काठमाडौ, ९ असोज । शिक्षक सेवा आयोगको परीक्षाको अनुभवका आधारमा अंक बढाउनुपर्छ भन्ने माग राख्दै आन्दोलन गरिरहेको राहत शिक्षक केन्द्रीय संघर्ष समिति र शिक्षा विभागबीच सहमति भएको छ । मंगलबार शिक्षा विभाग र समितिबीच भएको छलफलमा आयोगको परीक्षामा अनुभवका आधारमा अंक दिने सहमति भएको हो । सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।
विभागले हाम्रा मागबारे सम्बोधन गर्ने भनेपछि आन्दोलका सबै कार्यक्रम फिर्ता लिएको समितिका अध्यक्ष कुवाङछु लामाले जानकारी गराए । छलफलमा राहत सबै शिक्षकलाई यही शैक्षिक सत्रदेखि बढेको तलब दसैँअघि दिने, दुर्गम भत्ता तथा एक हजार विशेष भत्ता दिने सहमति भएको छ । राहत शिक्षकहरूले पोशाक भत्ता, दुर्गम भत्ता, १८ प्रतिशत तलब वृद्धिलगायतका माग राख्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । राहत शिक्षकहरूले माग पूरा नभए फेरि आन्दोलनमा आउने चेतावनी दिएका छन । एउटै तहमा अध्यायपन गराउने एउटै योग्यता भएका शिक्षकहरूलाई पनि दुई किसिमको सेवासुविधा मान्य नभएको र विभेदकारी सरकारी नीतिको विरोध गर्दै आएका आन्दोलनकारी विद्यालयको पठनपाठन नै बन्द गरेर आन्दोलनमा होमिएका थिए ।