Skip to main content

कार्यमुलक अनुसन्धानहरु


सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान
ईश्वरीप्रसाद पोखरेल
(कार्यमुलक अनुसन्धान )
१. परिचय
नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध विशेषताबाट संघीय गणतान्त्रिक समावेशीतामा रुपान्तरण हुने अभ्यासको चरणमा ७ प्रदेश तथा ७४४ स्थानीय तहमा सिमाङ्कित भएको छ । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहकै सरकारको व्यवस्थापन, सञ्चालनमा रह्ने संवैधानिक प्रावधान छ । शिक्षा संरचना, पेसागत प्राविधिक सहयोग संयन्त्र र पद्धतिले स्पष्ट आकार नपाइसकेको अवस्था छ । चाँडो नभएपनि ढिलै रुपमा शिक्षाबारे धेरै स्पष्टता आवश्यक छ ।
क) पृष्ठभूमि :
शिक्षा मानिसको सर्वाङ्गीण विकासको पक्ष हो । समाजमा सामान्य लेखपढ गर्न र गृहस्थ जीवनको व्यवहार सञ्चालन गर्न शिक्षा आवश्यक पर्दछ । सैद्धान्तिक ज्ञानमूलक शिक्षाका आधारमा नै मानिसले आवश्यकतानुसार स्वरोजगार तथा रोजगारीको मार्ग तय गर्दछ । दर्शनशास्त्रीय शिक्षामा बौद्धिक तार्किकता र ज्ञान चिरफार गर्ने क्षमताको हुन्छ । सामान्य जीवनमा आइपर्ने कामहरु हल गर्ने पेसागतसिप र व्यावसायिक दक्षता प्राविधिक तथा व्यावसायिक शिक्षाले दिन्छ । अत ः अधिकांश जनताको मागलाई सम्बोधन गर्न राज्यले शिक्षाका फरक फरक धार सञ्चालनको दायित्व लिएको हुन्छ । तर साधारण विद्यालयको ज्ञान नै सबै शिक्षाको आधारभूत जग हो । यसर्थ केही सामुदायिक विद्यालयको नेतृत्वकर्ता प्रधानाध्यापकहरुको नेतृत्व क्षमता, विद्यालय सञ्चालन अवस्था र पेसागत आवश्यकताहरु के के हुन् सक्छन् भन्ने अध्ययन गरिएको छ ।
ख) अध्ययनको औचित्य :
विगत धेरै वर्षदेखि शिक्षक तथा प्रधानाध्यापकहरुलाई पेसागत दक्षता, क्षमता अभिवृद्धि र वृत्तिविकासका लागि लक्षित गरेर धेरै प्रकारका लालिम, प्रशिक्षण अभ्यास गरिँदै आएको छ । वि. स. २०७३ देखि विद्यालयका प्रधानाध्यापक नेतृत्व क्षमता विकासका लागि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको छ । केन्द्रमा रही काम गरेका तथा प्रत्यक्ष शिक्षण सिकाइ र विद्यालय व्यवस्थापनको अनुभव नसंगालेकाबाट तालिम पाठ्यक्रम वा पाठ्यसामग्री निर्माण पद्धति न्यायिक हुन सक्दैन । स्थानीय सरोकारवालाको भावना आत्मसात गर्न विद्यालयकै प्रत्यक्ष सरोकारित समूह विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई लक्षित गरी विद्यालय सञ्चालनमा प्रधानाध्यापकको भूमिकामाथि विचार संकलन गरिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको शैक्षिक नेतृत्व अवस्था, पेसागत चुनौती र सिपगत क्षमताका आवश्यकता पहिचानु गर्नु र उनीहरुको तालिममा ती विषयलाई सक्दो रुपमा सम्बोधन गर्नु अध्ययनको औचित्य रहेको छ । यी विचारहरुलाई नीति निर्माता, अनुसन्धाता, पाठकहरुले गहन अध्ययन, मनन र विश्लेषण गर्दै कार्यान्वयनमा लग्न सकेमा यो अध्ययनको सार्थकता हुने र शिक्षा प्रणालीको व्यवस्थापनमा वैज्ञानिकता र गुणात्मकता हुने आशा गर्नु अध्ययनको औचित्य रहेको छ ।
२. अध्ययनको उद्देश्य :
- सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको नेतृत्व अवस्था पहिचान र समाधान खोज्न,
- प्रधानाध्यापकहरुको पेसागत र व्यवस्थापकीय समस्या पहिचान गरी सम्बोधनका उपाय पहिल्याउन,
- प्रधानाध्यापकहरुको पेसागत क्षमतावृद्धि तथा कार्यकुशलताका मार्ग पहिचान गरी कार्यान्वयनमा ल्याउन,
- क्षमतावृद्धिका विषय सरोकारवालाबाट पत्ता लगाएर विद्यालयहरुलाई प्रभावकारी बनाउने प्रयासलाई लिपिबद्ध गर्न,
- नीति निर्माण र कार्यान्वयन तहमासमेत सुधार ल्याउन एवम् कार्य स्पष्टताका लागि केही सहयोग पुराउन,
- विद्यालयका प्रधानाध्यापकहरुको पेसागत क्षमता विकास तालिम प्याकेज निर्माणमा स्थलगत सहयोग लिन ।
३. अध्ययन विधि तथा प्रक्रिया :
- विद्यालय शिक्षाका नेतृत्वकर्ता प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीका धारणा लिन छुट्टाछुट्टै फारमको प्रयोग ।
- सबै सरोकारवालालाई ४÷ ५ वटा बहुउत्तर आउने खुला प्रश्नमा ४ ओटा मुख्य पक्ष उल्लेख गर्न स्वतन्त्रता ।
- अध्ययन गरिएका विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकका पनि धारणा संकलन ।
- केही कक्षाका विद्यार्थीसंग अन्तरक्रिया र प्रायः सबै शिक्षकहरुसंग छुट्टै बसी शैक्षिक अवस्था पहिचान छलफल ।
- शैक्षिक तालिम केन्द्र पाल्पामा प्रधानाध्यापक तालिममा सहभागी २२ जना सहभागीका धारणा फारम तथा छलफलबाट पनि संकलन । सहभागीका लागि सोधिएका प्रश्नहरुको विवरण अनुसूची १ तथा सहभागीको १३९ जनाको विवरण अनुसूची २ मा दिइएको छ ।
४. सामुदायिक विद्यालय विद्यमान अवस्था :
- सामुदायिक विद्यालयहरुमा सचेत तथा समृद्ध अभिभावक र समुदायका नेतृत्व वर्गको अभाव बढ्दो ।
