१७ चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय क्याम्पस त्रिवि कीर्तिपुरमा यसै वर्षदेखि सेमेस्टर प्रणालीमा पठनपाठन गराउने गरी आवेदन माग गरेपछि व्यवस्थापन सङ्काय, अङ्ग्रेजी शिक्षा विभाग र अङ्ग्रेजी केन्द्रीय विभागमा भर्ना क्षमताभन्दा बढीले प्रवेश परीक्षा दिएका छन् ।
यसै वर्षदेखि सेमेस्टर प्रणालीअन्तर्गत पठनपाठन गराउने विश्वविद्यालयको लक्ष्यअनुरुप व्यवस्थापन केन्द्रीय विभाग, अङ्ग्रेजी शिक्षा विभाग, अङ्ग्रेजी केन्द्रीय विभागलगायतका विगतमा धेरै विद्यार्थी भर्ना हुने विभागमा ३०० जना विद्यार्थीको कोटा निर्धारण गरिए पनि यी विभागमा आवश्यकताभन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका हुन् ।
विज्ञान विषयअन्तर्गतका अधिकांश विभागमा सेमेस्टर प्रणालीअन्तर्गत १०० जना विद्यार्थीको भर्ना क्षमता निर्धारण गरिएको छ । विश्वविद्यालय क्याम्पस त्रिवि कीर्तिपुरका पि्रन्सिपल डा गोविन्द सुवेदीका अनुसार व्यवस्थापन केन्द्रीय विभागमा ३०० जना विद्यार्थीको भर्ना क्षमता रहेकोमा ५०० जना विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन् ।
त्यस्तै अङ्ग्रेजी शिक्षा विभागमा ३०० जनाको क्षमतामा ४०० जना र अङ्ग्रेजी केन्द्रीय विभागको ३०० जना विद्यार्थी क्षमतामा ४०० जना विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन् । केन्द्रीय क्याम्पसअन्तर्गतका राजनीति शास्त्र, नेपालीलगायतका विभागमा भने निर्धारित भर्ना क्षमताभन्दा कम विद्यार्थी भर्ना भएका छन् ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विषयहरु पढाइ हुने केही केन्द्रीय विभागमा यसअघि नै सेमेस्टर प्रणालीअन्तर्गत पठनपाठन सञ्चालन हुँदै आएको छ । विद्यार्थीले प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कका आधारमा आवश्यक कोटाअनुसार भर्ना गरिएको उनले जानकारी दिए । प्रवेश परीक्षाको नतिजाका आधारमा विद्यार्थी भर्नाको क्रम चलिरहेको र चैतको तेस्रो सातादेखि अधिकांश विभागले पठनपाठनलाई सुचारु गराउने गरी तयारी गरेको नेपाली केन्द्रीय विभाग त्रिवि कीर्तिपुरका कर्मचारी श्यामकृष्ण केसीले जानकारी दिए । रासस