नवलपरासी, चैत १४ – नेकपा माओवादी निकटको अखिल क्रान्तिकारीले नवलपरासीका ६० वटा निजी विद्यालय अनुमति विना चलेको भन्दै तत्काल बन्द गर्न माग गरेको छ ।
पुरै अनुमति नलिएका ३३ र विद्यालय सञ्चालन अनुमति लिएका तर माथिल्लो कक्षा विना अनुमति सञ्चालन गरेका २७ विद्यालय नयाँ शैक्षिक सत्र देखि बन्द गर्न अखिल क्रान्तिकारीले माग गरेको हो ।
गएको बर्ष देखि जिल्ला शिक्षा कार्यालय नवलपरासीले त्यस्ता विद्यालयका हकमा कारबाहीका लागि सूचना निकाल्ने देखि कर्मचारी खटाएर प्रतिवेदन पेश गर्न लगाएको भएपनि ‘अवैध’ नीजि विद्यालय बन्द नभएकोले आन्दोलनमा उत्रिएको क्रान्तिकारीका अध्यक्ष अशोक ज्ञवालीले बताउनु भयो ।
गाविसबाट पुर्व प्राथमिक विद्यालय सञ्चालन अनुमति लिएका विद्यालयहरु जिल्ला शिक्षा कार्यालयको रेकर्डमा नभएकाले समस्या भएको नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नवलपरासीका सल्लाहकार दीपक लम्सालले बताउनु भयो । जिल्लामा प्याब्सन आबद्ध एक सय ७० विद्यालय छन् ।