- धनी वर्गका अभिभावक तथा बहु प्रतिभाशाली तथा मेधावी छात्रछात्रा तथा तिनका अभिभावकहरुलाई सामुदायिक विद्यालयहरु नै भविष्य निर्माणमा सहयोगी हुन्छन् भन्ने विश्वास दिन नसक्दा निजी संस्थागत विद्यालयतिर बढी आकर्षण बढ्दो ।
- सामुदायिक शिक्षाबाट रोजगार तथा स्वरोजगार दिन सफल हुने वातावरण कायम गर्न नसकिएको
- व्यावसायिक धर्मका आधारमा निजी क्षेत्रबाट सामुदायिक शिक्षाप्रति हुने प्रतिकूल भ्रमलाई चिर्न नसकिएको ।
- दक्ष जनशक्तिको माध्यमबाट देशको आर्थिक समृद्धि र जनताको जीवनस्तर हासिल गर्न सामुदायिक शिक्षा सफल भन्ने प्रचारबाजी उच्च नरहेको ।
- विद्यालय तहको शिक्षा पद्धतिबाट २०२८ सालमा नै सामुदायिक विद्यालयहरुबाट प्राविधिक तथा व्यावसायिक शिक्षा सुदृढ गर्न खोजए पनि २०३७ पछि सो पद्धति महङ्गो शिक्षाका नाममा हटाइएको र चालु शिक्षा सिपहीन आलोचनामा परेको ।
- अन्तर्राष्द्रिय अभ्यासमा कतिपय देशमा सामुदायिक विद्यालयकै आधारभूत तहदेखि विद्यार्थीहरुलाई व्यावसायिक सिप र प्राविधिक ज्ञानतिर प्रवेश गराउने नीतिलाई नेपालमा अपनाउन नसकिएको ।
- कपडा सिउँने, बाल काट्ने , मैनबैत्ती बनाउने, कताई बुनाई , चित्रकला, पेन वालपेन बनाउने, विभिन्न स–साना उद्योगका उत्पादन प्याकिङ्ग जस्ता कार्यमा विद्यालयका विद्यार्थीलाई सहभागी गराउन नसकिएको ।
- नेपालीे साधारण शिक्षा पद्धतिमा पुस्तकीय ज्ञान, क्षमता र परीक्षामा हासिल सफलताका साथ प्राविधिक तथा व्यावसायिक दक्षता जोड्ने कार्यको अभाव रहेको ।
यिनै सन्दर्भमा गुणात्मक शिक्षा, शिक्षण सिकाइ तथा प्रधानाध्यापक पेसागत नेतृत्व क्षमताको विषयमा अनुसूची १ का प्रश्नबाट विद्यार्थी, शिक्षक तथा प्रधानाध्यापकहरुलाई अनुसूची २ का विद्यालयका सरोकारवालाबाट आ–आप्mना विद्यालयका यथार्थ अवस्था बाहिर ल्याउन प्रयास गरिएको छ ।
५. अध्ययनमा विद्यालयहरुको वर्तमान अवस्था :
अध्ययन गरिएका विद्यालयका विद्यार्थी –५८ , शिक्षक ४९ तथा प्रधानाध्यापक ३२ जना गरी १३९ जनाका विचारहरुलाई संश्लेषण तथा विश्लेषण गरी यो लेख तयार पारिएको छ । विचारमा व्यक्ति धारणा प्राथमिकताका आधारमा सतप्रतिशतबाट शुरु गरी २० प्रतिशतसम्मका सरोकारवालाका भनाइलाई स्थान दिएर लेखन गरिएकाले ती भावनाको मर्मलाई आत्मसात गर्न आवश्यक छ ।
विद्यार्थीहरुका दृष्टिमा प्रधानाध्यापकमा हुनुपर्ने पेसागत गुणहरु
- बलियो नियम कानुन ( आचारसंहिता ) निर्माण र कार्यान्वयन,
- विद्यार्थीको सिकाइबारे उत्सुक हुने, विद्यार्थी तथा शिक्षकसंग निरन्तर अन्तरक्रिया गर्ने एवम् सही परामर्श दिने,
- विद्यार्थीहरुको भर्ना गर्दा सक्षम र कमजोरका आधारमा समूह विभाजन नगरी समानता र सम्मानपूर्वक सिक्ने सिकाउने वातावरण बनाउने,
- मनोभाव बुझेर आत्मबल र उर्जा भर्न सक्ने,
- किताबी ज्ञान र व्यवहार जोड्न मनोरञ्जनात्मक सिकाइमा केन्द्रित गर्ने र सिकारुलाई आफ्नो मूल्यांकन आफै गर्न निरन्तर सुधारका लागि दत्तचित्त हुने,
- विद्यालयको आचारसंहिताको पालना, प्रोत्साहन तथा कमजोर पक्षमा सुधार गर्ने,
- विद्यार्थीको सामाजिक पृष्ठभूमिसित परिचित तथा सर्वाङ्गीण क्षमता विकासका साधनस्रोतको सदुपयोग गर्ने,
- नम्र शिष्ट व्यवहार गर्ने तथा आफ्नो उच्च चरित्रबाट अरुलाई अनुशासित तुल्याउने ,
- जीवनोपयोगी कार्यमूलक व्यवहारिक शिक्षाका लागि आधुनिक प्रविधिमूलक सिकाइ व्यवस्थापन गर्ने,
- विद्यालयमा अनुशासन कायम गर्न शिक्षक, अभिभावक तथा विद्यार्थी अन्तरक्रिया एवम् उत्कृष्टलाई पुरस्कार गर्ने,
- शिक्षकबाट विद्यार्थी र विद्यार्थीबाट शिक्षकको वस्तुनिष्ठ मूल्यांकन पद्धति विकास र कार्यान्वयन गर्ने,
- समयसमयमा कक्षा अनुगमन गर्ने र यथार्थ गतिविधिसित जानकार भई आवश्यक सहयोग तथा पृष्ठपोषण गर्ने,
- शिक्षकको विद्यार्थी सिकाइ अवलोकन,तालिम तथा सामग्री उपादेयता जानकारी र प्रयोगमा सहजीकरण गर्ने,
- गुणस्तरीय शिक्षा प्रतिस्पर्धाका लागि शैक्षणिक प्रविधि र सूचना प्रविधिमा जोड गर्ने,
- जुनसुकै स्रोतबाट उपलब्ध साधन स्रोतको अधिकतम सदुपयोग गर्न सरोकारवालाको सहभागिता र सहमतिमा योजना निर्माण तथा पारदर्शितापूर्वक कार्यान्वयन गर्ने,
- विद्यार्थी, शिक्षक , विद्यालय व्यवस्थापकहरुसंग छलफल गरेर मात्र निर्णय गर्ने ,
- समुदायका विद्यार्थीहरुलाई आधारभूत सेवासुविधा उपलब्ध गराउने र सेवाभावकासाथ अभिभावकत्व बहन गर्ने ,
- विद्यालयमा नियमित पठनपाठनका साथै सहक्रियाकलाप तथा अतिरिक्त क्रियाकलापको व्यवस्थापन एवम् प्रोत्साहन गर्ने ,
- पेसागत आधारमा पाठ्यक्रमसम्बद्ध सहजीकरण सिप तथा प्रभावकारिता प्रदर्शन गर्ने,
- विद्यार्थी सहयोग,शैक्षिक कार्यक्रम, प्रोत्साहन छात्रवृत्ति, उत्कृष्टलाई सार्वजनिक पुरस्कारको व्यवस्था मिलाउने,
- विषयवस्तुमा तथा शिक्षण प्रशिक्षणमा योग्य तालिम प्राप्त शिक्षकको छनोट तथा व्यवस्थापन गर्ने ,
- साप्ताहिक खेलकुद तथा अतिरिक्त क्रियाकलाप विद्यार्थी आफैले सञ्चालन तथा स्वयम् सेवकको कार्य गर्ने ,
