाई यसरी ऐना हेर्नुको कारण सोधे र उनले यस्तो जवाफ दिए— ‘म सधैं यो सोचिरहन्छु कि मैले राम्रो कामहरू धेरै गरेर मेरो कुरूपताको प्रतिकार गर्नु पर्छ । ऐना बारम्बार हेरिरहदा मलाई यो कुरा सम्झिरहन मदत मिल्छ ।’
यस सन्दर्भमा सुकरातले अर्को कुरा पनि थपे— ‘जो सुन्दर छन् उनीहरूले पनि बारम्बार ऐना हेरिरहनु पर्छ र सम्झिरहनु पर्छ कि यो इश्वरले दिएको सौन्दर्यमा कतै मेरो कुकृत्यले कालो दाग–धब्बा नलागोस् ।’
तीन जना केटा केटी साँझ पार्कको आनन्द लिंदै थीए ।कतिबेला एक अर्काको हात समातेर पार्कमा घुम्थे । कतिबेला थरिथरि का खेल खेल्थे । कहिले बसेर गफ गर्थे । उनीहरुको आनन्दित अनुहार देखेर मलाई लाग्यो कि ती बालबालिकाका बाबुआमा समझदार रहेछन् । उनीहरूका बाबू प्रति मेरो मनमा सम्मान भाब जाग्यो ।
एक छिन पछि म उनीहरु नजिकै गएं । केटा केटी हरु गफ गर्दै थिए । एउटाले भन्दै थियो - आज कति मज्जा आयो हगी ? अर्काले भन्यो - हो त नि । आज बाबा आउनु भएन नि त ! अर्किले भनी - सधै बाबा नआएर हामी मात्र पार्कमा आउन पाए झन कति मज्जा आउथ्यो हगि ? ती केटा केटी हरुको कुरा सुनेर म जिल्ल परें । लाग्यो, कुरै नबुझि मैले पहिले नै गलत निष्कर्ष निकालेछु ।
(हामी आमा बाबु पुस्तक बाट)
एउटा प्रेरक कथा
प्लेन टेकअफ भएको दश मिनेट भएको थियो । मेरो छेउमा बस्ने व्यक्तिले झ्यालबाट बाहिर हेरिरहेका थिए । उनलाई हेर्दा निकै सम्पन्न र पढेलेखेका जस्तो देखिन्थे । उनको छेउमा अपांगता भएकाहरुले टेक्ने लठ्ठी थियो । एकछिन पछि उनलाई हेरेको त उनको आँखामा टिल्पिल आँसुले भरिएको जस्तो देखें । मलाई अचम्म लाग्यो । उनले झ्यालबाहिर नै हेरिरहेका थिए। मैले सोधे,
“के भयो तपाईलाई ?”
“ए...केही होइन ।”
“अनि किन आँसु आएको त तपाईका आँखामा ?”
एक हातले आफ्नो आँसु पुछ्दै उनले झ्यालबट आफ्नो ध्यान मतिर ल्याउँदै भने,
“एउटा पुरानो कथा याद आयो । मेरो आफ्नै बाल्यकालको ।”
मलाई आकाशमा उडिरहेको प्लेनमा बसेका मान्छेको आँखा रसाउनुको कारण जान्न मन लाग्यो । त्यसैले भनें,
“कस्तो कथा हो दाइ, मलाई पनि भन्नुहोस् ।”
उनले एक हातले झ्याल बाहिर तलतिर इसारा गर्दै भन्न थाले –
म जन्मे हुर्केको पुरानो घर उ त्यहाँ हो । त्यो गाउँमा भएको घर बेच्नुपर्यो पछि । म त्यो गाउँमा केटाकेटी उमेरको हुँदाखेरिको कुरा हो । म र मेरा साथीहरु हल्लिंदै, खेल्दै दिनदिनै गाउँको बाटो हिँड्ने गर्थौ ।
माथि हवाइजहाज उडेको देख्ने बित्तिकै मलाई के हो त्यस्तो चिज भन्ने लाग्थ्यो । प्लेनमा बस्ने मान्छेहरुले तल हेरिरहेका होलान् भनेर मैले आकाशतिर चिच्याउँदै प्लेन आकाशमा देखिदासम्म दौडिन्थे । मेरा अरु साथीहरु पनि त्यसै गर्थे । निकै रमाइलो लाग्थ्यो । माथि आकाशमा प्लेन उडेको आवाज सुन्ने बित्तिकै हामी बाटो होस् वा खेत सधैं माथितिर हेर्दै चिच्याउँदै दगुथ्र्यौ।
मसँग अति मिल्ने बेतमानले प्लेनलाई माथि हेर्दै भन्थ्यो, ओइ तल हेर हामीलाई । अनुपले चाहिँ आफ्नो बुबा मास्टर भएकाले अलि अलि इंगलिस शब्द जानेको थियो । त्यसैले उसले भन्थ्यो, “हेलो प्लेन, सि डाउन्” । अनि अर्को कविनले चाहिँ आकाशतिर हेर्दै सधै भन्थ्यो, एक रुपैयाँ फाल्देउ न । उसले हामीलाई भन्ने गथ्र्यो कि प्लेनमा चढ्ने मान्छेहरु धेरै धनी हुन्छन् रे । माथिबाट हेर्दा उनीहरुले हामीलाई देख्छन् ।
कहिलेकाहीँ पैसा पनि फालिदिन्छन् रे माथिबाट । मैले पत्याउँथे र उस्ले जस्तै मैले पनि आकाशतिर हेरेर कहिलेकाहीँ भन्थे कि, एक रुपैयाँ फालिदेउ । मैले बटोमा एकचोटी एक रुपैयाको ढ्याक भेटाएको थिएँ । कविनले मलाई भनेको थियो कि, त्यो पैसा प्नेनमा चढ्ने मान्छेहरुले आकाशवाट फालेका हुन् । उ हामीहरुभन्दा अलि जेठो थियो । त्यसैले हामी सवैले उसको कुरा पत्याउथ्यौं ।
एक दिन हामी त्यसैगरि चिच्याउँदै बाटोमा दगुरिरहेका थियौं । आकाशमा प्लेनलाई माथि हेर्दा बाटोमा हिँडेको एउटा कारले मलाई ठक्कर दियो । म नराम्रोसँग बाटोमा बजारिएँ । एउटा खुट्टाको घुँडामा असह्य पीडा भयो । त्यो कार चलाउने कालो वर्णको मान्छे थियो। बाहिर निस्केर उसले गाली गर्यो,
“मर्न मन छ कि क्या हो तँलाई । साइकल चलाउन हैसियत नभएकोले आकाशतिर प्लेनलाई हेर्दै हिँड्छ ।”
यति भनेर उसले आफ्नो गाडी लिएर गयो । मेरा साथीहरुले मेरो नजिक आएर खै के के सोधें । म अर्धहोसमा थिएँ । पछि उनीहरुले मेरो आमालाई भनेछन् र मलाई हस्पिटल लगियो । धेरै पैसा खर्च गरेपछि मेरो घुँडा त ठिक भयो तर अर्को खुट्टाको बराबरी भएन । त्यसैले अलि अलि खोच्याउनुपर्छ यो लठ्ठीको सहाराले । उनले आफ्नो सिटको छेउमा ठड्याएको अपांगता भएकाहरुले प्रयोग गर्ने लठ्ठी देखाउँदै भने ।
धेरै पछि आमाले भन्नुभयो थुप्रो पैसा खर्च भयो रे मेरो खुट्टाको उपचारमा । एउटा हस्पिटलमा डाक्टरको लापरबाहीले गर्दा मेरो खुट्टा झन् बिग्रियो रे अनि अर्को अस्पतालमा लगेर उपचार गराउन अलि ढिला भएकाले म अहिले पनि अलिअलि खोच्याएर हिँड्न वाध्य छु ।
मेरो परिवार गरीब थियो । अझ खुट्टाको उपचारको लागि अरु पैसा खर्च भएपछि त झन् अप्ठेरो पर्यो । त्यो घटनाभन्दा पहिले मलाई यस्तो कुराको मतलब हुँदैनथ्यो । पछि त्यो कारवालाले भनेको कुरा याद आइरहन थाल्यो ,
“साइकल चढ्ने हैसियत नहुनेले प्लेनलाई हेर्दै हिँड्छ ।”
साँच्चै हो त, मेरो परवारमा त्यतिवेला साइकल पनि थिएन । अनि मलाई लाग्यो कि कुनै दिन त्यो कार चढ्ने व्यक्ति भन्दा धनि भएर देखाउँछु । र त्यतिबेलै मैले साथीहरुलाई भनें की
“म पनि धनी बन्छु र कुनैदिन माथि उडेको प्लेनमा चढेर तल हेर्दै त्यो व्यक्तिलाई आकाशबाट भन्नेछु, यी हेर् काले म प्लेन चढेको छु र तँभन्दा धनी छु ।”
मैले यसो भन्दा मेरो केही साथीहरुले पत्याउँदैनथिए र भन्थे, “हेर् मोहन त्यस्तो धनि हुन सकिदैन बुझिस् हामी त ।”
मैले पल्लो गाउँको एकजनाको घरमा केही हिन्दी सिनेमा हेरेको थिएँ त्यतिबेला । फिलिममा हिरोले त्यस्तै गरीब भएर गुण्डाले हेप्दा पछि धनी भएर उसलाई बदला लिएको देखेको थिएँ । त्यसैले मैले पनि भन्थे,
“सकिन्छ, त्यो कालेसँग मैले बदला लिन्छु, बझिस् ।”
केही साथीहरु पत्याउँथे अनि भन्थे, “ तँ धनि भएपछि हामीलाई भेट्न आइज है ।” मैले भन्थे, “ भैहाल्छ नि । प्लेनबट तिमीहरुलाई एक रुपैया मात्र होइन दश रुपैया फालिदिन्छु तिमीहरुले टिप्नु है ।”
“हुन्छ ।” उनीहरुले खुसी भएर भन्थे ।
अघि मेरो आँखामा आँसु यही कुरा सम्झेर आएको थियो । तल हेर्दा मलाई लाग्यो कि मेरा तिनै साथीहरुले तलबाट मलाई माथि हेर्दैछन् र भनिरहेकाछन्, “ मोहन, एक रुपैयाँ फालिदेउ ।”
उनले फेरि थपे– मैले सरकारी स्कुलमा पढेको हुँ किनभने बोर्डिङ्गमा पढ्नलाई पैसा थिएन । कुनैदिन म धनी हुनेछु भनेर खाएको कसम एकदिन आमालाई सुनाएँ । अनि सोधें,
“आमा मलाई त्यो कालेसँग बदला लिनु छ । धनी कसरी भइन्छ ?”
