११ भदौ, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले पहिलो पटक शैक्षिक क्यालेन्डर तयार गरी लागू गर्ने भएको छ । तयार गरेको शैक्षिक क्यालेन्डरलाई आज सार्वजनिक गरिएको छ । कक्षा १२ को नतिजा प्रकाशनमा ढिला भइरहेको बेला आगामी वर्षका लागि भनेर तयार गरिएको क्यालेन्डरले अभिभावक तथा विद्यार्थीलाई केही दिन अल्मल्याउने भएको छ ।
परिषद्का अनुसार भदौ मसान्तभित्र कक्षा ११ का विद्यार्थीले रजिष्ट्रेसन फाराम भरिसक्नुपर्ने, आगामी माघ १ गतेदेखि मसान्तसम्ममा परीक्षा आवेदन भरिसक्नुपर्ने, फागुन १ देखि १५ गतेसम्म दोब्बर दस्तुर बुझाएर परीक्षा आवेदन भरिसक्नुपर्ने छ । त्यस्तै, आगामी २०७२ सालको वैशाख महिनाको दोस्रो हप्तामा कक्षा १२ को र अन्तिम हप्तामा कक्षा ११ को परीक्षा सञ्चालन हुने र सोही वर्षको साउन मसान्तभित्र कक्षा १२ को र कात्तिक मसान्तभित्र कक्षा ११ को नतिजा प्रकाशित गरिने शैक्षिक क्यालेन्डर प्रकाशित गरिएको छ ।