राम सुवेदी, बागलुङ, २०७० चैत १५ । बोंगादोभान गाउँ विकास समिति वडा नं. ८ का स्थानीय ९६ वर्षका जेष्ठ नागरिक भीमलाल घर्तीले एक नि मा विलाई १ लाख ३० हजार ५ सय रुपैयाँ चन्दा सहयोग प्रदान गरेका छन् ।
हाल कक्षा ७ सम्म पढाई हुँदै आएको तर आगामी शैक्षिक सत्रदेखि कक्षा ८को अध्यापन सुरु गर्ने योजना रहेको गाउँकै खोलेसवाङ निम्न माध्यमिक विद्यालयले राम्रो प्रगति गरोस् । यहाँका वालवालिकाले राम्रो शिक्षा पाउन, पढुन लेखुन, भविष्य बनाउन भन्दै आफूले यो उमेरमा विद्यालयलाई चन्दा दिएको घर्तीले बताए । घर्तीे एक किसान हुन् । दुई छोरा र ५ छोरी आफ्नो घरजम बनाईसकेका छन् । कृषि पेशाबाटै आर्जन गरेको रकम विद्यालयलाई चन्दा दिएको घर्तीको भनाई छ ।
विद्यालयलाई चन्दा दिने घर्ती सहित अरु दुई जना पूर्ण बहादुर पुन, जस्ले ५ हजार ५ सय र अर्का स्थानीय केश बहादुर प्रतेलले २ हजार चन्दा दिएपछि विद्यालयले उनीहरुलाई आज एक कार्यक्रमकाबीच सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर घर्ती मगरको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयकी शिक्षिका विमला कुमारी घर्ती पुनले स्वागत गरेकी थिईन भने विद्यालयका प्रधानाध्यापक कुल बहादुर घर्ती मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।