अत्तरिया (कैलाली), असार १३ गते । जिल्लाको जोशीपुर गाविस रामनगरस्थित मुक्तकमैया प्राथमिक विद्यालयको दुुईकोठे पक्की भवन निर्माण गरिएको छ ।
अमेरिकामा रहेका प्रवासी नेपालीको सङ्गठन नेपाली आकाशको रु १० लाख ३९ हजार ६०० आर्थिक सहयोग तथा स्थानीयको रु छ लाखबराबरको श्रमदानबाट सो विद्यालय भवन निर्माण गरिएको हो ।
नेपाली आकाशका प्रतिनिधि कमल भट्टले विद्यालय व्यवस्थापन समितिलाई विधिवत् रूपमा नवर्निमित विद्यालय भवन हस्तान्तरण गर्नुभयो । विद्यालयलाई फर्निचरका लागि डा यज्ञराज पाठकले रु ५० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।
विगतमा थुप्रै निकायसँग भवन निर्माणका लागि अनुरोध गरे पनि विद्यालय निर्माण गर्न नसकिएको तर प्रवासमा रहेका हाम्रा नेपाली दाजुभाइ हामीलाई खोज्दै हाम्रो गाउँ आइपुुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराम चौधरीले बताउनुभयो ।
खरको छाप्रोका रूपमा रहेको विद्यालय भवन पक्की भएपछि पठनपाठन सहज हुने विद्यालयका प्रधानाध्यापक श्यामदेव कुश्मीले बताउनुभयो । रासस