कीर्तिपुर, १२ फागुन । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घले आज विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा धर्ना दिएको छ । प्राध्यापकका सम्बन्धमा विगतमा गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै सङ्घको अगुवाइमा धर्ना दिइएको हो ।
प्राध्यापकको नियमित बढुवा प्रक्रिया सुचारु गरिनुपर्ने, करार सेवाका प्राध्यापकको प्रक्रिया पु¥याएर स्थायी गरिनुपर्ने लगायतका विषयमा विश्वविद्यालय प्रशासनले सङ्घसँग सहमति गरेको भएपनि हालसम्म कार्यान्वयन नगरेको, गत साउनदेखि प्राध्यापकको बढेको तलब उपलब्ध नगराइएकाले बाध्य भई धर्ना दिनुपरेको सङ्घका अध्यक्ष योगेन्द्रनारायण बडवरियाले बताउनुभयो ।
आगामी फागुन १६ गतेसम्म धर्नालगायतका विरोधका कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । रासस