मुस्ताङ, कात्तिक ७ गते । हिमाली जिल्ला मुस्ताङमा विद्यार्थीको अभावमा विद्यालय बन्द हुने क्रम बढेको छ ।
सुर्खाङ गाविसको ध्येस्थित ध्ये प्रावि विद्यार्थी नभएपछि बन्द भएको छ । सुर्खाङमा–६ प्रावि रहेकामा ढी प्रावि तीन वर्षअगाडि विद्यार्थी नभएका कारण बन्द भएको थियो भने ध्ये प्रावि गत जेठबाट बन्द भएको जिल्ला शिक्षा कार्यालयका उपसचिव रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यारा प्राविमा चार जना, घारा प्राविमा चार जना, शालिग्राम प्रावि, ताङयामा पाँच जना र दामोदरकुण्ड प्रावि सुर्खाङमा पाँच जना विद्यार्थी रहेका आचार्यले बताउनुभयो । ध्ये प्राविमा विद्यार्थी नभएपछि दुईजना शिक्षकलाई दामोदरकुण्ड प्रावि सुर्खाङमा पठाइएको छ । यी चार विद्यालयमा १० जना शिक्षक रहेका छन् भने ढी प्राविका शिक्षकलाई झोङ र तल्लो मुस्ताङमा सारिएको थियो । कागबेनीको तिरी प्रावि पनि केही वर्षअगाडि नै बन्द भएको थियो । केही विद्यालयले विद्यार्थी नहँुदासमेत विद्यार्थीको सङ्ख्या जिल्ला शिक्षा कार्याललाई देखाउने गरेका छन् ।
यसैगरी छोण्हुपको फुवास्थित जनप्रभात प्राविमा पाँच, दिव्यज्ञान प्राविमा ६, छुसाङको दीपज्योति प्रावि चैलेमा तीन, ज्योति प्रावि तेताङमा दुई, अरनिको प्राविमा पाँच, जन नर्मल निमावि छुसाङमा दुई र समर प्रावि समरमा ६ जना विद्यार्थी रहेका छन् । जनसेवा प्रावि पुटाकमा एक, जनमुक्ति प्रावि फल्याकमा तीन, माछापुच्छे्र्र्र्र्र« प्रावि ढाकारजुङमा तीन र पाङलिङमा दुईजना विद्यार्थी रहेका छन् ।
जिल्लामा कक्षा १ देखि ८ सम्म दुई हजार ७३ विद्यार्थी रहेका छन् । जिल्लामा ४५ प्रावि, चार निमावि, ६ मावि, दुई उच्च मावि रहेका छन् । रासस