भदौ ११ – विश्वविद्यालय भर्नाका लागि लिइएको प्रवेश परीक्षामा सबै फेल भएको सुन्दा पत्याउन गाह्रो पर्ला ।
तर यस्तै भएको छ, अफ्रिकी मुलुक लाइबेरियाको सरकारी विश्वविद्यालय युनिभर्सिटी अफ लाइबेरियामा । नयाँ शैक्षिक सत्रका लागि लिइएको प्रवेश परीक्षामा झण्डै २५ हजार विद्यार्थी सहभागी भएका थिए, तर पास भने एक जना पनि भएनन् ।
परीक्षामा सहभागी भएका विद्यार्थीमा अँग्रेजीको आधारभूत ज्ञान र उच्च शिक्षा सम्बन्धि कुनै उत्साह समेत नभएको पाइएको विश्व विद्यालयका एक अधिकारीले बताएका छन् । विद्यार्थीहरुले भने परीक्षाको नतिजा अपत्यारिलो रहेको भन्दै यसले आफूहरुको सपना चकनाचुर रहेको बताएका छन् ।
लाइबेरियामा धेरैजसो विद्यालयमा आधारभूत शैक्षिक सामाग्रीको अभाव रहेको छ भने धेरैजसो शिक्षकहरु कम शैक्षिक योग्यता भएका छन् । तर एउटै परिक्षामा सहभागी सबै विद्यार्थी अनुत्तीर्ण भएको भने पहिलो पल्ट हो ।
जसका कारण आउँदो महिना सुरु हुने उच्च शिक्षाको पहिलो वर्षका लागि विद्यालयले एउटा पनि विद्यार्थी नपाउने भएको छ । लाइबेरियाका शिक्षा मन्त्री इत्मोनिया डेभिड तारपेहले एकै जना पनि विद्यार्थीले प्रवेश परीक्षा उत्तिर्ण गर्न नसकेको पत्याउनै कठिन भएको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो ‘मलाई थाहा छ विद्यालय शिक्षामा पर्याप्त कमजोरी छन् । तर परीक्षामा सहभागी भएको एउटा ठूलो समूहमा एउटा पनि विद्यार्थी उत्तीर्ण नभएकोमा मलाई शंका लागेको छ । यो एउटा सामूहिक हत्या जस्तै हो ।’
विश्व विद्यालयका प्रवक्ता मोमोदु गेटावेहले विश्वविद्यालय आफ्नो निर्णयमा अडिग रहेको भन्दै कसैको भावनाका कारण आफ्नो निर्णयबाट बिचलित नहुने बताउनुभयो । विद्यार्थीहरुमा अंग्रेजी भाषाको ज्ञान नभएकाले सरकारले यसबारेमा केही गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रवक्ता गेटावेहले भन्नुभयो ‘देशको युद्ध १० वर्ष अघि नै सकियो, त्यसलाई पछाडी नै छोड्नुपर्छ र यथार्थपरक बन्नुपर्छ ।’
एजेन्सीको सहयोगमा
-source: http://ujyaaloonline.com