आमाले भन्नुभयो,
“राम्ररी पढ्नु बाबु, नाम र दाम दुवै हुन्छ ।”
अनि मैले भन्थे,
“हुन्छ आमा । मैले मेहनत गरेर पढ्छु अनि तपाईहरुलाई ठूलो घर बनाएर त्यहाँ राख्छु ।”
आमा खुसि हुन्थिइन् र मलाई सुम्सुम्याउदै भन्थिन्, “मेरो ज्ञानि छोरो ।”
म आमाको काखमा लुट्पुटिन्थे ।
पछि म राम्ररी पढ्न थाले । क्लासमा कहिले फस्ट अनि कहिले सेकेण्ड । सरहरुको नजरमा पनि म राम्रो हुँदै गएँ । सरहरुलाई पनि कहिलेकाही सोध्थे , “सर धनि कसरी भइन्छ ”
उनीहरु भन्थे, “ अहिले राम्ररी पढ्दै जा, धनि आफै भइन्छ ।” मलाई आमाले पनि पढेरै धनि भइन्छ भन्नुभयो र सरहरुले पनि । त्यसपछि मैले अरु केही नसोचि राम्रो गर्दै गएँ । स्कूलवाट फस्ट भएर निस्केपछि कलेजमा पैसा नतिरि पढ्न पाएँ । त्यहाँ पनि टप गरें किनभने मैले दुइटा कुरा कहिल्यै विर्सिन । एक, त्यो कालेले मलाई गाली गर्दै भनेको कुरा कि साइकल चढ्ने हैसियत नभएको । अर्को, आमाले भन्नुभएको, राम्ररी पढेपछि नाम र दाम दुवै हुन्छ ।
कलेजवाट पास भएर मैले हवाइजहाज वनाउने एरोनोटिकल इञ्जिनियर पढ्ने निधो गरें । सौभाग्यवस पैसा नतिरि अमेरिकामा पढ्ने अवसर पाएँ । किनभने मेरो पढाइको रेकर्ड निकै राम्रो थियो । त्यसपछि अमेरिका गएँ र आफ्नो पढाई सिध्याएँ । पढ्ने क्रममा मलाई त्यो कलेजले केही पैसा पनि दिन्थ्यो । म त्यो पैसा घर पठाउथें । अहिले म अमेरिकाको एक ठुलो कम्पनिमा सिनियर इञ्जिनियर छु । त्यहाँ मेरो कमाइ पनि धेरै राम्रो छ ।
काठमाडौमा एक ठूलो घर वनाएको छु । मैले सानोमा आमालाई भनेको थिए, ठूलो घर वनाएर तपाईहरुलाई राख्छु । आज त्यो पुरा भएको छ । एउटा सुविधायुक्त कार पनि छ, वुवाले चलाउनुहुन्छ । त्यो कार मलाई सानोमा ठक्कर दिने त्यो कालेको कारभन्दा धेरै महंगो छ । आज त्यो मान्छेलाई भेट्न पाएँ भने मैले भन्नेथिए,
“हेर साइकल किन्ने हैसियत नभएको मान्छे आज कहाँ पुगेको छ ।”
वास्तवमै उनको जीवनको प्रेरक कथाले मलाई पनि छोयो र झण्डै आखाँ रसाए मेरा पनि ।
साभार :
(बिनोद भण्डारी को कथा)
कथालेखनको मेरो पहिलो प्रयास
लघुकथा १
"पाँच साथीहरु "
-- भुमिराज शर्मा
फरक स्वभाब भएका दुई जना दाजु भाइ दुई छिमेकी बिद्यालयका प्रधानाध्यापक थिए । कान्छो भाइ प्रअ भएको बिद्यालयमा पढ़ाई त्यति राम्रो थिएन । शिक्षकहरु आपसमा झगडा गरिरहन्थे । बिध्यार्थिहरु पनि अनुशासन हीन थिए । उपद्रो मच्चाइ रहन्थे । बिद्यालयको नतिजा ओरालो लागिरहेको थियो । बिद्यार्थी संख्या दिन प्रतिदिन घट्दै गैरहेको थियो ।
अर्को तर्फ जेठो भाइ प्रअ भएको बिद्यालय धेरै राम्रो थियो । त्यहाँको पढ़ाई, प्रशासन, अनुशासन, ब्यबस्थापनको सबैले प्रशंशा गर्थे । बिद्यार्थी संख्या दिन प्रतिदिन बढ़िरहेको थियो । शिक्षक बिद्यार्थी निकै अनुशासित र परिश्रमी थिए ।
यो देखेर भाइलाई निकै ईर्ष्या र डाह लागेको थियो । आफ्नो स्कूल बिग्रदै गएकोले ऊ निकै चिन्तित पनि थियो । उसले एक दिन दाजुलाई भेटेर उसको स्कूल राम्रो हुनुको कारण सोध्यो ।
दाजुले जवाफ दियो - " यो सबै मैले गर्दा होइन मेरा पाँच जना साथीहरुको कारणले सम्भब भएको हो । यति कुरा सुने पछि उसको मनमा ती पाँचै जना साथीहरुलाई थप सेवा सुबिधा दिएर आफ्नो स्कूलमा सरुवा गर्ने बिचार आयो । आफ्नो स्कुलका झगड़ालु शिक्षक दाजुको स्कुलमा पन्छाउने बिचार गरयो । दाजुसंग उसले सोहि कुरा प्रस्ताब गरयो ।
भाईको प्रस्ताब सुनेर दाजुले मुस्कुराउंदै भन्यो - "भाई तिमीले यति ठूलो झंझट गरिरहनु पर्दैन । मेरोमा भएका साथीहरु राम्रो सँग चिन । तिमीले आफैमा भेट्न सक्छौ । "
आश्चर्य चकित हुँदै भाईले सोध्यो - कसरी ?
