दार्चुला, ४ कार्तिक
खण्डेश्वरी गाविसस्थित सरस्वती निम्नमाध्यमिक विद्यालयले तीन वर्षदेखि चन्दा संकलनबाटै विद्यालय सञ्चालन गरेको छ । अंग्रेजी माध्यममा पढाई हुने सो विद्यालयमा राहतलगायतको दरबन्दी नहुँदा शिक्षकहरु नीजि स्रोतबाट तलब खुवाउनु परेको हो । १० जना शिक्षक रहेको विद्यालयमा सात जना शिक्षक शिक्षिकालाई निजी स्रोतबाट चन्द संकलन गरी तलब खुवाउनु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिपसिह रोकायाले बताउनुभयो । विद्यालयको आयोजनामा चार दिनसम्म प्रदर्शनी गरिएको नाटकमा चन्दा सहयोगबाफत २ लाख ५५ हजार ८ सय ४४ रुपैयाँ संकलन भएको अध्यक्ष रोकायाले जानकारी दिनुभयो । जसमा नगद १ लाख ८२ हजार ८ सय ४४ रुपैयाँ तथा अन्य जिन्सी सामाग्री प्राप्त भएको छ । विद्यालयलाई खण्डेश्वरी वडा नम्बर ५ र ६ का आमा समूहले ३० हजार रुपैयाँ बराबरको ह्वाइबोर्ड तथा विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष दिलिपसिह रोकाया र निर्वतमान अध्यक्ष पोखरसिह रोकायाले २५ हजार रुपैयाँको प्रिन्टर हस्तान्तरण गर्नुभएको छ । यसैगरी विद्यालयलाई रोकाया परिवारको तर्फबाट २९ हजार रुपैयाँ दिइएको विद्यालयका प्रधानाध्यापक जहरसिह रोकायाले जानकारी दिनुभयो ।