भक्तपुर, साउन १० गते । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले एसएलसीको पूरक परीक्षा सञ्चालनको सबै आवश्यक तयारी पूरा गरेको छ ।
गत चैत १ देखि ९ गतेसम्म सञ्चालन भएको एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रूपमा पूरक परीक्षा यही साउन २० गतेदेखि सुरु हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिनुभयो ।
यस वर्ष सबैभन्दा बढी विज्ञान विषयमा ५५ हजार, गणितमा ५० हजार र अङ्ग्रेजीमा ३१ हजार विद्यार्थी अनुत्तीर्ण भएका थिए । साउन २७ गतेसम्म सञ्चालन हुने परीक्षामा मुलुकभरबाट एक लाख ११ हजार परीक्षार्थी सहभागी हुने छन् । परीक्षाका लागि मुलुकभर २३६ परीक्षा केन्द्र निर्धारण गरिएको तथा एक केन्द्रमा एक जना केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र २५ जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाइने उहाँले बताउनुभयो ।