अछाम कार्तिक १४ गते । अछाम जिल्लाको जनालीवण्डाली गाविसमा रहेको गंगा माविलाई प्राविधिक उच्च मावि बनाउने उद्देश्यका साथ विद्यालयले देउसी भैलो कार्यक्रम संचालन गरेको छ । कोही काम र कोही चुनावमा केन्द्रीत भैरहेको बेला विद्यालयका विद्यार्थी र शिक्षक भने आफ्नो टोली बनाई देउसी भैलो खेल्न थालेका छन् । १० कक्षा सम्म पढाई हुने विद्यालयमा प्राविधिक उच्च मावि तह संचालन गर्न रकमको अभाव भएको र यसका लागि तिहारको अवसरमा देउसी भैलो खेलिएको विद्यालयका निमित्त प्रधानाध्यापक मनिराज भण्डारीले मेरोजिल्ला डट कम लाई बताउनु भयो ।
अब छिट्टै विद्यालयमा प्राविधिक उच्च मावि तह संचालन गर्ने लक्ष्य रहेको र यसका लागि आर्थिक संकलनका कार्य अघि बढाईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद भण्डारीले बताउनु भयो । रकम संकलन कार्य भारतमा रहेका अभिभावकसंग पनि रकम संकलन कार्य भैरहेको र हालसम्म करिब २ लाख रुपैँया संकलन भैसकेको बताईएको छ । तिहारको अवसरमा भारतमा पनि देउसी भेलो खेल्ने कार्यक्रम रहेको बताईएको छ । प्राविधिक उच्च माविका लागि करिब ५ लाख संकलन भैसकेको र अझै १५ लाख बढी आवश्यक रहेको विद्यालयले जनाएको छ । आज विदालयले मंगलसैनका सरकारी कार्यालयमा देउसी खेलेको छ । आज प्रमुख जिल्ला अधिकारी गाण्ेश प्रसाद भट्टराई र काँसीराम खत्रीबाट एक हजार पाँच सय, निर्वाचन कार्यालयबाट एक हजार, जिल्ला प्रहरी कार्यालयबाट सात सय, कोलेनिका, मालपोत, जिल्ला हुलाक कार्यालयबाट पाँच पाँच सय रकम प्रदान गरीएको बताईएको छ ।