बालबालिकालाई लाइनमा ल्याउन प्रायः अभिभावक तिनलाई कुटपिट गर्ने गर्छन् । तर, चड्कन चिउरा खुवाउँदैमा बालबालिका सुध्रिदैनन्। तिनलाई हकारपकार गरेको वा झापडसापड लगाएको दस मिनेटभित्रै फेरि उपद्रो सुरु गरिहाल्छन् । बालबालिकालाई जति पिट्यो वा थर्कार्यो, तिनीहरूमा आक्रामकता झन् बढ्छ । झन् उग्र हुन्छन् तिनीहरू ।
'जर्नल अफ फयामिली साइकलोजी' मा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार, विश्वको कुनै पनि यस्तो ठाउँ छैन जहाँ आफ्ना सन्तानलाई नकुट्ने आमाबुवा हुन् । तर महत्त्वपूर्ण तथ्य के हो भने, यस्तो कुरा अभिभावकले जति स्विकार गर्छन् त्यसभन्दा बढी कुटपिट गर्ने गरेका छन् ।
अध्ययन अन्तर्गत ३३ भिन्दाभिन्दै परिवारमा भ्वाइस रेकर्डर लगाइएको थियो । यी घरहरूको ६ दिनसम्म निगरानी गरेपछि अनुसन्धानकर्ताले पाए कि भिन्दाभिन्दै समयमा एउटा बच्चालाई ४१ पटक कुटियो भने ७५ प्रतिशत बालबालिका कुटाइ खाएको १० मिनेटमै पुनः बदमासी सुरु गर्छन् ।
अनुसन्धान अनुसार अध्ययन परिणामले ती परिवारहरूलाई समेत आश्चर्य चकित पारे किनभने आमाबुवालाई थाहै थिएन कि नजानीकन नै उनीहरू आफ्ना सन्तानलाई कतिपटक कुटिरहेका छन् ।
अध्ययनको दाबी अनुसार कुटपिटले बच्चाहरूमा सुधारको बढी गुन्जाइस हुँदैन । उनीहरू कुटाइ खाएको १० मिनेटमै फेरि बदमासी गर्न थाल्छन् ।
अध्ययन अनुसार बच्चालाई बढी कुटपिट गर्दा व्यवहार सम्बन्धी समस्या उत्पन्न हुन्छ, यस्तोमा केही बच्चा बढी आक्रामक भइहाल्छन् भने केही डिप्रेसनग्रस्त समेत हुन सक्छन् ।