दाजुले भन्यो - " मेरो सफलताका पाँच साथीहरु मध्ये पहिलो मित्र सत्य हो , जसले मलाई कहिल्यै असत्य बोल्न दिदैन ।
दोश्रो मित्र हो प्रेम, जसले मलाई कसै प्रति घृणा गर्न दिदैन । सबैलाई माया गर्न सिकाउछ । अरुको बिचारको सम्मान र कदर गर्न सघाउछ ।
तेस्रो मित्र हो इमान्दारी, जसले मलाई लोभ लालचबाट टाढा बस्न सिकाउछ । बेइमानहरुबाट बच्न सहयोग गर्दछ ।
मेरो चौथो मित्र हो त्याग अर्थात समर्पण , जसले म भित्र कहिल्यै ईर्ष्या पैदा हुन दिदैन । डाह र ईर्ष्याबाट
जोगिन सिकाउछ । अरुको खुशीमा आफ्नो खुशी खोज्न प्रेरित गर्दछ ।
मेरो अन्तिम एबं पाँचौ मित्र हो कर्तब्य परायणता, जसले मलाई अरु सबै कुरा छोडेर सदैब आफ्नो कर्तब्य पथमा निरन्तर लम्किन सहयोग गर्छ । "
दाजुको कुरा सुने पछि भाई एकै छिन टोलाइ रह्यो । उसले आफ्ना सबै शिक्षक कर्मचारी र बिधार्थी हरुलाई सम्झ्यो । आफूले उनीहरुसँग गरेका ब्यबहारहरु उसका मष्तिस्कमा घुम्न थाले ।
अनि दाजुले सुझाएका पाँचै जना मित्रहरु आफैभित्र खोजी गर्ने प्रण गर्दै आफ्नो बाटो लाग्यो ।
२०७३-०६-१९ बुधबार
क्रमशः
तपाईको सुझाब र सल्लाहको अपेक्षा गर्दछु ।
लघुकथा २
"जड्याहासँग जम्काभेट "
केहि दिन पहिले एउटा गाउँलाई मदिरा मुक्त गाउँ घोषणा गरिएको थियो । यो कार्यबाट केहि जड्याहाहरु रूस्ट भएका थिए । दशैंको निहु पारेर पारी गाउँको भट्टीमा टन्न रक्सी पिएर दुई जना जड्याहा सडकमा हिडिरहेका थिए । मदिरा बिरुद्धको अभियानका एउटा अभियन्ता शिक्षक आफ्ना साथीहरुका साथ सोहि बाटो जादै थिए । एक्कासि तिनीहरुको जम्का भेट भयो ।
पहिलो जड्याहाले प्रश्न गरयो -- ए मास्टर , भन त स्याउ खान हुन्छ कि हुदैन ?
शिक्षकले जवाफ दिए -- हुन्छ । किन नहुनु ।
दोस्रो जड्याहाले अर्को प्रश्न थप्यो -- तिमीले अंगूर खान्छौ कि खादैनौ ?
प्रत्युत्तरमा शिक्षकले भने -- अंगूर त झन मीठो लाग्छ ।
फेरि मुख बटार्दै पहिलो जड़याहाले सोध्यो - कोदोको ढ़िडो खान हुनि कि नहुनि ?
अकस्मात जड्याहाका एकोहोरो प्रश्नहरुको जवाफ दिई रहेका शिक्षकले भने - "तिमीहरुले भनेका सबै चीज खान हुन्छ । ती कुराहरु स्वास्थ्यका लागि धेरै लाभदायी छन । बरु आज जे खाएर तिमीहरु मलाई यी प्रश्न गरि रहेका छौ त्यो चाहि खान हुँदैन ।"
शिक्षकको कुरा सुन्ने बित्तिकै पहिलो जड्याहाले जन्गीदै भन्यो -- ए स्याउ खान हुने, अंगूर खान हुने, ढ़िडो खान हुने तर त्यसै बाट बनेको रक्सी खान नहुने ?
त्यस पछि शिक्षकले शान्त हुदै प्रति प्रश्न गरे -- " ल भन त मैले एक मुठी माटो र एक गिलास पानीले तिमीहरुलाई हाने भने कत्तिको दुख्छ ? "
एउटाले भन्यो - दुख्दैन ।
शिक्षकले अर्को प्रश्न गरे -त्यहि माटो त्यहि पानीमा डल्लो पारेर हाने भने कत्तिको दुख्छ ?
दोश्रोले भन्यो -- अलिअलि दुख्छ ।
शिक्षकले मुस्कुराउदै तेश्रो प्रश्न गरे -- त्यहि माटोको एउटा इट्टा बनाएर तिम्रो थाप्लोमा हाने के हुन्छ ?
दुबै जना जड्याहाले एक स्वरमा जवाफ दिए -- "टाउकै फुट्छ । मरि हालिन्छ नि ।"
त्यसपछि शिक्षकले सम्झाउदै भने -- "हेर भाई हो,
जसरी त्यो ईटले हान्दा तिमीहरुलाई चोट लाग्छ, त्यसै गरी रक्सी सेबन गर्दा तिमीहरु, तिम्रो परिवार र समाज लाई नै चोट पुग्छ । यसले सबैलाई असर गर्छ । झगड़ा गराउछ । स्वास्थ खराब गर्छ । जीवन नै बर्बाद गरी दिन्छ । जुन असर स्याउ, अंगूर र ढ़िडो खांदा हुदैन ।"
शिक्षकको कुरा सुने पछि दुबै जड्याहाहरु नतमस्तक भए । उनीहरूले अब आइन्दा कहिल्यै पनि जाँड रक्सी नपिउने कसम खाए । शिक्षक सँगै मदिरा बिरुद्धको अभियानमा अगाडि बढ़े ।
२०७३-०६-२०
गजल
कहिल्यै पूरा नहुने रैछ रहर जिन्दगीको ।
हर बखत फेरिदो रैछ प्रहर जिन्दगीको ।।
उकाली र ओरालीमा तल माथी गर्दा गर्दै ।
कति काट्नु पर्छ अझै कहर जिन्दगीको ।।
हाँसोखुशी एकादेशको कथा जस्तो भयो ।
भेट्न अझै कठिन भयो शहर जिन्दगीको ।।
जस्को बिश्वास गर्छु उस्ले धोका दिएपछि ।
कसैको भर नपर्ने भयो ठहर जिन्दगीको ।।
आफ्नो जीवन आफैलाई ब्यर्थ लागेको छ ।
आखा चिम्ली पीई दिन्छु जहर जिन्दगीको ।।
२०७३-०६-२०/बिहान९:५१
लघु कथा
"जिब्रो र दाँतको झगड़ा "
---भुमिराज शर्मा
एक दिन अम्बा खांदै गर्दा झुक्कीएर दाँतले जिब्रो टोक्न पुग्यो । टोकाईले गर्दा जिब्रोबाट अलिकति रगत पनि आयो । धेरै बर्ष अघि देखि मिलेर बसेका जिब्रो र दाँतहरु बीच यहि कारणले गर्दा बिबाद शुरू भयो ।
जिब्रोले रुदै दाँतलाई भन्यो --" तिमीले मलाई धोका दियौ । तिमीले जानी जानी मलाई टोक्यौ । मेरो रगत आई रहदा पनि तिमीहरु हासिरहेका छौ । पख ! तिमीहरुलाई दुख पर्दा मैले पनि रमिता हेर्नेछु ।"
जिब्रोको यति कुरा सुनेपछि दाँतलाई रिस उठ्यो ।
दाँत लाई आफू जिब्रो भन्दा बलियो भएको घमण्ड पनि थियो ।
रिसाउदै दाँतले भन्यो -- "तैले के गर्न सक्छस । तं भन्दा म बलियो छु । कडा छु । मोती जस्तै चम्किलो छु । तं एक्लै छस् । हामी धेरै छौं । हामीलाई कसैले केहि गर्न सक्दैन । तं हामीबाट घेरिएको छस् । तलाई हामीले जे पनि गर्न सक्छौं । "
दाँतको यो धम्की सुनेपछि जिब्रोलाई साह्रै रिस उठ्यो । राम्रा, नम्र, शिष्ट र असल कुराहरु बोल्ने जिब्रो एका एक अभद्र र अशिष्ट शब्दहरु बोल्न थाल्यो ।
सबै सँग झगडा गर्न थाल्यो ।
एक दिन मूर्ख मानिस सँग झगडा गर्दै गर्दा त्यो मानिसले प्रहार गरेको मुक्का लागी जिब्रो लाई धम्की दिने दाँत सहित अगाड़ीका दुई ओटा दाँत भुईमा खसे ।
भुईमा झरेको दाँतलाई जिब्रोले भन्यो --" देख्यौ ! को बलियो रहेछ ? "
भुईमा झरेको दाँतको घमण्ड चकनाचूर भयो ।
कुनामा बसेर यी सबै गतिबिधि नियालेर हेरिरहेको
बुद्धि बंगाराले जिब्रो र दाँत बीच बढिरहेको तनाब र क्षति कम गर्न समझदारीको लागि एउटा संयुक्त बैठक बोलायो ।
दुबै थरी बैठक बसे । सो बैठकमा एक छिन भनाभन चल्यो । दुबै थरीले आफ्नो घमण्ड र प्रतिशोधको कारण क्षति बेहोर्नु परेको महशुस गरे ।
अब आइन्दा दाँतहरुले जिब्रोलाई एक्लो देखेर नहेप्ने, रूप र बलियोपनको घमण्ड नगर्ने प्रण गरे । जिब्रोले पनि जथाभाबी नबोल्ने र झुक्किएर हुने गल्तीमा दाँत माथि कुनै शंका नगर्ने प्रतिबद्धता गरयो ।
त्यस दिन देखि दाँत र जिब्रो बीच कुनै झगड़ा भएन ।
दुबै थरी सँगै मिलेर बसे । उनीहरुको बीच प्रेम बढ्दै गयो ।