- विद्यालयमा प्रयोगमा रहेका सामग्रीको प्रयोग, मर्मत र अध्यावधिकता राख्ने सिप
- विद्यार्थी सामाजिकीकरणका लागि तल्ला कक्षा र उपल्ला कक्षाका फरक फरक समूहका विद्यार्थी तथा अभिभावकबीच सहकार्य, संवाद र सिकाइको वातावरण तयार गर्ने
- शिक्षक आचरण, शिक्षण सिकाइ र व्यवहारबारे विद्यार्थीसंग राम्रो जानकारी लिने र सही मार्ग अपनाउने ,
- गरीब तथा जेहेन्दार छात्रवृत्ति सहयोग कार्यक्रम, प्राथमिक उपचार व्यवस्थापन र प्रयोग एवम् अनावश्यक वस्तु र फोहोर थन्काउने कार्य ,
- अनुशासन पालना नगर्दा सजाय रुवरुप सरसफाइ तथा अतिरिक्त श्रम गर्नुपर्ने ,
- हाजिरी,सिसिटीभीको निगरानी, नैतिक शिक्षालाई उच्च स्थान तथा राम्रा शिक्षक नै हाम्रा भन्ने व्यवहार गर्ने ,
विद्यार्थीहरुका दृष्टिमा विद्यालय तथा प्रधानाध्यापक पुरस्कारका आधारहरु
- भौतिक तथा शैक्षिक उपलब्धि गुणस्तरीय प्रमाणित भएमा,
- हरेक शैक्षिक क्रियाकलापमा प्रतिस्पर्धा र नमुना हुन सकेमा ,
- शिक्षा ऐन,नियमावली तथा कानुनको पूर्णपालना र कार्यान्वयन तथा उत्कृष्ट नतिजा हासिल भएमा,
- बालमैत्री विद्यालय वातावरण तथा शैक्षिक गुणस्तरका आधार तयार भएमा ,
- विद्यार्थी सामाजिकीकरणका नयाँ नयाँ कार्यक्रमहरु तयार तथा कार्यान्वयन हुन सकेमा ,
- सिकाइ उपलब्धि उच्च तथा परीक्षार्थी सतप्रतिशत सफल हुने गरेमा ,
शिक्षकका दृष्टिमा प्रधानाध्यापक पेसागत भूमिका
- पाठ्यक्रम अनुकूलन, समयसापेक्षता अनुरुप सहजीकरण प्रयास एवम् पे्ररणादायी व्यवहार ,
- सामूहिक विश्वास तथा प्रभावशाली नेतृत्व क्षमता एवम् पारदर्शिता, नम्रताको उच्च नमुना ,
- दूरद्रष्टा र आत्मविश्वासी,सबैमा समान व्यवहार, निष्पक्ष भूमिका र असल अभिभावकत्व बहनकर्ता ,
- विद्यालयको प्रकृति, विषयवस्तु अध्यापनका क्षेत्र एवम् समसामयिक अवस्था सम्बोधनगर्ने पेसागत दक्षता ,
- सामाजिक समन्वय,सरोकारवालापक्षबाट व्यवस्थापकीय गुणमा सम्मानित व्यक्तित्व ,
- मनोविज्ञ तथा हंसमुख व्यक्तित्व एवम् मिलनसार ,
- योग्य शिक्षक व्यवस्थापन तथा शिक्षकको पेसागत क्षमता अभिवृद्धिका लागि प्रयासरत ,
- शिक्षक , विद्यार्थी र अभिभावकबीच त्रिकोणात्मक अन्तरक्रिया तथा भौतिक पूर्वाधारमा सचेत ,
- विषयवस्तुमा दक्ष, नवीन विषयमा रुचि र उत्सुकता ,
- कुशल नेतृत्व, समन्वय, संगठन सञ्चालन क्षमता, पारदर्शिता र पदीय उत्तरदायित्वका पेसागत क्षमता विकास,
- दूरद्रष्टा, योजनासाथ सबैको सहभागिता तथा विश्वासमा काम गर्ने नेतृत्व क्षमता विकास,
- समन्वय, पारदर्शी तथा निष्पक्ष व्यवहार एवम् सामूहिक निर्णयको शैक्षिक वातावरण निर्माण ,
- विद्यालयमा आवश्यक पर्ने तथा उपलब्ध सेवासुविधा व्यवस्थापन, परिचालन एवम् सदुपयोग सिप र निर्विवादित चरित्र ,
- पेसागत उच्च दक्षता, समुदाय सम्बन्ध तथा सरोकारवालाको विश्वास र समन्वय सिप ,
- नवीन सोच, प्रवर्तनात्मक योजना क्षमता तथा भौतिकस्तरवृद्धिमा निरन्तर क्रियाशील एवम् सेवामा गुणस्तर ,
शिक्षकका दृष्टिमा प्रधानाध्यापक छनोटका आधार तथा पेसागत दायित्व
- शिक्षक,साधनस्रोत व्यवस्थापन तथा परिचालन एवम् शैक्षिक गुणस्तर मूल्यांकन नेतृत्व विकास ,
- योग्य, क्षमतावान् र पेसागत कुशल व्यक्तिलाई प्र.अ.को जिम्मेवारी तथा निष्पक्षताको उच्च मूल्यांकन ,
- शैक्षिक सुधारका पूर्वाधार प्रस्तावसहित शिक्षा नियमवालीको पालना र प्र. अ. व्यवस्थापन ,
- स्थलगत भ्रमण, समस्या समाधानमा सहयोगी, व्यावसायिक तथा प्रयोगात्मक शिक्षामा जोड गर्ने ,
- शिक्षित र जागरुक अभिभावकलाई विद्यालयप्रति विश्वस्त तुल्याउने एवम् व्यवस्थापन समितिको सहयोग र पृष्ठपोषणमा नेतृत्व गर्ने ,
- पेसागत हैसियतको बोध गर्ने, पेसाप्रतिको नैतिक जिम्मेवारी बहन गर्ने र आफू मातहत उचित पुरस्कार तथा दण्डसजायको अधिकार प्रयोग गर्ने ,
- निष्पक्ष व्यहार, सामुदायिक क्रियाकलापमा सहभागिता वृद्धि एवम् शिक्षक, विद्यार्थी र अभिभावक सम्बन्ध सुदृढ गर्ने,
- नेतृत्व क्षमता उच्च, एकल मनोपरी नगर्ने, सामूहिक कार्यमा विश्वास गर्ने ,
- नेतृत्व, पदीय जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने र नतिजा दिन सक्ने ,
- नेतृत्व विकास तथा गुणात्मक प्रतिस्पर्धाका लागि स्वदेश तथा विदेशका तालिम, गोष्ठीमा प्र.अ.हरुको सहभागिता अवसर हुनुपर्ने ,
प्रधानाध्यापकले निर्वाह गर्दै आएका भूमिका र आवश्यकताका पक्षहरु ( प्रधानाध्यापक)
- प्रजातान्त्रिक, पारदर्शी, तटस्थ र लगनशील नेतृत्व ,
- पेसागत दक्षता, प्रशासकीय तथा व्यवस्थापकीय गुण ,
- राम्रो योजनाकार, समयसापेक्ष शैक्षिक नीति निर्माण र कार्य योजना तर्जुमा क्षमता ,
- मिठोबोली,हँसमुख तथा मिलनसार व्यक्तित्व र समन्वयकारी भूमिका,
- भौतिक, मानवीय तथा आर्थिक स्रोत पूर्वाधार निर्माण र व्यवस्थापन,
- शैक्षिक उत्सुकताको वातावरण तथा बालमैत्री विद्यालय ,
