सोल, भाद्र २६ - शिक्षा मन्त्री माधवप्रसाद पौडेल र दक्षिण कोरियाका शिक्षा मन्त्री स नाम सुबीच नेपालको शिक्षा विकासका सन्दर्भमा दुई पक्षीय वार्ता सम्पन्न भएको छ । कोरियाको शिक्षा मन्त्रलयमा बुधबार भएको दुई पक्षीय बार्तामा दक्षिण कोरियाले नेपालको विकासमा हालसम्म गरेको सहयोगको आभार व्यक्त गर्द मन्त्री पौडेलले दक्षिण कोरियाको सहयोगमा बुटवलमा सञ्चालित पोलिटेक्निक इन्स्टिच्यूट जस्तै नेपालको अन्य चार विकास क्षेत्रमा पनि पोलिटेक्निक इन्स्टिच्यूट सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
शिक्षा तथा सूचना प्रविधिको बिकास र प्रयोगमा दक्षिण कोरियाले गरेको प्रगतिको प्रशंसा गर्दै मन्त्री पौडेलले यी क्षेत्रमा समेत दक्षिण कोरियाबाट नेपालले सहयोगको अपेक्षा गरेको कुरामा जोड दिएका थिए । भियतनाम, इण्डोनेशियामा जस्तै कोरिया र नेपालबिच पनि संयुक्त शिक्षा समिति गठनका लागि प्रस्ताव गरेका थिए । दक्षिण कोरियाका शिक्षा मन्त्री स नाम सुले पौडको प्रस्तावलाई सकारात्मक भएको उल्लेख गर्दै कार्यगत तहमा समिति गठन गरी अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरेका थिए । मन्त्री नाम सुले दक्षिण कोरियामा पढ्ने नेपाली विद्यार्थीको संख्या बृद्धि भइरहेको र धेरै नेपाली कामदारले काम गरिरहेको बताए ।
दक्षिण कोरियाका अन्र्तराष्ट्रिय सहयोग नियोगका महानिर्देशक योङ सुन काङ र दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाको उपस्थिति रहेको सो वार्तामा मन्त्री पौडेलले मन्त्री नाम सुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए । जवाफमा मन्त्री नामसुले कुटनीतिक अनुकुलता मिलाएर नेपाल भ्रमण गर्ने बताएका थिए । आज भएको दुई पक्षीय वार्तालाई कार्यन्वयन गर्न मन्त्रीद्धयबिच दुई देशका शिक्षा मन्त्रालयहरू र राजदूतबासहरुलाई भूमिका निर्वाह गराउने समझदारी भएको थियो ।
सोलमा मंगलबारबाट शुरु भएको प्रारम्भिक बाल विकास सम्बन्धी एशिया प्रशान्त क्षेत्रीय रणनीति सभामा ग लिन आइतबार कोरिया आएका मन्त्री पौडेलले नेपालका तर्फबाट आजै मानव संशाधन तथा आर्थिक विकासका लागि प्रारम्भिक बाल विकासमा लगानी विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । एशिया प्रशान्तका शिक्षा मन्त्रीहरु सहित २ सय प्रतिनीधिको सहभागिता रहेको सो सभामा मन्त्री पौडेलले १५ मिनेटसम्म नेपालको कन्ट्री प्रोफाईल प्रस्तुत गर्दै नेपालको वर्तमान अवस्था, असल अभ्यास, विद्यमान चुनौति र भावी कार्य दिशावारेमा प्रकाश पारेका थिए । जापानको शिक्षा तथा संस्कृति मन्त्रलय सहित ७ अन्र्तराष्ट्रिय संस्थाले आयोजना गरेको सम्मेलन भोलिसम्म संचालन हुनेछ ।