उमेर ढल्किदै जाँदा दाँतहरु झर्दै गए । जिब्रो लाई नरमाइलो लाग्न थाल्यो । धेरै बर्ष सँगै बसेका साथीहरु छुट्टीएर जाँदा पीडाको अनुभूति गर्न थाल्यो । वरिपरि रहेका दाँतहरु झरेपछि जिब्रोलाई
जाडो को महशुस भयो । उसले स्वाद पनि काम थाहा पाउन थाल्यो । बोली बुझिन छोड्यो । उसले अन्त्यमा बाँकी रहेको र झर्ने अबस्थामा पुगेको बुद्धि बंगारो सँग आफूलाई एक्लै छोडेर नजान अनुनय बिनय गरयो ।
त्यसै बेला बुद्धि बंगारोले गम्भिर मुद्रामा भन्यो --" के गर्ने जिब्रो दाई ।
जून बस्तु कडा छ त्यो छिटो नास हुँदो रहेछ । तिमी भन्दा म बीस बर्ष कान्छो हूँ तर म पहिला जाँदै छु । अब म गए पछि तिम्रो रक्षा गर्ने कोहि बाँकी छैन । आफ्नो सुरक्षा आफै गर्नु । नम्र र मीठो बोली गर्नु । हामी झरे पनि तिमी धेरै बर्ष बाचिरहनु । "
यति भने पछि बुद्धि बंगारो झरयो । एक छिन त जिब्रोले आफू सँगै बंगारोलाई यता उता खेलायो । स्पर्श गरयो । तर ऊ मरिसकेको थियो । केहि समय पछि भाब बिह्वल हुँदै पातीको गाँजमा लगेर अंत्येष्टी गरेर फर्क्यो । त्यो दिन उसले खानामा रत्तिभर स्वाद पाएन । त्यसै टोलाइ रह्यो ।
२०७३-०६-२१/ बिहान ८:३६
गजल(दशै बिशेष)
सपनीमा मात्रै पैसा गन्नु परेको छ ।
साहुजी कै खोरिया खन्नु परेको छ ।।
अक्षता बनाउने चामल कतै भेटिएन ।
आटोपिठो नाङलोमा निफन्नु परेको छ ।।
टाउकोमा पानी हाली काल पर्खिएको ।
बलिको त्यो बोको झैँ बन्नु परेको छ ।।
मुटु भित्र सबै दुख पीडाहरू लुकाएर ।
मंगलमय शुभकामना भन्नु परेको छ ।।
२०७३-०३-२४/ बिहान ७:३३
गीत
जमाना अन्सारको,
नक्कल गर्न थालियो संसारको ।
डिग्री पढ़ियो,
दुई बीस काटेसी कपाल ठडियो ।।
(क्यार्नी त नि । अरुको फोटो राखे रिसाम्चन। आफ्नै राखियो ।)
मुक्तक
शिशिरको चिसोमा पनि
तिम्रो मुस्कान बलिरहोस ।
औसीको अध्यारोमा पनि
मायाको दियो जलिरहोस ।।
अजम्बरी को नै छ र
आखिर एक दिन जानु नै छ ।
मृत्यु शैयामा म ढले पनि
तिम्रो धड्कन चलिरहोस ।।
गजल
तल्लाघरे काइलो बिदेश जेलमा परयो रे ।
पल्लाघरे साइलो पनि अकालमै मरयो रे ।।
वल्लाघरे कान्छी अस्ति कुबेत छिरी भन्थे ।
हिजो उस्को यौबन साहुले आँखा तरयो रे ।।
माथ्लाघरे ठुली कान्छी जापान गएकी हो ।
नफक्रदै त्यो सुन्दर फूल भुइमा झरयो रे ।।
छेउघरे सानो कान्छो अमेरिका छिर्छु भन्थ्यो ।
रित्तै फर्क्यो दलालले उस्लाई भ्रम छरयो रे ।।
आज भोलि रत्तिभर कुरा बुझ्नै सक्या छैन ।
खै कसरी नेताले देशको बिकास गरयो रे ।।
२०७३-०६-२७/बिहान ५:५०
फेसबुक तिरै भेटेको
केटाहरुको लुटेरा–ग्याङ बैंक लुट्न भनी
गए । बैंकमा पुगेपछि ठूलो स्वरले कराउँदै
नाईकेले त्यहाँ भएका मानिस र बैंकका
कर्मचारीहरुलाई भन्यो;
नाईके : “यो पैसा देशको हो, तर
ज्यान तिमिहरुको आफ्नो ।
त्यसकारण चुपचाप सबैजना यौटा
कुनामा जम्मा भएर बसो!”
(सबैले त्यसै गरे)– – – – – – – – –
यस्लाई भनिन्छ Commanding!
काउण्टरमा भएको सबै पैसा जम्मा
पारेपछि लुटेरा मध्येको एकजना (जो
MBA होल्डर रहेछ) ले भन्यो, “पैसा
कति छ गन्ने हो की ?”
नाईके : “बेकुफ, भरे टि.भी. मा न्युजमा
हेरौंला ।”
– – – – – – – – – यस्लाई भनिन्छ
Experience!
लुटेराहरु गईसकेपछि बैंकको स्टाफले
भन्यो, “सर, पुलिसलाई खबर गरुँ ?”
मेनेजर : “पख, पहिला भित्र सेलबाट अरु
१० लाख झिक्नु र हामिले गरेको ५०
लाखको घोटालालाई पनि त्यसैमा
जोडिदिनु”
– – – – – – – – – यस्लाई भनिन्छ
Opportunity!
साँझ टि.भी.मा समाचार आयो,
“...आज न्युरोड स्थीत बैंकमा ८०
लाखको डकैति भएको छ... ”
यता लुटेराहरुले दशौंपटक गन्दापनी
जम्मा २० लाख मात्रै निस्केछ ।
नाईकेले कुरो बुझ्यो... साला हामीेले
यति रिस्क मोलेर जम्मा २० लाख हात
पार्यौं, त्यो मेनेजरले बसी–बसी ६०
लाख कुम्ल्याएछ !
– – – – – – – – – यस्लाई भनिन्छ
Management ..
आज माया पिरिमको गजल
कुरेर बसें तिमीलाई कलेजको गेटमा आईंनौ ।
तिम्ले आफै तोकेको उहि पुरानो डेटमा आईनौ ।।
रातैभरी नानाथरि कुरा गर्थ्यौ च्याटमा आउदा ।
अनायासै हराइछौ फेसबुक इन्टरनेटमा आइनौ ।।
याद आउँछ घरि घरि नछुट्टिने कसम खाको ।
छोड्नै परे पनि भन किन अन्तिम भेटमा आइनौ ।
कुर्ता सुरुवाल हराएछ, गुन्यू चोली लगाइछौ ।
धेरै पछि आयौ तिमी खै पुरानो सेटमा आइनौ ।।
सिउंदोमा सिन्दुर सजिएछ, जीऊ डाल फेरिएछ ।
आउन त आयौ तिमी उहि पुरानो पेटमा आइनौ ।।
२०७३-०६-२८/ बिहान ५:००
लघुकथा
हजारौं मानिस हरुको बीचमा रहेको एक जना साधारण ब्यक्ति समुद्रको किनारमा उभिइ रहेको थियो । त्यहाँ समुद्रको छालले माछाहरु किनारमा फ्याक्थ्यो । ती माछाहरु केहिबेर छटपटाउंथे र मर्थे । त्यो देखेर उसलाई दया लाग्यो । अनि उसले छालले ल्याएका माछाहरु जिबित छदै समातेर पानी भए तिरै फ्याक्न थाल्यो ।
यो देखेर एक जना लेखकलाई अचम्म लाग्यो । लेखकले प्रश्न गरे । "यति धेरै हजारौं माछा हरु मरिरहेका छन । तिमी एक जनाले एक दुई माछा बचाएर के फरक पर्छ ? भो छाडि देऊ । किन यस्तो मुर्ख्याइ गर्छौ ?"
प्रत्युत्तरमा मुस्कुराउदै त्यो ब्यक्तिले भन्यो --"
यी हजारौं ब्यक्ति हरुको बीचमा तिमी एक जना लेखक छौ । तिमीले एक दुई किताब लेख्छौ । यसरी तिमीले लेख्ने एक दुई किताबले समाजमा के फरक पार्छ ? "
यो कुरा सुने पछि आफूलाई बडो बुद्धिजिबी ठान्ने सो लेखक नतमस्तक भयो । अनि त्यहि ब्यक्ति सगै किनारमा छटपटाएका माछाहरु समातेर पानी भएतिर फाल्न थाल्यो । ती दुई जनाको काम देखेर अरु मानिस पनि थपिए । हजारौ मानिस हरूले फाल्न
थाले पछि किनारका सबै माछाहरु बाँच्न सफल भए ।
शिक्षा
जब एउटा ब्यक्तिको असल कार्यले अरु ब्यक्तिलाई सकारात्मक प्रभाब पार्न थाल्छ । अनि त्यसले बृहत रूप लिन्छ र जस्तो सुकै असंभब ठानिएको काम पनि सम्भब हुन्छ ।
शुभ प्रभात । तपाईका हरेक कार्य हरु सफल बनुन ।
शुभकामना ।
सुटकेस(लघु कथा)
एक जना बृद्ध मानिस मर्ने बेला भएछ । ऊ अर्धचेत अबस्थामा पुगेछ । केहि क्षण पछि जब ऊ अलि अलि होसमा आएछ उसले भगबान आफ्नो नजिक एउटा सूट केस लिएर आएको देख्यो ।
भगवानले भने -- "मनुष्य हिड अब तिम्रो जाने बेला भयो ।"
आश्चर्यचकित हुदै मानिसले जबाव दियो -- यति छिट्टै ? मैले त धेरै काम गर्न बाँकी छ । माफ गर्नु होला अझै म जाने समय भइसकेको छैन । बरु भन्नुहोस तपाईको हातमा रहेको सूटकेसमा के छ ?
