धादिङ, असोज १४ - सदरमुकाम धादिङबेसीवाट शिक्षकहरुको तलव भत्ता र बिद्यालयको खर्च लिएर त्रिपुरेश्वर गाविसको खहरेतर्फ जांदै गरेका अचने उच्च मावि खहरेका प्रधानाध्यापक रविदत्त सापकोटा नकावधारी समुहवाट लुटिनुभएको छ । धादिङबेसी सल्यानटार सडक खण्डमा पर्ने ज्यामरुङ गाविसको भकारेवाट शिक्षक सापकोटालाई नकाव लगाएका पाँचजना युवाले नियन्त्रण परेर लुटपाट गरेको एकीकृत नेकपा माओवादीका जिल्ला नेता रामवहादुर भण्डारीले वताउनुभयो ।
दशैंका लागि शिक्षकहरुको तलव र पेश्की गरी करिब १६ लाख रुपैयाँ नगद लिएर बिद्यालयतर्फ जांदै गरेका शिक्षक सापकोटालाई आइतबार बेलुकी नकावधारी समूहले लुटेको हो । सापकोटा चढेको मोटरसाइकल नियन्त्रणमा लिई उहाँसँग रहेको झोला खोसेर उहाँलाई ढुङ्गाले हिर्काएर घाइते बनाएका थिए । घाइते अवस्थामा रहेका सापकोटालाई स्थानीयबासिन्दाले भेटेर सल्यानटारस्थित स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि लगेका थिए । सापकोटा त्रिपुरेश्वर उच्च मावि खहरेका प्रधानाध्यापक र नेत्रावती सामुदायिक क्याम्पसका प्रमुख समेत हुन् ।