भूमिराज शर्मा
पर्वत, १४ जेठ
जिल्लाको पकुवा सिल्मीमा रहेको विश्वज्योति उच्च माविमा अध्ययनरत छात्राहरुलाई बुधबार महिला स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । विद्यालयको आयोजना एवं व्यवस्थापन र पकुवा उपस्वास्थ्य चौकीको सहयोगमा सो कार्य सम्पन्न भएको हो ।
महिला स्वास्थ्य शिक्षा अन्तर्गत महिनावारी भएको समयमा ध्यान दिनु पर्ने कुराहरु, असुरक्षित गर्भधारण, गर्भपतनका असर, परिवार नियोजनका साधनहरुको प्रयोग लगायतका विषयहरुमा सहभागीहरुलाई पकुवा उपस्वास्थ्य चौकीका इन्चार्ज सविता पौडेलले प्रशिक्षण दिनु भएको थियो ।
हामीले महिला स्वास्थ्यको बारेमा धेरै कुराहरु बुझ्ने अवसर पायौँ । आफ्ना समस्याका बारेमा खुलेर कुरा गर्न सजिलो भयो । प्रशिक्षण कार्यक्रममा सहभागी कक्षा १० मा अध्ययनरत छात्रा करिस्मा पौडेलले भनिन् ।
प्रशिक्षण कार्यक्रम किशोरीहरुलाई स्वास्थ्य सम्बन्धी व्यावहारिक ज्ञान दिन उपलब्धिमूलक भएको विद्यालयका प्रधानाध्यापक बाबुराम शर्माले बताउनु भयो ।
विद्यालयका कक्षा ६ देखि १० सम्मका कक्षाहरुमा अध्ययनरत करिब १५० जना छात्राहरु सहभागी भएको सो कार्यक्रम तीन समूहमा संचालन गरिएको विद्यालयका शिक्षक आनन्द पौडेलले जानकारी दिनु भयो ।