गजल
धन हुनेले खसी काटछन नहुनेले फर्सी ।
बरु फर्सी माथि लगाउ त्यहि खसीको जर्सी ।।
खसी ढालें भन्दै किन फेसबुकका भित्ता भर्छौ ।
अख्तियारले भेट्छ कि भनि हिड़ेका छौ तर्सी ।
अस्ति सम्म तिमी र म उस्तै उस्तै थियौं ।
रातारात धनी बन्यौ एक्कासी धन बर्सि ।।
हुने खाने भएं भन्दै हेला गर्नु हुन्न ।
गरीबको पनि पालो आउला भोलि पर्सी ।।
गजल
आफ्नोले आफ्नैलाई जब छलाउन खोजेपछि ।
हृदयमा आगोको ज्वाला बलाउन खोजेपछि ।।
आतंककारीले कहिल्यै ढाल्न नसकेको शीर ।
आफन्तकारी भन्नेहरुले ढलाउन खोजेपछि ।।
मरे पछि मृत्यु शैयामा जल्नु त स्वभाबिकै हो ।
जीवन शैयामा जबर्जस्ती जलाउन खोजेपछि ।।
मुर्दा पनि जुर्मूराउंदै उठेर दौडन थाल्दछ यहाँ ।
अपमान अनि तिरस्कारले चलाउन थालेपछी ।।
अति कोमल ठानिएको मन मुटु कठोर बन्छ ।
जिस्काएरै जब त्यसलाई गलाउन खोजेपछि ।।
अमृतको बोट देखाएर जहर रुपि फलहरु ।
झुक्याएर मेरै बगैचामा फलाउन खोजेपछि ।।
जरै देखि उखेलेर नफ्याकी नहुने भयो अब ।
बोटैभरि नानाथरि ऐजेरु पलाउन खोजेपछि ।।
भुमिराज शर्मा
पर्बत
२०७४/०६/०१