सुर्खेत, माघ १६ गते । नेपाल गणित समाजले सुर्खेतमा आयोजना गरेको पाँचौँ राष्ट्रिय गणित सम्मेलन बिहीबार सकिएको छ ।
गणित विषयको लोकप्रियता र निरन्तरता, प्रभावकारिता र नयाँ खोज अनुसन्धानका लागि आयोजना गरिएको तीन दिने सम्मेलनमा गणितका विभिन्न नयाँ सूत्रको प्रदर्शनसँगै सकिएको हो ।
देशभरका सम्पूर्ण विश्वविद्यालयका गणित विज्ञहरुको सहभागिता रहेको यस सम्मेलनमा ६० जना गणित विज्ञले गणितको प्रयोग र अनुसन्धानबारे आ–आफ्नो भनाइ राखेका थिए ।
सहभागी शिक्षकहरुले एटिमए कार्डको कोड, रिचार्ड कार्डको कोड बनाउने सूत्र, सुनामी पत्ता लगाउने सूत्रलगायतका विभिन्न गणितसम्बन्धी नयाँ सूत्रहरुको प्रदर्शन गरेका थिए ।
अवसर र सहयोग पाए आफ्ना सूत्रहरुको प्रयोग गरी वैज्ञानिक आविष्कारलाई सहयोग पु¥याउने उनीहरुको भनाइ छ । रिचार्ड कार्डको कोड, एटिएम कोडलगायत विभिन्न कोडसम्बन्धी सूत्र निर्माण गर्नुभएका सुर्खेतका मनोज ज्ञवालीले सरकारको सहयोग भए विदेशबाट आयात गरिने वस्तु नेपालमै निर्माण गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले राजनीतिमा पनि गणितको प्रयोग हुनुपर्ने भन्दै गणितको सही प्रयोग नभएका कारण नै नेपाली राजनीति गलत बाटोमा लागेको बताएका छन् । गणित सधैँ सत्य र सही हुने भएकाले नेपाली राजनीतिकर्मीले पनि गणितबाट सिक्नुपर्ने सुझाव दिएका छन् ।
सम्मेलनको समापन कार्यक्रममा बोल्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका रजिष्ट्रार ठकेन्द्रप्रकाश गिरीले गणितको महत्वबारे सबैले बुझ्न जरुरी रहेको भन्दै आगामी दिन नेपालमा पनि गणितले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलन नेपाल गणित समाजका अध्यक्ष भद्रमान तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो । रासस