सुर्खेत,  साउन १४ गते । वीरेन्द्रनगर–६ मा रहेको पब्लिक साइन्स क्याम्पस आज औपचारिक रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएको छ । 
विसं २०६२ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्थापना भएको पब्लिक साइन्स क्याम्पस मध्यपश्चिम विश्वविद्यालयमा समायोजन र हस्तान्तरण गर्न २०६९ चैत २० गते सहमति भएअनुसार आज औपचारिकरुपमा हस्तान्तरण गरिएको हो । 
    योसँगै समायोजन तथा हस्तान्तरणका लागि सम्झौता भएको वीरेन्द्रनगर बहुमुखी क्याम्पस भने यसअघि नै मध्यपश्चिमाञ्चलमा हस्तान्तरण भइसकेको छ ।
    कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले मध्यपश्चिमाञ्चलका उपकुलपति प्रा डा पदमलाल देवकोटालाई क्याम्पसको चलअचल सम्पत्तिसहित कागजात हस्तान्तरण गर्नुभएको थियो । 
    क्याम्पससँगै कार्यक्रममा पाँच कट्ठा जग्गा र नगद रु २० लाख ३९ हजार ४५४ पनि हस्तान्तरण गरिएको छ । साथै, क्याम्पसका शिक्षक तथा कर्मचारीले हालसम्म पाउन बाँकी रकम रु आठ लाख ५०२ रहेको क्याम्पस प्रमुख तारणीप्रसाद यादवले जानकारी दिनुभयो । 
    क्याम्पस हस्तान्तरण कार्यक्रमपछि बोल्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा देवकोटाले यस विश्वविद्यालयलाई सबै मिलेर अगाडि बढाउनुपर्ने भन्दै नमुना विश्वविद्यालय बनाउनुपर्ने बताउनुभयो । 
    कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार ठकेन्द्रप्रकाश गिरी, डीनहरु, पब्लिक साइन्स क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको थियो । रासस