१३ असोज, डोल्पा । श्री जनप्रभा उमावि, लिकुमा अध्ययनरत ६ विद्यार्थीले पहिरोको डरले सामूहिकरुपमा विद्यालय छाडेका छन् ।
यसरी विद्यालय जान छाड्ने विद्यार्थीहरुमा पहाडा गाविस वडा नं १ छलका सीता बुढा, रुपसरा बुढा, कर्णचन्द्रा रोकाया, वीरकर्ण रोकाया, कल्पना रोकाया र हीरप्रसाद ंरोकाया रहेका छन् ।
विद्यालय जाने बाटोमा पटकपटक पहिरो गई धेरै विद्यार्थीको मृत्यु भइसकेकाले त्रासका कारण सामूहिकरुपमा विद्यालय छाडेको विद्यार्थी सीता बुढाले बताइन् । पछिल्लो पटक गत भदौ ३ गते विद्यालय जाने क्रममा पहिरोमा परी सोही गाउँका नरकर्ण बुढाको मृत्यु भएपछि उनीहरु बढी त्रसित बनेका हुन् ।
घरदेखि विद्यालय धेरै टाढा रहेको र बाटोमा लगातार पहिरो लडिरहने हुँदा आफ्ना बालबच्चालाई विद्यालय नपठाई कुटोकोदालो गर्न लगाएको अभिभावक धनसिंह बुढाले बताउनुभयो । रासस
- Source: http://www.onlinekhabar.com