काठमाडौं, जेठ १७ – विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पेन्टागन कलेजका एक शिक्षकलाई प्रहरीले हिरासतमा लिएको छ । पेन्टागन परीक्षा केन्द्रमा परीक्षा दिन आएकी सीसीआरसीकी एक छात्रालाई यौन दुर्व्यवहारगरेको भन्दै प्रहरीले शिक्षक पवन साहलाई नियन्त्रणमा लिएको हो । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धानका लागि सार्वजनिक मुद्धा चलाइएको छ ।
विद्यार्थी र उनका अभिभावकले कारबाहीको लागि दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धानका लागि बुधबार नियन्त्रणमा लिएको थियो । परिसरका प्रहरी नायब उपरीक्षक अर्जुनबहादुर चन्दका अनुसार उनलाई सात दिनको लागि म्याद थप गरिएको छ । ती विद्यार्थीले आफूलाई यौन दुव्यहार गरेको भन्दै प्रहरी र उच्च माध्यमिक शिक्षा परिषदमा उजुरी दिएकी थिइन । परिषदले बुधबार उपाध्यक्ष स्तरीयले निर्णय गरी दुर्व्यहार गर्ने शिक्षकलाई हदैसम्म कारबाही गर्न प्रहरीलाई सिफारिस गरेको छ ।
शिक्षकलाई प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपनि कलेजले घटना ढाकछोप गर्न खोजेको भन्दै परिषदले पनि छानविन गर्न लागेको हो । पेन्टागन कलेजका प्रमुख एसपी सिंहले परीक्ष हलमा यौन दुर्व्यहार हुनै नसक्ने दाबी गरे । घटना सुन्ने बित्तिकै कलेजले छानविन समिति बनाएपनि पुष्टि नभएको उनले बताए, कान्तिपुर दैनिकमा समाचार छ । -