काठमाडौँ,भदौ १४ गते । अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गर्दै आज मुलुकभरिका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरिएको छ ।
अस्थायी शिक्षक सङ्घर्ष समिति–२०६९ को अगुवाइमा शिक्षा मन्त्रालय, शिक्षक सेवा आयोगले गत वर्ष पुस २० गते २०६३ वैशाख १० सम्मका दरबन्दी यथावत् राखी सोपछिका दरबन्दीमा मात्र खुल्ला गर्ने भन्ने विज्ञापनले अस्थायी शिक्षकलाई विस्थापन गर्न लागिएको भन्दै अस्थायी शिक्षकले मुलुकभरिका जिल्ला शिक्षा कार्यालयमा धर्नासमेत दिइरहेका छन् । अस्थायी शिक्षकले सरकारले आफूहरुलाई समान प्रक्रियाबाट स्थायी गर्नुपर्ने र शिक्षकबीचको विभेद हटाउनुपर्ने लगायत मागसमेत राखेका छन् ।
समितिका अध्यक्ष रामचन्द्र अधिकारीले कुनै पनि शिक्षक विस्थापित नहुने गरी समान आन्तरिक प्रक्रियाको सुनिश्चितता नभएसम्म आफूहरुले निरन्तर आन्दोलन गरिरहने बताउनुभयो । उहाँले भन्नुभयो,–“आज उपत्यकाभित्रका केही विद्यालयबाहेक मुलुकभरिका सम्पूर्ण विद्यालय बन्द गरिएको छ, यदि हाम्रा जायज माग पूरा नभए अझै कडा आन्दोलनमा उत्रने छौँ ।” रासस