- समयसापेक्ष पाठ्यक्रम व्यवस्था र प्रयोग क्षमता, तालिम प्राप्त ,पेसाप्रति समर्पित योग्य शिक्षक व्यवस्था,
- अभिभावक, विद्यार्थी तथा शिक्षक अन्तरक्रिया तथा परामर्श क्षमता ,
- समयसापेक्ष, प्र.अ. तथा शिक्षकहरुलाई छोटो अवधिको पुनर्ताजगी तालिम, कार्यशाला तथा सेमीनारको अवसर ,
- मनोविज्ञ तथा कुनै विषयमा दक्ष एवम् अध्ययनशील व्यक्तित्व,
- विद्यालयको सेवाक्षेत्रका अभिभावक एवम् समाजको यर्थाथताबोध भएका ,
प्रधानाध्यापक दृष्टिमा विद्यालयका सबलताहरु
- विद्यार्थी तथा शिक्षकमा समूह कार्यप्रति विश्वास वृद्धि ,
- सिकाइ उपलब्धि मापन तरिका, परीक्षा प्रणालीमा सुधार, मूल्यांकनका आयाममा परिर्वतन र सूचनाको पारदर्शिता ,
- शिक्षक तालिमको व्यवस्था र सिकाइ प्रभावकारिताको सुनिश्चितता ,
- शिक्षक उत्प्रेरणा र पुरस्कार तथा खाली घण्टी नहुने व्यवस्था कार्यान्वयन ,
- समुदाय सम्बन्ध विस्तार तथा पटकपटक अभिभावक अन्तरक्रियाबाट विद्यालयमा सहभागिता ,
प्रधानाध्यापक दृष्टिमा विद्यालयका समस्याहरु
- साधनस्रोत व्यवस्थापन, प्रयोग तथा सहकार्य वा सहयोग प्राप्तिमा समस्या,
- शैक्षिक व्यवस्थापनमा वि.व्य. स.तथा समुदायको चासो न्यून वा राजनीतिक आग्रहपूर्वाग्रहको प्रभाव,
- गुणस्तरीय शिक्षक तथा पेसागत चरित्रको अभाव एवम् समयसापेक्ष शिक्षक तयार पार्न कठिन,
- अस्पष्ट शैक्षिक नीति तथा बन्द हडतालको प्रभाव तथा शिक्षक विद्यार्थी अनुपात नमिल्नु ,
- शिक्षकहरुमा आत्मसमीक्षा गर्ने बानीको अभावमा सही मूल्यांकन र पुरस्कृत गर्नमा समस्या ,
प्रधानाध्यापक दृष्टिमा विद्यालयका सबलताका आधारभूत सर्तहरु
- पर्याप्त भौतिक, मानवीय तथा आर्थिक पूर्वाधार ,
- व्यवस्थापन समितिको सहयोग र पृष्ठपोषण ,
- दण्ड सजाय तथा प्रोत्साहन व्यवस्थापन, प्रयोग र पुरस्कारको अधिकार ,
- प्रधानाध्यापकको सही मूल्यांकन गरी दण्ड पुरस्कारको व्यवस्था ,
- राजनीतिमुक्त र शान्ति क्षेत्र विद्यालयको प्रतिवद्धता कार्यान्वयन ,
- शिक्षित र जागरुक अभिभावक ,
- पुराना शिक्षकलाई समसामयिक बनाउने वा सेवामुक्त गर्ने छनोटको अवसर आवश्यक ,
प्रधानाध्यापक दृष्टिमा विद्यालय सबलताका लागि गर्नुपर्ने आवश्यक नीतिगत प्रावधानहरु
- समयानुकूल ऐनकानुनमा प्रधानाध्यापक पदलाई अधिकार सम्पन्न बनाउने ,
- शैक्षिक व्यवस्थापन तथा शिक्षक नियुक्ति र अवकासको अधिकार प्र. अ . लाई दिने ,
- हरेक किसिमले योग्य, सक्षम र प्रतिभाशाली व्यक्ति प्र. अ. हुने वैज्ञानिक आधार बनाउने ,
- योजना अनुरुप नतिजा नदिने प्र. अ. लाई पारदर्शी रुपमा हटाउने विधि तय गर्ने ,
- प्रधानाध्यापकहरुलाई देशविदेशका तालिम,गोष्ठी र सेमीनारमा सहभागी हुने अवसर सुनिश्चित गन,
सिकाइ तथा प्राप्तिमा विद्यार्थी तथा शिक्षकबाट हासिल गरिएका केही अनुभूतिहरु
- विद्यालयहरु स्थानीय तह वा आफ्नो सेवा क्षेत्रको समृद्धि तथा विकासका आधारस्थल भएकाले सरकारका सबै शैक्षिक कार्यक्रमको कार्यान्वयनको आधिकारिक निकायका रुपमा हुनुपर्ने,
- शिक्षासित सम्बद्ध सबै विषय क्षेत्रका विद्वान तथा विज्ञहरुसंग अन्तरक्रियाको व्यवस्था विद्यालयले मिलाउनुपर्ने,
- शिक्षकको पेसागत प्रोत्साहन र सही मूल्यांकन पद्धतिबाट नतिजामा गुणात्मकता खोज्ने पद्धति बसाल्नुपर्ने,
- विद्यालय व्यवस्थापक, शिक्षक तथा विद्यार्थी सबैले राम्रा, असल अभ्यासका नमुनाहरु अध्ययन, अवलोकन गरी आफ्नो विद्यालयलाई कसरी प्रभावकारी बनाउने भन्ने खोज गर्न शैक्षिक भ्रमण हुनुपर्ने,
- विद्यालयहरुले नियमित कक्षाकार्य, गृहकार्य दिने, जाँच गर्ने र कमजोर विद्यार्थी लक्षित थप पृष्ठपोषणका कार्यक्रमको सुनिश्चितता गर्ने,
- यातायात सुविधा सञ्चालन नगरेका विद्यालयहरुले बसको व्यवस्थापन गर्ने र गरेकाले राम्रो गुणस्तरीय सेवा दिनुपर्ने,
- विद्यालयहरुले खानेपानी, शौचालय, चमेना गृह व्यवस्थापन, खाजामा सुधार र सरसफाइमा पर्याप्त ध्यान दिनुपर्ने,
- विद्यालयहरुमा प्रयोगशाला, पुस्तकालय तथा सिकाइका साधन प्रोजेक्टरहरुको व्यवस्थापन र प्रयोग प्रभावकारी बनाउने,
सिकाइ तथा प्राप्तिमा शिक्षक, प्रधानाध्यापक तथा व्यवस्थापकबाट हासिल गरिएका केही अनुभूतिहरु
- विद्यालयमा उपयुक्त विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव र पुस्तकालय स्थापना हुनु र प्रयोगको सुनिश्चितता गर्नु मुख्य कुरा रहेछ ।
- समयको मागले अंग्रेजी माध्यममा पठनपाठन र विज्ञान प्रविधिमैत्री शिक्षण सिकाइ नगर्ने विद्यालय चलाउन र प्रतिस्पर्धी हुन कठिन हुँदै गएको छ ।
- विद्यालयहरुले आफैँ पनि सूचना प्रविधिको व्यवस्थापन र आवश्यक सिप हासिल गर्ने तथा राम्रा विद्यालयबाट सिकेर प्रतिस्पर्धी हुन नसकेमा आपप्नो अस्तित्वलाई जीवन्त बनाइ राख्न सम्भव देखिँदैन ।
- प्रत्येक विद्यालयहरुले प्र. अ. शिक्षकहरुको जोडबलमा मात्र विद्यालयले चाहेको नतिजा निकाल्न कठिन हुने सत्य बुझ्नु पर्दो रहेछ ।
