काठमाडौं, जेठ १४ गते । निजि विद्यालयले नियम विपरित शुल्क लिएकाले कारवाही शुरु गर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयले विशेष समिति बनाएर गरेको छानविनमा निजी विद्यालयहरुले नियमविपरीत चर्को शिक्षण तथा भर्ना शुल्क लिइरहेको देखिएको अधिकारीहरुले बताएका छन्।
यसरी तोकिएको भन्दा बढी शुल्क लिने विद्यालयहरुलाई उक्त रकम फिर्ता गराउन लगाउने र २५ हजार रुपैयाँसम्म जरिवाना तिराउने तयारी भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ।
सर्वोच्च अदालतले शुल्क नबढाउन आदेश दिएपनि त्यसको पालना नगरिएको उनीहरु बताउँछन्।
विद्यालयहरुले लिने शुल्कका सम्बन्धमा जिल्ला स्तरमा जिल्ला शिक्षा अधिकारीको नेतृत्वमा अनुगमन गर्ने प्रावधान भए पनि त्यो प्रभावकारी हुन नसकेको भन्दै गुनासोहरु आएपछि शिक्षा विभाग मातहतको केन्द्रिय शुल्क अनुगमन समितिले उपत्यकाबाट अनुगमन सुरु गरेको हो।