जाजरकोट, भदौ १२ गते । पहिरो प्रभावित सक्ला, रामीडाँडा र रोकाय गाविसका विद्यालय खुल्ने भएपछि त्यहाँ शरण लिएका विस्थापित समस्यामा परेका छन् । अन्यत्र बस्न त्रिपालसमेत नभएका कारण उनीहरू कहाँ जाने भन्ने अन्योलमा छन् ।
छेडा, धौलाकोटका विस्थापित कालिका मावि, जनकी प्राविमा बसिरहेका छन् । ती गाविसमा पानी पहिरो रोकिए पनि विस्थापित परिवार घर फर्किन सकेका छैनन् । त्रिपाल भएको भए छाप्रो बनाएर बस्न सकिन्थ्यो तर हामीसँग केही छैन छेडाखालाले घर बगाएकी रामीडाँडाकी पीडित राधिका पुनले दुखेसो पोखे । केही दिन विद्यालयमा भए पनि गुजारा गरियो अब लालाबाला लिएर कहाँ जाने होला ।
त्यस्तै समस्याका कारण धैलाकोटस्थित निगालचुला प्राविमाले भदौ १२ गते वटा विद्यालय सुचारु गर्न लागेपछि विस्थापित कहाँ बस्ने भनेर पीडामा रहेका छन् । साउन २८ गते पहिरोले विस्थापित भएका परिवारले जिल्लाका तीनवटा विद्यालयमा शरण लिइरहेका छन् । मौसममा सुधार आएको र बालबालिकाको पढाइ प्रभावित हुन थालेपछि जिल्ला शिक्षा कार्यालयले त्यस क्षेत्रका विद्यालय सुचारु गर्न खोजेको हो ।
त्रिपालसहित राहत पाएपछि विस्थापितले केही स्थानीयलाई विद्यालय खाली गरिदिएको दैवी प्रकोप उद्धार समितिले बताएको छ । अझै तीन विद्यालयमा विस्थापित बसेका छन् । बालबालिकाको पढाइ सुचारु गर्न जतिसक्दो चाँडो खाली गर्न भनेका छौँ लिम्सा स्रोत केन्द्रका स्रोत व्यक्ति डुमराज गिरीले भन्नुभयो । सबैभन्दा बढी समस्या धौलाकोट, सिर्पाचौर, छेडा र आग्रका विद्यालयमा छ । पीडितले विकल्प अभावमा विद्यालय छाड्न मानेका छैनन् ।
विस्थापित रामबहादुर कुमाईले भने छोराछोरी बिरामी छन्, खाने÷बस्ने ठेगान छैन, यस्तो अवस्थामा विद्यालयबाट हटाउन मिल्दैन । रासस