भगवानले भने -- तिम्रा सामान।
मानिसले भन्यो --"मेरा सामान? यसको मतलब मेरा वस्तु, मेरा कपडा, मेरो धन ?
भगवानले प्रत्युत्तरमा भने -- ती वस्तु तिम्रा होइनन । ति त पृथ्वी सँग सम्बन्धित हुन् ।
मानिसले सोध्यो - मेरा यादहरु ?
भगवानले जवाफ दिए --- यादहरू तिम्रा कहिल्यै थिएनन् । ती त समयका उपज थिए ।
"त्यसो भए त्यहाँ भित्र मेरो बुद्धिमत्ता छ ?" मानिसले सोध्यो ।
भगवानले फेरि भने -- त्यो त तिम्रो झन कहिल्यै भएन । बुद्धिमता त परिस्थिति जन्य थियो ।
मानिसले अर्को अनुमान गरयो -- त्यसो भए मेरा परिवार र मित्र हुन ?
भगवानले जबाव दिए -- क्षमा गर ती कुरा कदापि तिम्रा भएनन् र थिएनन पनि । ती त केबल जीबन यात्रामा भेटिएका सहयात्री हुन ।
मानिसले सोध्यो --"त्यसो भए निश्चित रुपमा यहां मेरो शरीर छ ?"
भगवान ले मुस्कुराउदै भने -- शरीर त झन तिम्रो हुनै सक्दैन । यो त खरानी बन्छ ।
मानिसले भन्यो --" यसभीत्र मेरो आत्मा छ ।"
"अंहं आत्मा त तिम्रो होइन मेरो हो -- भगवानले भने ।
त्यसपछि भयभीत हुदै मानिसले भगवानको हातबाट सूटकेस खोसेर खोल्यो । त्यो सूट केस खाली थियो ।
खाली सुटकेस देख्ने बित्तिकै मानिसका आँखामा आंसू आए । उसले भन्यो -- म सँग कहिल्यै मेरो भन्ने केहि थिएन ?
भगवानले जबाफ दिए --" हो । यही कुरा सत्य हो । प्रत्येक क्षण जो तिमीले जियौ त्यो नै तिम्रो थियो । मानिसको जिन्दगी क्षणिक हो । त्यस कारण जून समय तिम्रो साथ छ त्यसको भरपूर प्रयोग गर । आज तिम्रो साथ जे छ त्यसैमा रमाऊ । खुशी बन ।
भौतिक बस्तु अथवा अन्य कुराको लागि तिमी यहाँ जति मिहिनेत गरयौ , लडाइ गरयौ , त्यो सब कुरा तिमीले यही छोडेर खाली हॉत जाँदै छौ ।"
मानिसले गहभरी आँशु झार्दै भन्यो -- मैले अन्तिम क्षण मा आएर बल्ल कुरा बूझें । अब म तपाई सँग जान तैयार छु । "
यति भनेर मानिस भगवानको शरणमा गयो ।
२०७३-०७-०४/बिहान ६:५२
मुक्तक
आगमनमा स्वागतको तामझामको अर्थ बेग्लै ।
स्वागत पछि गरिने फरक कामको अर्थ बेग्लै ।।
शक्तिकै भक्ति गर्न तछाड मछाड गर्दछ मान्छे ।
बिदाइ भई जाने बेला राम रामको अर्थ बेग्लै ।।
२०७३-०७-०५/९:३०pm
गजल
बाहिर हाँसो भित्र धेरै पीरहरु छन यहाँ ।
घर भित्रै ठूल्ठूला जंजीरहरु छन् यहाँ ।।
बिहानीमा डोको बोकी घाँस काटन जाँदा ।
चिप्लिएमा ज्यानै लिने भीरहरु छन यहां ।।
दिनभर मेलापात साँझ घर फर्कि आउँदा ।
उल्टै मन मुटु घोच्ने तीरहरु छन यहाँ ।।
दिनभर सुन्तलीको भट्टीमा दिन बिताएर ।
साँझ घर श्रीमती कुटने बीरहरु छन यहाँ ।।
जाँड रक्सीको कुलतले अकालमै लगेपछि।
बैशमैं सिउँदो पुछिएका शीरहरु छन यहाँ ।।
२०७३-०६-२७ मा रचिएको
मुक्तक
सुटुक्क भाग्न खोज्नेलाई बाटो चाहिंदैन ।
डिभी पि आर रोज्नेलाई माटो चाहिंदैन ।।
नानाथरि ब्यन्जनले भुडि भर्न पाएपछि ।
गाउँघरको गुन्द्रूक ढ़िडो आटो चाहिदैन ।।
२०७३-०७-०७ /०७:०८
मुक्तक
यहाँ सत्ताको छ चिन्ता तिमी देश र जनता भन्छौ ।
आफ्नै भत्ताको छ चिन्ता तिमी देश र जनता भन्छौ ।।
कति बेला कुन काण्डले चिप्ल्याइ दिन्छ तर्सेको छु ।
नोटकै पत्ताको छ चिन्ता तिमी देश र जनता भन्छौ ।।
# .........प्रकरण
२०७३-०७-०७/बिहान ८:२१
गजल
पात हल्लिएको देख्छु हावा चलेकै हुनुपर्छ ।
झिंजा सल्किएको देख्छु आगो बलेकै हुनुपर्छ ।।
नाना भाँती कुराहरु किन आउँछन् घरि घरि ।
उतै पल्किएको देख्छु तिमीले छलेकै हुनुपर्छ ।।
पहिले घोर बिरोध गर्थ्यौ अहिले नजिक छौ रे।
उतै ढल्किएको देख्छु अस्मिता ढलेकै हुनुपर्छ ।।
उसै सामु नजिक हुन बहाना धेरै गरी सक्यौ ।
ब्यर्थै छचल्किएको देख्छु तिमी गलेकै हुनुपर्छ ।।
२०७३-०७-२२/बिहान ६:४९
गजल
बिहानी झिसमिसेको घाम सँगै खेतमा जान्छु ।
अलिकति भुटेको त्यो मामसँगै खेतमा जान्छु ।।
यही माटोमा सुन फलाउने रहरहरु संगालेर ।
परिश्रमी खेतालाको लामसंगै खेतमा जान्छु ।।
श्रममा बिश्वास गर्छु पसीना बगाइ काम गर्छु ।
जिन्दगीको अबिरल कामसँगै खेतमा जान्छु ।।
झ्याउरे र सालैजोका सुमधुर गीत गुन्जाउंदै ।
रङगीन पलको धूमधाम सँगै खेतमा जान्छु ।।
गजल
तिम्लाई बिसन्चो हुँदा यता मैले दबाई खान्थें।
कतै निको भएन कि भन्दै रुदै भेट्न जान्थें ।।
मेरो दिलको डाक्टर तिमी नै हौ भन्थ्यौ सानु ।
पल पलका यादहरू पोको पारी सँगै लान्थें ।।
जब एकान्तमा बसी स्पर्श गर्थे तिमीलाई ।
तिम्रा सबै घाउहरु निको भए जस्तो ठान्थें ।।
अहिले सम्म देउता सम्झी ढूंगो पूज्या छैन ।
मेरो मनको ईश्वर केबल तिमीलाई नै मान्थें ।।
२०७३-०८-०९/बिहान ७:३०
गजल
ढेडु बाँदरलाई नरिवल छाने जस्तो भो संघियता ।
टुक्रा टुक्रा पारी प्रभुले खाने जस्तो भो संघियता ।।
सुगमताको नारा दिन्थे झन टाढा पो धकेलेछन ।
दुई दिन लगाई मुकाम जाने जस्तो भो संघियता ।।
उसले तान्दा यता चिसो यता तान्यो उता चिसो ।
जाडोमा छोटो सिरक ताने जस्तो भो संघियता ।।
आपसमा मिलेका जनलाई घरि घरि जिस्काएर ।
अरिंगालको गोलामा हाने जस्तो भो संघियता ।।
कहिले यता कहिले उता चिर्दै धुजा धुजा पारी ।
आफ्नै बाउको बिर्ता ठाने जस्तो भो संघियता ।।
२०७३-०८-१५/बिहान ५:०५
मुक्तक
बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई काठ हुन्छ ।
बिश्वास गरे स्वर्ग हो, नत्र मशानघाट हुन्छ ।।
ज्यान मात्र एकातिर , ध्यान अन्तै भएपछि ।
दिनभर दूना पढ़यो , सोह्र दुना आठ हुन्छ ।।
२०७३-०८-२७/ बेलुका ७:१७
गजल
हंसाउन खोज्दै थिएँ, रुन खोज्यौ किन तिमी ।
अनायासै पराइको, हुन खोज्यौ किन तिमी ।।
तिम्रै निम्ति मैले कति, अश्रु धारा बगाएकै हो ।
त्यही आँशुले नपुगेर, खून खोज्यौ किन तिमी ।।
तिमी भए औसी पनि, पूर्णिमा झैँ हुन्छ भन्थ्यौ ।
आज फेरि पूर्णीमाको, जून खोज्यौ किन तिमी ।।
मान्छे हो गल्ती हुन्छ, शतप्रतिशत कोही हुन्न ।
उनान्सय गुन बिर्सि, बैगुन खोज्यौ किन तिमी ।।