- राम्रा अभ्यास गरेका सफल विद्यालयहरुबाट सिक्न वि.व्य.स. का पदाधिकारी, केही सचेत अभिभावक,शिक्षक तथा विद्यार्थीसमेतलाई शैक्षिक भ्रमण तथा सिकाइको अवसरमा सरिक गर्नुपर्ने रहेछ ।
- सामुदायिक तथा संस्थागत ( निजी) लगानीका विद्यालयबीचको दूरी वा खाडल घटाउने विविध कार्यक्रमहरु सञ्चालन गर्नु अति आवश्यक छ ।
- सामुदायिक तथा संस्थागत विद्यालयका बीचमा अनुभव आदान प्रदान गर्ने र सहयोगी पूरक संस्थाका रुपमा आपसी सम्बन्ध विकास गर्ने नीति राज्य तहबाटै ऐनकानुन तथा अभ्यासबाट नै लागु हुनुपर्ने रहेछ ।
- विद्यार्थीका आन्तरिक प्रतिभा प्रस्फुटन गर्न सहक्रियाकलाप तथा अतिरिक्त क्षेत्रका बहु क्रियाकलाप समयसापेक्ष हुनु मुख्य कुरा रहेछ ।
- अतिरिक्त कार्य अभ्यास तथा खेलकुद आदिका लागि छुट्टै शिक्षक व्यवस्थापन, खेलमैदान, खेल सामग्री तथा सिकाइ वातावरण निर्माण आदिमापनि समान ध्यान दिनुपर्ने अवस्था सबै विद्यालयहरुकालागि चुनौती रहेछ ।
- पाठ्यपुस्तकमा अभ्यासका पछाडि सबै विषयमा सिर्जनात्मक अभ्यासबाट दक्ष बनाउने भनिएपनि चिठी लेखन, बैठकका माइन्यूट लेखन,सभा समारोह विद्यार्थीबाट सञ्चालन जस्ता कार्यक्रमलाई आफ्नो छुट्टै विशेषता भन्ने विद्यालयहरुको अवस्था देखिनुले पाठ्यक्रमको उद्देश्यानुसार विद्यालयहरुलाई तयार पार्न अभिमुखीकरण, तालिम प्रशिक्षणबाट नसकिएको अनुभूति हुँदो रहेछ ।
- सडक दुर्घटना र द्राफिक सचेतता, समसामयिक विषयवस्तु वा चुनौतीका पक्षमा केन्द्रित गर्न विद्यार्थीहरुलाई समय समयमा हाजिरीजवाफ, समाचार वाचन र समस्या समाधानका अभ्यास जस्ता क्रियाकलापहरु पनि विद्यालयका लागि अति आवश्यक व्यावहारिक जीवनका सिकाइका आधार हुँदा रहेछन् ।
- विद्यालयहरुले समाजमा बढ्दो लागू पदार्थको दुव्र्यसन, जाँड रक्सी तथा जुँवा तास जस्ता सामाजिक विकृति विरुद्धका अभिभायन चाल्नु र अभिभावक जागरण शैक्षिक वातावरणका लागि मुख्य कुरा रहेछ ।
- अभिभावक सहमतिबाट बालबालिकाको सिकाइ तथा सामाजिक जीवनस्तरमा आएको परिवर्तनलाई विद्यालयहरुले मुख्य आधार बनाएर विश्वास स्थापित हुने प्रयासलाई पनि सफल अभ्यासमा लिँदा रहेछन् ।
- अनुशासनका लागि कठोर नियम र दण्डभन्दा सिसिटीभी जडान, इ–हाजिरी र जिम्मेवारी बाँडफाँडका साथ नेतृत्व र जवाफदेहिता मुख्य रहेछ भन्ने पनि बालबालिकाको अभ्यासबाट सिकेको गर्वसाथ भन्निदो रहेछ ।
- समुदाय, जनसमूह, जातजातिको सम्प्रदायगत अवस्था पहिचान गरी उनीहरुकै स्थानीय आवश्यकता अनुरुपको शिक्षा व्यवस्थापन विद्यालयका लागि मुख्य रहेछ ।
- देशका सबै भूगोल र क्षेत्र तथा समुदाय वा पेसागत विशेषता भएका स्थानमा एउटै विषयवस्तु र सिकाइमा समान गुणात्मकता खोज्दा विद्यालयको टाउँको दुखाइ हुँदो रहेछ, यसर्थ स्थानीय पाठ्यक्रम र जीवनपद्धतिको शिक्षा स्थानीय रुपमा समायोजन विद्यालयका लागि मुख्य कुरा हँुदो रहेछ ।
- सामुदायिक वा सार्वजनिक हितमा काम गर्दा जति सुकै निजी संस्थालाई व्यावसायिक रुपमा मार परेपनि सामुदायिक वा सार्वजनिक पदाधिकारीले आ –आफ्नो दायित्व निर्वाहमा कमी आउन नदिएमा वा निजी संस्थागत सञ्चालकसंग वैयक्तिक रिसराग होला भनी डराएर विचलित नभएमा सामुदायिक विद्यालयले राम्रो नतिजा दिने तथ्य सरोकारवाला स्वीकार्दा रहेछन् ।
- शिक्षक नियुक्ति व्यवस्थापन, सरुवा, बढुवाका कार्यतालिका निश्चित नहुँदा तथा जुनसुकै बेला शिक्षकहरुको फेरबदल कार्यले विद्यालयहरु धेरै मर्कामा पर्ने र पठनपाठन प्रभावित हुने तितो अनुभूतिको गुनासो पनि प्रधानाध्यापक र तथा व्यवस्थापकहरुको उच्च हुँदो रहेछ ।
- शिक्षक छनोट, योग्यता, विषय र विद्यार्थी सन्तुष्टि तथा उपलब्धिस्तर पहिचान गरी विद्यालयका लागि सिफारिस भएको शिक्षक पेसागत रुपमा उपयुक्त भए नभएको तथा स्वीकार्ने वा अस्वीकार्ने अधिकार प्र. अ. लाई हुँदा जवाफदेहिता बढी हुने र विद्यालय शैक्षिक पक्षमा सुध्रिने आशा पनि सरोकारवाला राख्दा रहेछन् ।
- प्रधानाध्यापकलाई दिइने भत्ता अतिन्यून, प्र. अ. नियुक्त गर्ने प्रक्रियामा कमजोरी वा वैज्ञानिकता नभएकाले कार्यसम्पादनमा समस्या देखिने गरेको पनि सरोकारवाला अनुभव गर्दा रहेछन् ।
- प्रधानाध्यापकको पदलाई छुट्टै तह कायम गर्ने र उनका सहयोगीका रुपमा लेखा व्यवस्थापक, कार्यालय सहायक, कार्यालय सहयोगी जस्ता पदको व्यवस्था गरेमा विद्यालय अभिलेख व्यवस्थापन प्रणाली र सम्पत्ति सुरक्षामा बल पुग्ने भनाइ राख्दा रहेछन् ।
- साँच्चै सामुृदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन विद्यालय व्यवस्थापन समिति नराख्ने तर प्र.अ. लाई व्यवस्थापकका रुपमा शिक्षक नियुक्ति र अवकासको सर्वाधिकार दिने पद्धति व्यवहारिक हुने अनुभव सरोकारवाला गर्दा रहेछन् ।
- प्र. अ. को नियुक्ति शैक्षिक योजना प्रस्ताव मूल्यांकनका आधारमा गर्ने, तोकिएको लक्ष्यभन्दा माथिको उपलब्धि नतिजा दिने र सिकाइमा सफल प्र.अ. लाई आकर्षक सेवासुविधा दिने तथा लक्ष्यमा नपुग्ने कमजोरहरुलाई नेतृत्वबाट हटाउने नीति प्रभावकारी हुने सुझाव सरोकारवाला गर्दा रहेछन् ।
