बागलुङ, असार १२ - राणाकालमा जन्मेकी दमेक १ की धरमधरा सापकोटाले पढ्ने, लेख्ने उमेर घाँसदाउरामा बिताउनुपर्यो । अहिले ९० पुगेकी उनले नातिनातिनालाई गाउँमा पढ्ने विद्यालय खोल्न जग्गा र नगदसमेत दिएकी छन् । नजिकमा विद्यालय नहुँदा बालबालिकालाई कठिन हुने देखेपछि सापकोटाले झन्डै चार रोपनी जमिन विद्यालयलाई दिएकी हुन् । तीन रोपनी आफ्नो नामको र एक रोपनी कान्छो छोरा चन्द्रप्रसादको अंशबाट जग्गा दान गरेकी हुन् । श्रीमान्को चाहनाअनुसार विद्यालयलाई सहयोग गरेको उनले बताइन् ।
ज्ञानज्योति प्राविको भवन निर्माणका लागि धान र मकै उत्पादन हुने जमिन दान दिएर उनले बेसाहा खाएकी छन् । छुट्टएिर बसेका छोराकोमा पालैपालो बस्ने भएकाले जग्गा जमिन आवश्यक नपरेको उनले बताइन् । 'विद्यालयलाई दिने दानले धर्म मिल्छ भनेर सहयोग गरेकी हुँ,' सापकोटाले भनिन्, 'आफ्नो पालामा पढ्न पाइन्नथ्यो, नातिनातिनाले घरछेउमै पढ्ने अवसर पाए, राम्रो भयो ।' नजिकमा विद्यालय नभएकै कारण सापकोटाका चार भाइ छोराले पनि पढ्ने अवसर पाएका थिएनन् ।