बाग्लुङ, ११ मंसिर
२०७० सालको एसएलसी परीक्षामा धौलागिरी प्रथम हुन सफल पर्वतका बिद्यार्थी बिहीबार बाग्लुङमा सम्मानित भएका छन् । पर्वतको पातिचौरमा रहेको देउपुर नमूना अंग्रेजी आवासीय माविबाट एसएलसीमा सहभागी भई ९० प्रतिशत अंक हासील गरेका सचिन तिमिल्सिनालाई दिलगंगा प्रधान स्मृति कोष बाग्लुङले एक समारोहकाबीच सम्मान तथा पुरस्कार प्रदान गरेको हो । स्मृति कोषले तिमिल्सिनालाई नगद रु पाँच हजार, ट्रफी र प्रशंसापत्र प्रदान गरेको थियो भने बिद्यालयलाई पनि प्रशंसापत्रका साथ सम्मान गरिएको थियो । सो अवसरमा बाग्लुङ जिल्लामा प्रथम स्थान प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई समेत पुरस्कृत गरिएको थियो ।
उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बाग्लुङ क्षेत्र नं १ का सभासद हरि बहादुर खड्काले उत्कृष्ट बिद्यार्थीलाई सम्मान गर्ने कार्यले बिद्यार्थीहरुमा हौसला बढ्ने हुँदा यस्ता सामाजिक सेवाका कार्यमा सक्रिय भई बिद्यार्थीहरुको मनोबल बढाउन समाजले भूमिका खेल्नु पर्ने विचार व्यक्त गर्नु भएका थियो । साथै उहाँले स्मृति कोषले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई गरेको सम्मानको प्रशंसा गर्दै उच्च शैक्षिक सफलताको लागि सदैब प्रयत्नशील रहन विद्यार्थी र विद्यालय संचालकहरुलाई आग्रह समेत गर्नुभयो । दिलगंगा प्रधान स्मृति कोष बाग्लुङका अध्यक्ष काजी रोसनको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले बधाइ तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।