निष्कर्ष :
कुनै पनि विद्यालयको शैक्षिक सफलता र विफलता समुदायको भूमिकामा निर्भर गर्दछ । शैक्षिक गुणात्मकता र उपलब्धि प्राप्तिमा समुदाय, सचेत अभिभावक, स्पष्ट शिक्षा नीति र नेतृत्वको ठूलो हात हुने गर्दछ । पेसागत रुपमा आफूले नेतृत्व गर्ने प्र.अ., आफू संलग्न अध्यापनरत शिक्षक र आफ्नो भविष्य जोडिएको पठनपाठनमा संलग्न विद्यार्थीहरु सबै उत्कृष्ट संस्थासित जोडिएर सन्तुष्टिको भण्डारको रुपमा विद्यालय विकास भएको देख्न चाहन्छन् । सामूहिक प्रतिवद्धता, पेसागत इमान्दारिता र पारदर्शिता भएको नेतृत्वबाट मात्र अपेक्षित नतिजा हासिल गर्न सकिन्छ । यसर्थ सरोकारवालाहरुबाट समस्या पहिचान, समाधानको पहल र निरन्तर आत्मसमीक्षा खांँचो छ । विद्यालयहरुले निरन्तर अन्तरक्रिया, प्राप्त सबलपक्षको संरक्षण, पृष्ठपोषण र कमजोरी न्यूनीकरणका प्रयासमा विविध विकल्प पहिचानकासाथ समुदायको विश्वास जित्नु अनिवार्य छ । संघीय, प्रान्तीय र स्थानीय तहको शिक्षा व्यवस्थापन र नेतृत्व विकासका आधारहरु पहिचान र कार्यान्वयन गर्दा विद्यालयका प्रधानाध्यापकहरुलाई आ–आफ्ना स्थानका आवश्यकता अनुरुप नेतृत्व गर्ने क्षमता विकासलाई प्राथमिकता राखी ऐनकानुनको निर्माण र कार्यान्वयन मुख्य हुन जान्छ ।
अनुसूची १ :
सहभागीहरु विद्यार्थीहरु ( ५८) जना
१. बढी प्रभावकारी प्रधानाध्यापक
२. गुणात्मक प्रतिस्पर्धाका लागि प्रधानाध्यापक नेतृत्व
३. शिक्षक विद्यार्थीलाई नियमित र अनुशासित बनाउन प्रधानाध्यापकका योजना तथा कार्यक्रम
४. सेवा सुविधा व्यवस्थापन र परिचालनमा प्रधानाध्यापक भूमिका
५. प्रधानाध्यापक तथा कार्य पुरस्कार
शिक्षकहरु (४९) जना
१. प्रधानाध्यापकका पेसागत नेतृत्व गुणहरु
२. प्रधानाध्यापकका पेसागत चुनौतीहरु
३. विद्यालयका सबलताहरु
४. विद्यालयका प्र.अ.का सुधारका पक्षहरु
प्रधानाध्यापकहरु (३२) जना
१. प्र.अ.का पेसागत गुणहरु
२. क्षमता अभिवृद्धिका आवश्यक तत्वहरु
३. शैक्षिक व्यवस्थापन सुधारका असल कामहरु
४. शैक्षिक व्यवस्थापनमा भोग्नु परेका समस्याहरु
५. योग्य प्रधानाध्यापक हुन आधारभूत वातावरण वा अधिकार
अनुसूची २ : अध्ययनका सहभागी विद्यालयको विवरण
१. मिति २०७३ / ०८ / ३० मा श्री पोलारिस बोर्डिङ हाईस्कुल मजुवा , गुल्मी ।
२. मिति २०७३ /०९ / ०४ मा श्री ज्ञानोदय उमावि तुराङ् मजुवा , गुल्मी ।
३. मिति २०७३ / १० / ४ श्री कान्ति उमावि बुटवल ।
४. मिति २०७३ / १० /५ श्री कालिका उमावि बुटवल ।
५. मिति २०७३ / १० / ६ श्री न्यू होराइजन उमावि बुटवल ।
६. मिति २०७३ / १० / ७ श्री नवीन औद्यागिक कदरबहादुर रीतारायमाझी उमावि बुटवल ।
७. मिति २०७३ / १० / ३ गते शैताके पाल्पाका प्रधानाध्यापक तालिममा सहभागी २२ जनाका विचारहरु
८. मिति २०७३ आश्विन शैताके नुवाकोटमार्फत् त्रिशुली मावि तथा अन्य कुनै संस्थागत विद्यालय नुवाकोट ।
९. मिति २०७३ आश्विन शैताके तनहुँ मार्फत् सत्यवती मावि र शान्तिवर्ष अंग्रेजी मावि दमौली तनहुँ ।
पोखरेल शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमीका उपनिर्देशक हुन् ।

कक्षा १० को गणित विषय अन्तरगत
लस र मस विषयवस्तु शिक्षण सिकाइमा समस्या
कार्यमूलक अनुसन्धान प्रतिवेदन
१. पृष्ठभूमिः
गणित तर्क , सोचाइ,
समालोचनात्मक चिन्तनमा आधारित विषय हो । त्यसैले यो विषय शिक्षण गर्दा विद्यार्थीहरुमा तर्क गर्ने, सोच्ने,
समालोचनात्मक चिन्तन गर्ने,
अभ्यास गर्ने अवसरहरु प्रशस्त मात्रामा प्रदान गरिनुपर्दछ । गणितमा कतिपय विषयवस्तुहरु ठ्याक्कै व्यवहारमा प्रयोगमा नआउने तर दिनहुँजसो अमुर्त रुपमा त्यसको स्थान र अस्तित्व रहिरहने खालका हुन्छन् । त्यस्ता विषयवस्तुहरुमध्ये विजगणित पनि एक हो । विजगणितमा अमूर्त क्रियाहरुको प्रयोग बढी भएकाले पनि यो विषयवस्तु शिक्षण गर्दा समालोचनात्मक चिन्तनको अझ बढी आवश्यकता पर्दछ । तर्क गर्ने,
सोच्ने , अमूर्त क्रियाहरुलाई मूर्त रुप दिई बुझ्ने क्षमताको विकास हुन नसक्दा विद्यार्थीहरुलाई गणितका विषयवस्तुहरु मध्येमा सबैभन्दा कठिन विजगणित नै हुने गर्दछ । त्यस्तै विजगणितका अमूर्त क्रियाहरुलाई मूर्त रुपसँग तुलना गरी विद्यार्थीहरुमा धारणा दिन शिक्षकलाई पनि हम्मेहम्मे पर्न जान्छ । भावनात्मकतालाई ठोस बनाउने काम मनोवैज्ञानिक पनि छ त्यसैले पनि विजगणित शिक्षणमा शिक्षक अनि विद्यार्थीहरुले बढी समय र श्रम खर्चिनुपर्ने हुन्छ । तल्ला कक्षाहरुदेखि नै विजगणितका धारणाहरु स्पष्ट नहुँदा विद्यार्थीहरुका लागि माथिल्लो कक्षामा यसको शिक्षण सिकाइ फलाममा च्युरा चपाएजस्तै हुन्छ । यसो भनेर माथिल्ला कक्षाहरुका शिक्षकहरुले प्रयास गर्दै नगर्ने भन्ने हुनुहुँदैन । विषयवस्तुसम्बन्धी विद्यार्थीहरुको धारणा पहिचान गर्ने र विभिन्न उपायहरुबाट उनीहरुको धारणालाई बलियो बनाउने प्रयत्न गरिरहनुपर्छ । जुन धारणाले उसलाई जटिल विषयवस्तुको सिकाइमा महत्वपूर्ण सहयोग गर्न सकोस् । यसर्थ शिक्षकले त हरसमय अनुसन्धानात्मक कार्यबाट शिक्षणसिकाइमा देखिएका समस्याहरुको समाधान निकाली प्रयोग गर्नुपर्ने हुन्छ । यसै सन्दर्भमा कक्षा १० को विजगणित विषयवस्तुको मस र लस पाठमा आधारित रहेर सो पाठको शिक्षण सिकाइका समस्याहरुको निराकरण गरी विद्यार्थीमा मस र लसको सिकाइ उपलब्धि अभिवृद्धि गर्नका लागि एक कार्यमूलक अनुसन्धान गरी यो प्रतिवेदन तयार गरिएको छ ।
