इलाम, भदौ १२ गते । जिल्ला शिक्षा कार्यालयले माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहमा गरी २७१ शिक्षकलाई नियुक्ति दिएको छ ।
शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका मावि तहका ४२, निमावि तहका ४४ र प्रावि तहका १८५ शिक्षकलाई नियुक्ति दिइएको हो । रिक्त दरबन्दीमा शिक्षक नियुक्ति गर्दा पनि अझै त्यत्तिकै सङ्ख्यामा दरबन्दी रिक्त भएको जिशिकाले जनाएको छ ।
शिक्षक नियुक्ति गर्नुअघि जिशिकाले महिला, अपाङ्गलाई प्राथमिकताका साथ स्थान रोज्न लगाएको थियो । सोहीअनुसार महिला र अपाङ्गले विद्यालय रोजेको कार्यालयले जनाएको छ । मावितर्फ नेपालीमा नौ, अङ्ग्रेजी ११, सामाजिक नौ, गणित दुई र विज्ञान विषयमा ११ शिक्षक नियुक्ति भएका हुन् ।
यसैगरी निमावितर्फ नेपालीमा सात, अङ्ग्रेजी १३, सामाजिक आठ, गणित दुई र विज्ञानमा १४ शिक्षकलाई नियुक्ति दिएको जिशिकाले जनाएको छ ।
उनीहरूको सेवा अवधि विद्यालयमा हाजिर भएको दिनदेखि हुने र तलब सुविधा पाउने जनाइएको छ ।
नयाँ शिक्षक नियुक्ति गर्दा अस्थायी र राहत दरबन्दीमा कार्यरत शिक्षक विस्थापन नहुने गरी नियुक्ति गरिएको जिल्ला शिक्षा अधिकारी पुरीले बताउनुभयो ।
प्रावि तहमा शिक्षक नियुक्ति गर्दा थोरै सङ्ख्यामा मात्र विस्थापित हुने र विस्थापित शिक्षकलाई समेत राहत कोटामा पुनः स्थापना गरिने जिशिकाले जनाएको छ । मावि र निमावि तहमा एकजना पनि शिक्षक विस्थापित भएनन् ।
“नयाँ नियुक्ति गर्दा कोही पनि शिक्षकलाई विस्थापन गर्ने हाम्रो लक्ष्य होइन”–जिशिअ पुरीले भन्नुभयो–“प्राविमा कमभन्दा कम शिक्षक विस्थापित भए पनि उनीहरूलाई वैकल्पिक व्यवस्था मिलाउने तयारीमा छौँ ।”
जिल्लामा प्राविमा एक हजार ५८७, निमाविमा ४२८ र माविमा २८० गरेर कुल दुई हजार २९५ शिक्षक दरबन्दी रहेको छ । रासस