पन्चे बाजा घन्काएर , लिन आउनु भन्ने मान्छे ।
एकोहोरो शंखको त्यो, धुन खोज्यौ किन तिमी ।।
२०७३-०८-२८/बेलुका ८:०५
गजल
हंसाउन खोज्दै थिएँ, रुन खोज्यौ किन तिमी ।
अनायासै पराइको, हुन खोज्यौ किन तिमी ।।
तिम्रै निम्ति मैले कति, अश्रु धारा बगाएकै हो ।
त्यही आँशुले नपुगेर, खून खोज्यौ किन तिमी ।।
तिमी भए औसी पनि, पूर्णिमा झैँ हुन्छ भन्थ्यौ ।
आज फेरि पूर्णीमाको, जून खोज्यौ किन तिमी ।।
मान्छे हो गल्ती हुन्छ, शतप्रतिशत कोही हुन्न ।
उनान्सय गुन बिर्सि, बैगुन खोज्यौ किन तिमी ।।
पन्चे बाजा घन्काएर , लिन आउनु भन्ने मान्छे ।
एकोहोरो शंखको त्यो, धुन खोज्यौ किन तिमी ।।
२०७३-०८-२८/बेलुका ८:०५
मुक्तक
हात्ती आयो हात्ती आयो फुस्स भएछ कि ।
संघीयता नजन्मिदै परलोक गएछ कि ।।
पुनर्संरचना भन्दै नारा लगाउँदै हिडथे ।
साच्चै यिनको भित्री कुरो अर्कै रहेछ कि ।।
२०७३-०८-२९/बिहान ७:३३
मुक्तक
दरबारको फाइल खोज्यौ तर्सिएर हो कि ।
सत्ताको त्यो उन्मादले पो हर्षिएर हो कि ।।
हिजो आज अलि बढ़ी बर्बराउन थाल्यौ ।
बलिको त्यो बोको जस्तै पर्सिएर हो कि ।।
२०७३-०९-०८/बिहान ६:३०
गजल
जता जान्छु उतै तिर बरिष्ठको लाम देखें ।
जब तिनको काम हेरें मात्र छल छाम देखें ।।
अचम्मको रैछ हजुर बरिष्ठको उपाधि पनि ।
मन्चमा मात्रै बरिष्ठ हो अन्त गुम नाम देखें ।।
भन्नेले नि भनि दिन्छ सुन्ने त्यसै मख्ख पर्छ ।
कतिपय उपाधि पनि खरिद गर्ने दाम देखें ।।
ठूलो भन्दा अझ ठूलो हुने होड़बाजी चल्छ ।
शब्द कोष नै फेर्नु पर्नेअचम्मको ठाम देखें ।।
२०७३-०९-०९/९:२३pm
मुक्तक
रूँदै मुग्लान पसे पछि पसिनाको मूल्य बुझें ।
भोकै बस्नु पर्दा मीठो मसिनाको मूल्य बूझें ।।
पसिना र मसिनाको ब्यथा पनि सहेकै हो ।
धोका दिई गए पछि हसिनाको मूल्य बुझें ।।
२०७३-०९-११/६:५० बिहान
गजल
मलाई मेरै आगनमा खुट्टा थमाउन देऊ ।
यही धर्तीको एक मुठी माटो समाउन देऊ ।।
चाहिंदैन रत्ति भर परदेशको सुख सयल ।
यही देशको कुना कन्दरामा रमाउन देऊ ।।
तराइमा सिंचित गर्छु पहाडलाई सजाउछु ।
हिमालमा टल्किने सेतो हिउँ जमाउन देऊ ।।
जे जति गर्न सक्छु स्वदेशमै गर्ने प्रण गर्छु ।
नेपाली भई बिश्व सामु नाम कमाउन देऊ ।।
२०७३-०९-१५/बिहान ७:००
गजल
एक दिन टोपी लगाएर आफ्नो शान खोजेको छु ।
वीर नेपाली हुनुको छुट्टै पहि'चान खोजेको छु ।।
बैशाखको भन्दा पुसको नयाँ बर्ष भब्य बन्यो ।
झ्याउरे गीत बिर्सिएर अंग्रेजी गान खोजेको छु ।।
स्वदेश भन्दा बिदेशको मोह बढ़न थालेको छ ।
सपनाको देश पुग्ने सुरक्षित उडान खोजेको छु ।।
मुटु माथि ढुंगा राखी राष्ट्रियता बलि चढ़ाई ।
आफैलाई सताउने एउटा सैतान खोजेको छु ।।
२०७३/ ०९ /१७
मुक्तक
कि मित्रले चेप्यो भने प्रगति हुन्छ ।
कि शत्रुले हेप्यो भने प्रगति हुन्छ ।।
खुलाउन भनि आफ्नो भित्री आँखा ।
कि ज्ञानले छेप्यो भने प्रगति हुन्छ ।।
गजल
पैयूँ फुले जस्तै दारी फूल्न थाले पछि ।
भर्खरैको कुरा समेत भुल्न थालेपछि ।।
जीवनको उत्तरार्द्ध तर्फ प्रबेश गरिएछ ।
अतितका ती पलहरु बटुल्न थालेपछि ।।
बल्ल थोरै परिपक्व भए जस्तो लाग्छ ।
सन्तानसँगै तीर्थस्थल डुल्न थालेपछि ।।
जिन्दगानी अझै रंगीन बनेको छ फेरि ।
जवानीका पोलहरु खुल्न थालेपछि ।।
२०७३/०९/१९
Bhumiraj Sharma को गजल सान्दर्भिक लागो ।
बाजेको नाम थाहा छैन इतिहासका कुरा गर्छ ।
सुन्दा सुन्दै वाक्क पर्छु बकबासका कुरा गर्छ ।।
स्कूल जाने समयजति गुच्चा खेल्दै बिति गयो ।
लेख्न पढ़न जान्ने होइन बिद्यानासका कुरा गर्छ ।।
चरित्र हीन मान्छे न हो चेली बेटी देख्नै हुन्न ।
भलाद्मि बन्न खोज्छ ज्यूँदोलासका कुरा गर्छ ।।
लडाभाँति मच्चाउंछ उपद्रोको राजा नै हो ।
हिजो आज नेता भाछ बिकासका कुरा गर्छ ।।
मुक्तक
कहिले पूर्ब कहिले पश्चिम डुल्न मन लाग्छ ।
प्रकृतिको सुन्दरता सँगै घुल्न मन लाग्छ ।।
कति दुख हन्डर खाएँ मैले मेरो जिन्दगीमा ।
आज सबै दुःख पीड़ाहरु भुल्न मन लाग्छ ।
केहि मुक्तकहरु
१
प्रकृतिको अनुपम सुन्दरतामा हराएँछु ।
अचानक सपनीमा ब्यूझिएर कराएँछु ।।
जता जान्छु उतै देख्छु स्वर्ग जस्तो ठाउँ ।
किन किन मनै देखि मैले मन पराएँछु ।।
२
थुन्न सक्छौं बगेका ती खोलाहरुलाई ।
रोक्न सक्छौं बम बारूद गोलाहरुलाई ।।
हामी सबै एकजुट भए दुश्मन पछि हट्छ ।
फेर्नु पर्छ अब मनुष्यका चोलाहरु लाई ।।
गजल
पाइलै पिच्छे ठोकिने ठेसमा छु म ।
जवानीमै फुलेको त्यो केशमा छु म ।।
दिन दिनै कुरा फेरयो नभन्नु है सानु ।
हल्लै हल्लाको आफ्नै देशमा छु म ।।
के गरौं मूल्यहीन जिन्दगीको कुरा ।
भागफल नै मेटिएको शेषमा छु म ।।
कहाँ गयो भूमि भनि नखोज्नु मलाई ।
आफन्तले नै नचिन्ने भेषमा छू म ।।
२०७३/०९/२७
मुक्तक
नाताबाद र कृपा बादले सीमा नाघेपछि ।
सत्ता स्वादको उन्मादले सीमा नाघेपछि ।।
निर्धो पनि मुठठी कसी जुर्मुराउन थाल्छ ।
उत्पीडन र आर्तनादले सीमा नाघेपछि ।।
२०७३/१०/०२
मुक्तक
क्षण भरको हाँसो न हो आखिर यहाँ रुनु नै छ ।
आकस्मिक बसाई न हो आखिर टाढा हुनु नै छ ।।
माया मारयो परदेशीले नभनि देऊ मेरी सानु ।
दुःख कष्ट सहेर पनि हामीले लक्ष्य छुनु नै छ ।।
२०७३/०९/०३
गजल
धन सम्पति जोड्ने भए नेता जी नै बन्नु पर्छ ।
भ्रष्टाचारले आर्जेको धन लुकीलुकी गन्नु पर्छ ।।
इलम छैन जागिर छैन ब्यबसाय गरया छैन ।
सम्पत्तिमा प्रश्न उठे दाइंजो ल्याको भन्नु पर्छ ।
गरीबलाई ऐन लाग्ने धनीहरु लाई चैन हुने ।
पद्धतिको बिकास गरी चाल्नोमा निफन्नु पर्छ ।
दुई चार पुस्ता सम्मलाई टन्न पुग्ने गरी कन ।
यही मौकामा जोहो गरी मुक्तिमार्ग खन्नु पर्छ ।।
२०७३/०९/०३
गीत
गुनको बदला बैगुनले तिरिछौ ।
दुश्मन कै घरभित्र छिरि छौ ।।
रैछौ बैगुनी
बिर्सन्छु भन्दानी सम्झी मन रुनी ।
रुन्छु राति चर्किंछ छाती ।
बज्र प्रहार गर्दियौ मैं माथी ।।
रैछौ बैगुनी .......