२. समस्याको कथनः
कक्षा १० को विजगणित अन्तरगत मस र लस विषयवस्तु शिक्षण गर्दा धेरैजसो विद्यार्थीहरु अलमलमा पर्नु , शिक्षण सिकाइ क्रियाकलापपश्चात् मूल्याङ्कनका लागि दिइएको समस्याको समाधान धेरैजसो विद्यार्थीहरुले गर्न नसक्नु, विजीय अभिव्यञ्जकको अर्थ र प्रकार बताउन नसक्नु , खण्डीकरण गर्ने तरिकाहरुमा स्पष्ट नहुनु जस्ता समस्याहरु यस अनुसन्धानका आधार बनेका छन् । त्यसैगरी मस र लस शिक्षणमा विद्यार्थीहरुले ध्यान नदिनु , वीजगणितीय पदावली र सङ्केतहरु लेखनमा शुद्धता नहुनु जस्ता समस्याहरु पनि यस अनुसन्धानका आधार बनेका छन् । शिक्षण गर्दाको अवस्थामा विद्यार्थीहरुले बुझेको प्रतिक्रिया दिनु तर परीक्षा तथा मूल्याङ्कनमा सिकाइ उपलब्धि कम देखिने समस्या पनि एक जटिल समस्या हो ।
३. अनुसन्धानको उद्देश्यः
(क) कक्षा १० का विद्यार्थीहरुको मस र लस सम्बन्धी शिक्षणसिकाइमा देखिएका वास्तविक समस्याहरु
पत्ता लगाउने ।
(ख) समस्याहरुको समाधानका उपायहरु खोजी विद्यार्थीहरुको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने ।
४. समस्याका सम्भावित कारणहरुः
वीजगणितीय अभिव्यञ्जकहरुको मस तथा लस शिक्षण सिकाइमा देखिएका समस्याका निम्न सम्भावित कारणहरु रहेका छन् ।
(क) विद्यार्थीहरुमा मस र लस सिकाइका लागि आवश्यक आधारभूत धारणाहरु नहुनु ।
(अ) विद्यार्थीहरुले विभिन्न स्वरुपका अभिव्यञ्जकहरुको पहिचान गर्न नसक्नु ।
(आ) विद्यार्थीहरु अभिव्यञ्जकहरुको खण्डीकरण कसरी गर्ने भन्ने कुरामा अलमलिनु ।
(इ) विद्यार्थीहरुमा गुणनखण्ड,
साझा गुणनखण्डको धारणा स्पष्ट नहुनु ।
(ई) विद्यार्थीमा मस र लसको परिभाषासम्बन्धी ज्ञानको अभाव हुनु ।
(ख) विद्यार्थीहरुमा प्रशस्त मात्रामा अभ्यासको कमी हुनु ।
(ग) शिक्षण सिकाइ प्रक्रियामा विद्यार्थीहरुको सक्रिय सहभागिता नहुनु ।
(घ) तल्ला कक्षाहरुमा विजगणितको पठनपाठन राम्रो नहुनु ।
(ङ) विजगणितलाई व्यावहारिकतासँग जोडेर शिक्षण गर्न नसकिनु ।
५. समस्या समाधानका सम्भावित विकल्पहरुः
यस अनुसन्धानका लागि लिइएको समस्या समाधानका सम्भावित विकल्पहरु निम्न अनुसार रहेका छन् ।
(क) व्यक्तिगत तथा सामूहिक सिकाइमा जोड दिने ।
(ख) विद्यार्थीलाई समस्याको पहिचान गर्न लगाई समाधानका उपायहरु खोज्न लगाउने ।
(ग) शिक्षण सिकाइ प्रक्रियामा विद्यार्थीहरुको सक्रिय सहभागिताका लागि उत्प्रेरणाका विभिन्न उपायहरु
अवलम्बन गर्ने ।
(घ) अतिरिक्त समय र पाठ्यभारको व्यवस्था गरी मस र लसका लागि आवश्यक धारणाहरुको निर्माण
गर्ने । जस्तैः मस लसको परिचय ,
अङ्कगणितका संख्याहरुको लस मस सम्बन्धी धारणा, विभिन्न
स्वरुपका विजगणीतीय अभिव्यञ्जकसम्बन्धी धारणा र खण्डीकरण , मस र लस निकाल्ने तरिका
आदि ।
(ङ) अभ्यासका प्रशस्त अवसरहरु प्रदान गर्ने ।
(च) समालोचनात्मक सीप सिकाइका विधिहरु अवलम्बन गर्ने ।
(छ) क्रमबद्ध सिकाइमा जोड दिने ।
६. विकल्पको प्राथमिकता क्रमः
(क) अतिरिक्त समयको व्यवस्था गरी योजनाबद्ध रुपमा मस र लसका लागि आवश्यक धारणाहरुको निर्माण गर्ने । जस्तैः मस लसको परिचय , अङ्कगणितका संख्याहरुको लस मस सम्बन्धी धारणा, विभिन्न स्वरुपका विजगणीतीय अभिव्यञ्जकसम्बन्धी धारणा र खण्डीकरण , मस र लस निकाल्ने तरिका ।
(ख) समालोचनात्मक सीप सिकाइका विधिहरु अवलम्बन गर्ने ।
(ग) अभ्यासका प्रशस्त अवसरहरु प्रदान गर्ने ।
८. तथ्याङ्क प्रस्तुतिकरण र विश्लेषण
अनुसन्धानका लागि तयार गरिएका साधनहरु र ती साधनहरुबाट प्राप्त तथ्याङ्क तथा सूचनाहरुलाई निम्नानुसार परिमाणात्मक र गुणात्मक प्रस्तुतीकरण तथा विश्लेषण गरिएको छ ।
(क) प्रश्नपत्र
मस तथा लसको नियमित शिक्षण सिकाइ क्रियाकलाप पश्चात कक्षा १० का ४० जना विद्यार्थीहरुलाई विशेष गरी विजगणितीय अभिव्यञ्जकहरुको मस तथा लस विषयवस्तुमा केन्द्रित रहेर २० पूर्णाङ्कको १० वटा फरक फरक प्रश्नहरु बनाईसमाधान गर्न दिइएको थियो । जसबाट प्राप्त उपलब्धिलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
माथिको चार्टबाट के देखिन्छ भने ४० जना विद्यार्थीहरुमध्ये सबैभन्दा बढी ७ अङ्क प्राप्त गर्ने विद्यार्थी संंख्या ५ रहेको छ त्यस्तै ५ जनाले ६ अङ्क प्राप्त गरेका छन् भने सबैभन्दा कम २ अङ्क प्राप्त गर्ने सबैभनदा बढी विद्यार्थी संख्या १४ देखिएको छ । यसबाट के भन्न सकिन्छ भने विद्यार्थीहरुको मस र लससम्बन्धी उपलब्धि ज्यादै न्युन रहेको छ ।
