गजल
असारे यो झरीसँगै रुझ्नुको मज्जा बेग्लै ।
प्रकृतिका रुप सँगै जुध्नुको मज्जा बेग्लै ।।
यता म भिझ्दा उता उन्लाई जाडो भयो रे ।
सुटुक्क त्यो इशारा बुझ्नुको मज्जा बेग्लै ।।
धाउनु छैन बर माग्दै मठ अनि मन्दिरहरु ।
दिलको देउता भनि पुज्नुको मज्जा बेग्लै ।।
ख्याल ख्यालमै ठाक्कठुक्क पर्न थालेपछि ।
घुर्क्याउंदै माइततिर कुद्नुको मज्जा बेग्लै ।।
सुख दुःख, हाँसो खुशी पीर व्यथा सँगालेर ।
आखिरीमा गन्तव्यमा पुग्नुको मज्जा बेग्लै ।।
२०७४/०३/१४