१६ जेठ , काठमाडौं । नेपालमा गैरकानुनी रुपमा संचालन हुन लागेको भारतीय शैक्षिक मेला रोकिएको छ।
इजाजतबिना भारतका कलेज तथा विश्वविद्यालय नेपालमा आएर राजस्व छली गरी एभरेष्ट होटलमा शुक्रबारदेखि गर्न लागेको भारतीय शैक्षिक मेला शिक्षा मन्त्रालयको आग्रहमा प्रहरी प्रशासनले रोकेको हो।
सरकारले शैक्षिक परामर्श दिने कोचिङ तथा ट्युसन पढाउने, भाषा शिक्षण गर्नेलगायतका संस्थालाई व्यवस्थित गर्न ०६८ सालमा निर्देशिका तयार पारेको थियो। निर्देशिका अनुसार स्वदेशी शैक्षिक संस्थाले शैक्षिक मेला आयोजना गर्न पाँच हजार र विदेशी शैक्षिक संस्थाले एक हजार अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था छ।
तर, शुक्रबारदेखि हुन लागेको शैक्षिक मेलामा त्यसरी अनुमति लिइएको थिएन। भारतका एक कम्पनी संचालक मनीष दान्डाले एक नेपाली संस्थालाई आयोजक देखाएर मेला आयोजना गर्न लागेका थिए।