भूमिराज शर्मा
पर्वत, १५ फागुन
साक्षर रायडाँडा अभियान अन्तर्गत सहजकर्ताका लागि पाँच दिने तालिम बाग्लुङ जिल्लाको रायडाँडामा बिहीबार सम्पन्न भएको छ । गाविसलाई पूर्ण साक्षर घोषणा गर्ने तयारी स्वरुप बाँकि रहेका निरक्षरहरुलाई साक्षर गराउन खटिएका सहजकर्ताहरुका लागि तालिम संचालन भएको हो । रायडाँडा गाविसका नौवटै वडाका बीस जना सहजकर्ताहरुको सहभागिता रहेको सो तालिममा दमेक स्रोत केन्दका स्रोत व्यक्ति बिष्णु प्रसाद सापकोटाले प्रशिक्षण दिनु भएको थियो ।
तालिमको समापन समारोहमा सहभागी सहजकर्ता आरती केसी, गंगा गौतम, महाविद्याजन उमाविका भूपु प्रअ केदार आचार्य लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । महाविद्याजन उमावि रायडाँडाका प्राचार्य डिल्ली प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन शिक्षक प्रेम प्रसाद पौडेलले गर्नु भएको थियो । सो अभियान अन्तर्गत रायडाँडा गाविसका नौ वटै वडाका १७ केन्द्रमा साक्षरता कक्षा संचालन गरिने शिक्षक राम बहादुर केसीले जानकारी दिनु भयो ।