मेरो माया तिमीलाई सस्तो भो ।
सर्पलाई दूध पिलाए जस्तो भो ।।
रैछौ बैगुनी .....
क्रमश:.......
मुक्तक
मन्दिरभित्र देउता होइन गजडीया भेटिन थाले ।
धर्म संस्कार रीतिरिवाज सबै कुरा मेटिन थाले ।।
पूर्बेली र पश्चिमेली संस्कृतिको जम्काभेट भो ।
मौलिक मूल्य मान्यताहरु अचानक रेटिन थाले ।।
२०७३/१०/०९
गीत
मेरो हाँसो उनलाई मन पर्दैन ।
रुन खोज्छु झन आँसु झर्दैन ।।
टिका निधारमा ।
रुनु न हास्नु भो परें दोधारमा ।
मुक्तक
दक्षिणलाई सम्झ्यौ भने उत्तरलाई भुलि दिन्छौ ।
काम कुरो एका तिर तिमी अन्तै डुलि दिन्छौ ।।
जब जब तिमीलाई संकट पर्न थाल्छ अनि ।
बेमौसमी फूल बनी उत्तरमैं आई फुली दिन्छौ ।।
२०७३/१०/१४
मौलाउंदै गएको छ ढांटछलको राजनीति ।
अपराध गुण्डागर्दी बाहुबलको राजनीति ।।
वा ! क्या गजब छ अरबपति हुने यो चाला ।
रातारात मालामाल प्रतिफलको राजनीति ।।
मुक्तक
सालिकमा सीमित छन् शहीदका सपनाहरु ।
मालिकमा बीमित छन् शहीदका सपनाहरु ।।
ग्रस्त छन परिवारजन रोग भोक र अभाबले ।
झुपडीमै जीबित छन् शहीदका सपनाहरु ।।
गजल
गुलेलीले आकाशका तारा झार्छु भन्छौ तिमी ।
हावामा महल बनाई बसाई सार्छु भन्छौ तिमी ।।
दुनियाले फेरि कतै सताउने पो हुन कि भन्दै ।
काल्पनिक रेखा कोरी बार बार्छु भन्छौ तिमी ।।
मायाको त्यो सागरको पानी यदि सुक्यो भने ।
टन्टलापुर घाम छेकी झरी पार्छु भन्छौ तिमी ।।
थाहै नदिई टप्प टिपि लैजाने कालको पनि ।
बारम्बार म्याद थप्दै मिति टार्छु भन्छौ तिमी ।।
२०७३/१०/२०
गजल
राजनीतिले बिद्यालय भित्र छिरेको छ ।
एउटा अमुक दलको झोला भिरेको छ ।।
त्यही झोला बोकी बोकी नेता बनेपछि ।
स्कुलको पठन पाठन ह्वात्तै गिरेको छ ।।
शक्तिको घमण्ड गर्छ कसैलाई टेर्ने हैन ।
धम्क्याउंदै दुनियालाई पिर्नु पिरेको छ ।।
हाकिमको नि एक शब्द बोल्ने आँट छैन ।
नियुक्तिकै बेला उस्ले लाखौं तिरेको छ ।।
२०७३-१०-२५
गजल
भेट्टीएर छुट्नु भन्दा नभेटे कै जाती ।
मन भित्रको प्यास बरु नमेटे कै जाती ।।
यादहरू यदि ऐठन बन्न थाल्छन भने ।
दिलभित्र तिम्ले पाइला नटेके कै जाती ।।
बारम्बार भूत बनी तर्साउने गर्छन भने ।
अशुभ हुने सपनाहरु नदेखे कै जाती ।।
संझिएर घरिघरी यदि रुनु पर्छ भने ।
अधुरो प्रेम कहानी नलेखे कै जाती ।।
२०७३-१०-२७
मुक्तक
कति माया गर्छु तिमीलाई भन्न सक्या भए ।
तिम्रो दिलको बिश्वासपात्र बन्न सक्या भए ।।
भ्यालेन्टाइन दिवस किन कुर्न पर्थ्यो साइली ।
डुबुल्कि मार्ने प्रेमको तलाउ खन्न सक्या भए ।।
२०७३/११/०३
मुक्तक
सुंक्क सुंक्क रूँदै आँशु किन झार्यौ आज ।
मलाई समेत रुन बाध्य किन पार्यौ आज ।।
सँगै जिउने सँगै मर्ने भनि कसम खाएकै हो ।
साँच्चै भन तिमीले आस किन मार्यौ आज ।।
खोलावारी खोलापारी हुने गरी छुट्यौं ।
आपसमा डांको छोडी रुने गरी छुट्यौ ।
रोक्न कसै नसकिने समयको खेल रैछ ।
यादहरूले दुबैको मुटु छुने गरी छुट्यौ ।।
गजल
कति दिन सक्छौ देऊ, पीडा मैलाई दिए हुन्छ ।
बेहोर्छु म सबै अपजस, तिम्ले जस लिए हुन्छ ।।
यदि तिमी युगौ युग बाच्छ्यौ भने भन प्रिया ।
बिष पिउन तैयार छु, तिम्ले अमृत पिए हुन्छ ।।
दुखाउन चाहन्न म, तिम्रो कोमल मुटुलाई ।
मेरै मुटु छिया छिया, पारी फेरि सिए हुन्छ ।।
यदि तिम्रो प्रगतिमा, मेरो जीवन बाधा भए ।
बाच्ने रहर छैन मेरो, तिमी मात्रै जिए हुन्छ ।।
२०७३/११/०८
बूढो रुख(कबिता)
छैनन्
कुनै पातहरु
न त बाँकी छन हाँगाहरु
हेर्दा हेर्दै
नांगिएको छ
शिबरात्रीमा
उन्मत्त भई तमासा देखाइरहेका
पशुपतिका नांगा बाबाहरु जस्तै
आफ्नै शरीरका
अंग हरु पनि
बिरानो बनाएर
ढल्नु न उभिनुको
दोसांधमा ठिंग
उभिएको छ बूढो रुख ।
छिया छिया परेको शरीर
अनि
क्षत बिक्षत
मुटु लिएर
आफ्नै करङरूपी
आँखी झ्यालहरुको
बीचबाट
संसारलाई
चियाइरहेको छ बूढो रुख ।।
न कुनै
संकेत छ सजीबको
मरिसकेका छन
कोषहरु
झरिसकेका छन
बोक्राहरु
फुस फुस खसिरहेछ
जिन्दगीको धूलो
तैपनि
बेमौसमी हावा हुरीहरु छल्दै
अबिराम सघर्ष
गरिरहेको छ बूढो रुख ।।।
ढ़लेका छन
कति
आस्थाहरु
पुरातन मौलिक सस्कृतिहरु
गलेका छन
आत्म सम्मान र पहिचानहरु
हरेक चाड पर्ब
अनि उत्सबहरुमा
देखिन्छन् बिकृत रूपहरु
तैपनि
मौलिकपनको धरोहर
बनिरहेको छ बूढो रुख ।।।।
२०७३/११/१४
गजल
हिजो राती सपनीमा आएर गयौ ।
बिपनिमा भेट्ने कसम खाएर गयौ ।।
सुटुक्क आई दुई नजर जुधाई ।
अन्जानमैं मीठो प्रीत लाएर गयौ ।।
यौबनको सुमधुर धुन बजाई ।
अजम्बरी प्रेम गीत गाएर गयौ ।।
न्यानो अंगालोमा बेरेर मलाई ।
मायालु संगीतमा नचाएर गयौ ।।
२०७३/११/१६
गजल
मैलाई पति पाऊँ भनी ब्रत बसेकी छौ रे ।
ऊ बिना म मर्छु भनी अड्डी कसेकी छौ रे ।।
कतै प्रियतमले अन्तै मन फेर्ने हो कि भनि ।
अझै सुन्दर बन्नलाई पार्लर पसेकी छौ रे ।।
सपनीमा मैलाई देखी अंगालोमा बेर्छु भन्दा ।
निदरीमा पलंगबाट भुइमा खसेकी छौ रे ।।
तिम्रो मेरो सम्बन्धको चर्चा धेरै चलेपछि ।
जन्म घरभित्रै नजरबन्दमा फसेकी छौ रे ।।
जबर्जस्ती अर्कैसंग अन्माउन खोजेपछि ।
आत्म हत्या गर्छु भन्दै छुरी धसेकी छौ रे ।।
२०७३/११/२०
मुक्तक
१.
