दार्चुला फागुन, १२ गते । असारको पहिलो साता महाकाली नदीमा आएको विनाशकारी बाढीको चपेटामा परेको खलङ्गा बाङाबगरस्थित कैलाशपति निमाविका विद्यार्थीहरू फर्निचरको अभावमा भुइँमा बोरा बिछयाएर पढ्न बाध्य भएका छन् ।
बाढीले भएका फर्निचरहरूसमेत बगाएपछि अहिले विद्यार्थीलाई बस्न निकै समस्या भएको निमित्त प्रधानाध्यापक डम्बरबहादुर सिंहले बताए । विद्यालय भवन पनि नदी कटानको उच्च जोखिममा रहेको छ । यसका साथै बाढीले आङ्शिक रूपमा बगाएको शौचालय गत महिना भूकम्पले चर्किएपछि त्यो पनि प्रयोगविहीन बन्न पुगेको छ ।
नजिकै दुई लाखको लागतमा एउटा सानो शौचालय निर्माण गरिएको भए पनि त्यो पनि सम्पन्न नगरिँदा शिक्षक र विद्यार्थीलाई शौच गर्नसमेत समस्या छ । शिक्षकहरूले नजिकै रहेको गाविसको कार्यालय ब्यासको शौचालय प्रयोग गर्ने गरे पनि विद्यार्थीहरू नदी किनारमा शौच गर्न बाध्य भएका छन् । रासस