(ख) प्रश्नावली
कक्षा १० मा अध्ययन गर्ने सबै विद्यार्थीहरुलाई प्रश्नावलीमार्फत विभिन्न प्रश्नहरु सोधिएको थियो । जसबाट विद्यार्थीहरुमा निम्न समस्याहरु रहेको देखियो ।
 विद्यार्थीहरुले विभिन्न स्वरुपका अभिव्यञ्जकहरुको पहिचान गर्न नसक्नु ।
 विद्यार्थीहरु अभिव्यञ्जकहरुको खण्डीकरण कसरी गर्ने भन्ने कुरामा अलमलिनु ।
 विद्यार्थीहरुमा गुणनखण्ड, साझा गुणनखण्डको धारणा स्पष्ट नहुनु ।
 विद्यार्थीमा मस र लसको परिभाषासम्बन्धी ज्ञानको अभाव हुनु ।
 विद्यार्थीहरुले साना कक्षामा प्रशस्त मात्रामा अभ्यासको अवसर नपाउनु ।
 तल्ला कक्षाहरुमा विजगणितको पठनपाठन राम्रो नहुनु ।
 विजगणितलाई व्यावहारिकतासँग जोडेर शिक्षण गर्न नसकिनु ।
(ग) छलफल
विद्यार्थीहरुको निमावि तहमा विजगणित सम्बन्धी सिकाइ उपलब्धि, पठनपाठनको अवस्था बुझ्न निमावि तहमा शिक्षण गर्ने शिक्षकसँग प्रत्यक्ष रुपमा छलफल गरिएको थियो । सो छलफलबाट निमावि तहको परीक्षामा धेरैजसो विद्यार्थीहरुले विजगणितमा राम्रो गरेको, कक्षाकोठामा शिक्षण गर्दा समेत बुझेको प्रतिक्रिया दिएको पाइयो । तथापि मावि तहमा आइपुग्दा विजगणितीय धारणामा कमजोर रहनुमा पहिलो त अर्थपूर्ण सिकाइ नहुनु र दोस्रो विद्यार्थीहरुले प्रशस्त मात्रामा अभ्यास नगर्ने गरेको समस्या देखियो ।
९. योजना निर्माणः
यस अनुसन्धानबाट प्राप्त भएको समस्याहरुको समाधान गरी विद्यार्थीहरुमा मस तथा लसको धारणा निर्माण गरी यस विषयवस्तुलाई दीर्घकालीन र स्थायी बनाई उनीहरुको सिकाइ उपलब्धि अभिवृद्धि गर्न निम्नानुसार दुई हप्ते योजना निर्माण गरिएको थियो ।
समालोचनात्मक सीप सिकाइका विधिहरु अवलम्बन गर्दै मस र लसका लागि आवश्यकधारणाहरुको निर्माण गर्ने । जस्तैः मस लसको परिचय, अङ्कगणितका संख्याहरुको
लस मस सम्बन्धी धारणा, विभिन्न स्वरुपका विजगणीतीय अभिव्यञ्जकसम्बन्धी धारणा र खण्डीकरण, मस र लस निकाल्ने तरिका आदि । (एक हप्ता)
विद्यार्थीहरुको समूह निर्माण गरी छलफल र समस्या समाधन विधिबाट विद्यार्थीहरुलाई प्रशस्त मात्रामा अभ्यासको अवसर दिई मस र लस शिक्षण गर्ने (एक हप्ता)
१०. कार्यान्वयनः
विद्यालय प्रशासनसँगको समन्वयमा अतिरिक्त दुई हप्तामा १४ पिरियडको व्यवस्था गरी एक हप्तासम्म समालोचनात्मक सीप सिकाइका विधिहरुको प्रयोग गरी मस तथा लसका लागि आवश्यक आधारभूत धारणाहरु शिक्षण गरियो । समालोचनात्मक सीप सिकाइ अन्तरगत मस्तिष्क मन्थन, द्रुत लेखन, त्एक्, जानेको÷जान्न चाहेको÷सिकेको, एउटा दिने—एउटा लिने जस्ता सीपसिकाइका विधिहरुको प्रयोग गरियो । त्यस्तै विद्यार्थीहरुलाई विभिन्न चरणमा जान्ने—जान्ने, जान्ने—नजान्ने, नजान्ने—नजान्ने समूहमा विभाजन गरी छलफल गराउँदै समस्या समाधान गर्न लगाइयो ।
११. अवलोकनः
योजना कार्यान्वयनको चरणमा नियमित अवलोकनलाई प्राथमिकता दिइयो भने निमावि तहका शिक्षक एवम् विद्यालयका प्राचार्यलाई अवलोकनका लागि अनुरोध गरियो । उहाँहरुबाट समेत समय समयमा योजना कार्यान्वयनको अवलोकन गर्ने काम भयो । त्यस्तै समूह कार्यमा एउटा समूहबाट अर्को समूहको अवलोकन गर्ने व्यवस्था मिलाइयो । प्राचार्य तथा शिक्षकबाट अवलोकनपश्चात् प्राप्त भएको पृष्ठपोषणलाई तत्काल कार्यान्वयन गर्दै लगियो ।
१२. प्रतिविम्बनः
कक्षा १० को विजगणित अन्तरगत मस र लसको शिक्षण सिकाइमा देखिएका विभिन्न समस्याहरु पत्ता लगाई ती समस्याहरुको समाधानका लागि निर्माण गरिएको योजना कार्यान्वयन गर्दा विद्यार्थीहरुमा दुई किसिमबाट प्रतिविम्वन भएको पाइयो ।
(क)योजना कार्यान्वयनको चरणमा विद्यार्थीहरुमा देखिएको उत्सुकता, छलफलमा सक्रिय सहभागिता,
जिज्ञासाले उनीहरुमा विजगणितीय धारणाहरुको पुनःस्मरण एवम् नयाँ सिकाइ भएको पाइयो ।
जस्तैः विभिन्न स्वरुपका अभिव्यञ्जकहरुको पहिचान तथा तिनको खण्डीकरण, मस तथा लसको
धारणा र प्रयोग आदि ।
(ख) योजना कार्यान्वयनको समाप्तिपश्चात मस र लस का विभिन्न प्रश्नहरु निर्माण गरी लिइएको एकाइ परीक्षामा असी प्रतिशत विद्यार्थीहरुले शतप्रतिशत समस्याको समाधान गरेको पाइयो भने बाँकी
बीस प्रतिशत विद्यार्थीहरुले असी प्रतिशत समस्याहरुको समाधान गरेको पाइयो ।
१३. पुनः योजना
योजना कार्यान्वयनको समाप्तिपश्चात मस र लस का विभिन्न प्रश्नहरु निर्माण गरी लिइएको एकाइ परीक्षामा असी प्रतिशत विद्यार्थीहरुले शतप्रतिशत समस्याको समाधान गरेको पाइयो भने बाँकी बीस प्रतिशत विद्यार्थीहरुको सिकाइमा अझै पनि समस्या देखिएकाले सोको समाधानका लागि पुनःयोजना निर्माण गरी प्रतिविम्वन गर्नुपर्ने देखियो ।
लेखक, देवीप्रसाद शर्मा, पौलस्त्य मावि, म्याग्दीका गणित शिक्षक तथा शैक्षिक उपन्यास 'धुमील आकाश'का लेखक हुनुहुन्छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...