भूमिराज शर्मा
चैत २९, पर्वत
जिल्लाको देउपुर गाविसको पातिचौरमा रहेको देउपुर नमुना आवासीय माविको छैटौं बार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम एक समारोहकाबीच बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय पर्वतका उपसचिव कुस्मराज उपाध्यायले स्थापनाको छोटो अवधिमा पनि विद्यालयले जिल्लाको शैक्षिक गुणस्तर विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो ।
विद्यालयका प्रिन्सपल बलराम शर्माले विद्यालयको बार्षिक प्रगति विवरण तथा भावी योजना प्रस्तुत गर्दै प्राविधिमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय कटिबद्ध रहेको बताउनु भयो । उहाँले जिल्लास्तरीय विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएर विद्यार्थीहरुले विद्यालयको शैक्षिक गुणस्तरको राम्रो परिचय दिएको विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्याव्सनका केनद्रीय सदस्य यम प्रसाद शर्मा, रेडियो शालिग्रामका अध्यक्ष हरि न्यौपाने, जन आदर्श आवासीय विद्यालयका प्रिन्सिपल गोविन्द केसी, भूतपूर्व विद्यार्थी कैलाश तिमिल्सिना लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा विद्यालयको बार्षिक परीक्षा र अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट स्थान हासील गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । साथै कार्यक्रममा विद्यालयले २०६८ सालको एसएलसी व्याचमा उत्तीर्ण भई विरगञ्ज नर्सिङ क्याम्पसमा पूर्ण छात्रबृत्ती प्राप्त गर्न सफल छात्रा बबिता गौतम, विरेन्द्र सैनिक आवासीय विद्यालयमा छात्रवृत्ती प्राप्त गरी अध्ययन गरिरहेका विद्यार्थी किर्तन कुँवरलाई पुरस्कृत गरेको थियो ।
विद्यालयका सल्लाहकार एवं पूर्व जिविस सभापति देवेन्द्र विक्रम महतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक भोलाराज सुवेदी र विद्यार्थी सागर हमालले गर्नु भएको थियो भने स्वागत शिक्षक नारायण शर्मा, विद्यार्थी विनिता केसी र विसान पुनले गर्नु भएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक झलकहरु समेत प्रस्तुत गरेका थिए ।