जाजरकोट, माघ १३ गते । जाजरकोट सदरमुकाममा रहेका दुईवटा क्याम्पसमा बिबिएस कक्षा सञ्चालन भएपछि विद्यार्थीहरू तानातानमा परेका छन् ।
यही वर्षमा मात्र सञ्चालनमा आएको बिबिएस कक्षा जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस र मालिका क्याम्पसमा सञ्चालन भएका छन् । मालिका क्याम्पस र भेरी ज्ञानोदय क्याम्पसमा कसले बढी विद्यार्थीलाई आफ्नो ठाउँमा पढाउने भन्ने विषयमा विद्यार्थीहरू तानातान परेको हो । दुवैवटा शिक्षण संस्थाको अस्वस्थकर प्रतिस्पर्धाका कारण विद्यार्थीहरू अन्योलमा परेको बताउँछन् ।
योभन्दा अघि जाजरकोटमा बिबिएस कक्षा सञ्चालन नहुँदा यहाँका विद्यार्थीहरू अन्य जिल्लामा पढ्न जाने गरेका थिए । आफ्नै जिल्लामा बिबिएस पढाइ हुने खुसीको कुरा भए पनि विद्यार्थीहरू तानातानले समस्या परेको डाँडागाउँकी पवित्रा रोकायले बताउनुभयो ।
अहिलेसम्म यहाँका विद्यार्थीहरू मालिका क्याम्पस पढ्ने कि भेरी ज्ञानोदय क्याम्पसमा बिबिएस पढ्ने भनेर दोधारमा रहेको बताउँछन् । रासस