एउटा पुल बन्नू छ जिन्दगीको गोरेटोमा ।
दुईटा कुरा भन्नु छ जिन्दगीको गोरेटोमा ।।
अंध्यारोलाई चिर्नु छ उज्यालोमा छिर्नु छ ।
अझै बाटो खन्नु छ जिन्दगीको गोरेटोमा ।।
२०७३/११/२१
गजल
जंघार पार गराइ दिने पुल बनी दिनु तिमी ।
जिन्दगीमा सुबास छर्ने फूल बनी दिनु तिमी ।।
तिम्रै बानी ब्यबहारको अनुशरण गरेको छु ।
ज्ञान बिबेक सद्गुणको मूल बनी दिनु तिमी । ।
अन्यायको बिरोध गर्छु झुक्ने छैन बैरी सामु ।
न्याय अनि सत्यताको बिगुल बनी दिनु तिमी ।
लोभ क्रोध घमण्ड र ईर्ष्याहरु जाग्न सक्छन् ।
दुर्गुण लाई बन्द गर्ने चुकुल बनी दिनु तिमी ।।
समाजका बिषालु ती मच्छेटले टोक्न खोजे ।
बाहिर बाटै छेकी दिने झूल बनी दिनु तिमी ।।
२०७३/११/२२
गजल
प्रेम भन्दा ठूलो तिमीलाई दाम लाग्न सक्छ ।
बैशको त्यो उन्माद धूमधाम लाग्न सक्छ ।।
धन दौलत बैशले तिमी उन्मत्त भएको बेला ।
वरिपरि प्रशंसकहरुको जाम लाग्न सक्छ ।।
अमर माया गर्छु भनी लेखेको त्यो प्रेमपत्र ।
तिम्रो निम्ति केबल रित्तो खाम लाग्न सक्छ ।।
बैश ढल्न थाल्छ धनमा पहिरो चल्न थाल्छ ।
बल्ल स्वार्थी दुनिया छल छाम लाग्न सक्छ ।।
बिनासित्ति फ्याकिएको बर्खाको खोइलो पनि ।
कठाङग्रीने हिउदमा बाल्न काम लाग्न सक्छ ।।
समयको चक्र न हो भोलि कस्ले जान्या छ र ।
कालो बादल फाटेर फेरि घाम लाग्न सक्छ ।।
२०७३/११/२१
गजल
मौनतालाई कमजोरी, ठान्यौ र त गल्ती गर्यौ ।
लुकीलुकी मैलाई तीर, हान्यौ र त गल्ती गर्यौ ।।
तिमी सँगै लक्ष्य सम्म, पुग्ने धोको अधुरै भो ।
पछिबाट मेरै खुट्टा, तान्यौ र त गल्ती गर्यौ ।।
तिमीलाई संकट पर्दा, लाएका गुन बिर्सिएर ।
पराईलाई आफन्त, छान्यौ र त गल्ती गर्यौ ।।
मैले पनि मौन बसी, रमिता हेर्ने सोचेको छु ।
बदनामीको बिंडो , धान्यौ र त गल्ती गर्यौ ।।
२०७३/११/२३
कबिताहरु
१ ''भो चाहिदैन''
जब
एउटा राजा हटाएर
जन्मिन्छन
सयौ भूरे राजाहरु
अनि गर्छन् भने उस्तै शासन ।
तब
खोसिन्छन
मेरा अधिकारहरु
भो चाहिदैन
तिम्रा आश्वासनहरु
आउंदैन
मेरो झुपडिमा
तात्विक परिबर्तन ।
जब
एउटा ब्यबस्था हटाएर
गरिन्छन भने
कैयौ असफल प्रयोगहरु
तब
ब्यर्थ हुन्छ
तिम्रो प्रजातन्त्र
अनि फेरि
अर्को लोकतन्त्र
केबल नाम फरक
तर काम उहि भएपछि
भो चाहिदैन
तिम्रो कथित गणतन्त्र
जसले गर्छ
मात्र तिम्रो सम्बर्धन ।
जब
एउटा केन्द्र हटाएर
जन्मिन्छन
सयौं लघु केन्द्रहरु
अनि
तानिन्छन सेवा सुबिधाहरु
शासकको दैलो तिरै
भो चाहिंदैन
तिम्रो खोक्रो संघियता
जसले गर्छ
मात्र तिम्रो पक्ष पोषण ।
२
'' म चाहन्छु ''
म चाहन्छु
यस्तो शासक
जो हरेक दीन दुखीको
झुपडीमा पसोस्
गरीब र असहायहरुको
मन मनमा बसोस् ।
म चाहन्छु
यस्तो शासन
जहाँ कुनै बहानामा
कसैसंग भेद नहोस्
आफूले आफैलाई शासन गर्ने
स्वशासनको अभ्यास रहोस् ।
म चाहन्छु
यस्तो संघियता
जहाँ कुनै बहानामा
केन्द्र र परिधिको द्वन्द नहोस्
हरेक नागरिकको
सुबिधा र अधिकार
उसैको पहुँचमा
सुनिश्चित होस् ।
२०७१/१२/०९
मुक्तक
अझै पनि गाउँ र शहर बीचको भेद उस्तै छ ।
फेरिए होलान पालुवाहरु तर फेद उस्तै छ ।।
संघिय शासन आँगनमा आयो भनूं म कसरी ।
त्यो फुच्चे शहरले गाउँलाई गर्ने खेद उस्तै छ ।।
२०७३/१२/०९
गजल
बोटमैं फल कुहिएपछि भुईमै किन झर्नु परयो ।
ज्यूँदो लास भैसकेपछि फेरि किन मर्नु परयो ।
गाँजा भाँग धतुरोमा लठ्ठीदैछौ आज तिमी ।
शिबजीले छुट्टै रूप किन धारण गर्नु परयो ।।
कलियुगका सीताहरु आफै भाग्न थालेपछि ।
नानाभाँति गरी अब रावणले किन हर्नु परयो ।।
कुकर्म त गरी सक्यौ पखालिन्न जे गरे पनि ।
शाश्त्रको त्यो बैतरणी नदी किन तर्नु परयो ।।
असली रूप के हो तिम्रो खुलेआम भनि देऊ ।
दुनियालाई अनाबश्यक भ्रम किन छर्नु परयो ।।
२०७३/१२/०४
गजल
भन कति जल्ने र जलाउने हो ।
अझै कति ढल्ने र ढलाउने हो ।।
रगतमा होली खेल्दै क्रूर शासन ।
अझै कति चल्ने र चलाउने हो ।।
सोझा र निमुखा जनहरुलाई ।
अझै कति छल्ने र छलाउने हो ।।
साम्प्रदायिक दंगाको बिष बृक्ष ।
अझै कति फल्ने र फलाउने हो ।।
यो मातृ भूमिमा शान्तिको दियो ।
भन कहिले बल्ने र बलाउने हो । ।
२०७३/११/२४
मुक्तक
मेरै मनमा आगो लगाई
खरानीको मूल्य खोज्यौ ।
मलाई टाट पल्टाएर
लगानीको मूल्य खोज्यौ ।।
खै कसरी पूरा गरूँ
मैले तिम्रा मागहरु ।
बैश ढली सके पछि
जवानीको मूल्य खोज्यौ ।।
२०७३/११/२३