१७ जेठ , बुर्तिवाङ। बागलुङ जिल्लाको अति दुर्गम गाविसमा आजभन्दा १० वर्ष पहिले सन्चालनमा आएको एक विद्यालयमा हालसम्म एक जना शिक्षकको दरवन्दी प्राप्त भएका छैन । दरवन्दीविहीन त्यस विद्यालयमा हाल स्थानीय श्रोतबाट तीन जना शिक्षकले यनकेन प्रकारेण विद्यालय सन्चालन गरिरहेका छन् ।
जिल्लाको सुदूर पश्चिम बोवाङ गाविस ९ ढोरपाटनको स्यालपाखेमा रहेकोे ढोरबराह प्राथमिक बिद्यालय आवश्यक भौतिक पूर्वाधार, शैक्षिक सामग्री तथा आन्तरिक प्रशासन सञ्चालनका लागि बजेटको अभावले दयनीय अवस्थामा रहेको छ । जिल्लामै सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको बोवाङ गाविसमा जिल्ला शिक्षा कार्यालयको ध्यान नजानु आपैमा अनौठो मानिएको छ ।
२०६१ सालमा स्थापना भएको सो विद्यालय स्थानीय जनसहभागितामा सञ्चालन गरिएको प्रधानाध्यापक भीमबहादुर श्रेष्ठले बताए । दरबन्दी स्वीकृतिका लागि धेरैपटक पहल गर्दापनि जिल्ला शिक्षा कार्यालयले दरबन्दी नदिएको स्थानीयको गुनासो रहेको छ ।
जिल्लाकै अति रमणीय पर्यटकीय क्षेत्र मानिने ढोरपाटन उपत्यकामा रहेको यस ढोरबराह प्राथमिक विद्यालयमा सन्चालनको दश वर्ष वितिसक्दा पनि एक शिक्षकको दरवन्दी नदिनुलाई जिल्ला शिक्षा कार्यालयको घोर पक्षपातको रुपमा स्थानीयले लिएका छन् ।