
यस वर्षको प्रवेशिका(एसएलसी) परीक्षामा बुटलवलमा रहेको कालिका उमाविका ९२.९१ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । १२७ जनाले परीक्षा दिएकोमा ११८ जना उतीर्ण भएको विद्यालयका प्रधानाध्यपक घनश्याम पाठकले जानकारी दिए ।
अघिल्लो वर्षहरुभन्दा यसवर्ष ‘रिजल्ट’ सुध्रेको उनले बताए । सामुदायिक विद्यालयका विद्यार्थीले यसरी उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा प्रधानाध्यपक पाठक खुसी छन् । पाठक भन्छन्, ‘यसपटक धेरै राम्रो भयो । हाम्रो विद्यार्थी पनि विशिष्ट श्रेणीमा उतिर्ण भए । गयत्री घर्तीले ९०.६३ प्रतिशत ल्याइन् । १२ जना विशिष्टमा, ८४ जना फस्ट डिभिजनमा, २२ जना सेकेन्ड डिभिजनमा पास भए ।’
प्रविधिक विषयमा परीक्षा दिएका ४५ जनाको नतिजा आउन बाँकी रहेको उनले सुनाए । ती विद्यार्थीको नतिजा झनै उत्कृष्ट आउने पाठकले आशा गरेका छन् । सामुदायिक विद्यालयको नतिजा सुध्रिनुमा व्यवस्थापन समितिको सहयोग र शिक्षकहरुको लगनशीलताले ठुलो काम गरेको उनी बताउँछन् । ‘हामी बुटवललाई शिक्षाको राजधानी बनाउन चाहन्छौ,’ प्रधानाध्यपक पाठकले भने, ‘यसमा हाम्रो स्कुललाई पहिलो नमुना बनाउनुपर्छ भनेर हामी लागेका छौं, यसमा व्यवस्थापन समितिको सहयोग छ । शिक्षकहरु पनि लागि पर्नुभएको छ ।’
उत्कृष्ट शिक्षाका लागि विद्यालयमा बलियो पूर्वाधार आवश्यक रहेको उनको सुझाव छ । बाग्लुङ गल्कोटमा जन्मिएका पाठक १० वर्षसम्म बाग्लुङकै पृथ्वी उच्च माविमा प्रधानाध्यपक थिए । ‘त्यही १० वर्ष सिकेको अनुभवले काम गरेको जस्तो लागेको छ,’ प्रधानाध्यपक पाठकले भने, ‘तर, पनि हामी सन्तुष्ट छैनौं, रिजल्ट शतप्रतिशत ल्याउनुपर्छ भनेर हामी लागिरहेका छौं ।’ त्यसैगरी उनले महँगोमा पढ्दैमा नतिजा राम्रो अाउने सोचाइ त्याग्नु पर्ने बताए । यसका लागि कम शुल्कमै योजना बनाएर पढाए नतिजा राम्रो अाउने उनको भनाइ छ ।
विद्यालयको शिक्षा सुधारका लागि पञ्च वर्षे योजना बनाएको र त्यसै अनुरुप यो दोस्रो वर्ष लागेको पाठकले सुनाए । आउँदो ३ वर्षमा उत्कृष्ट सामुदायिक विद्यालय बनाउने र शुन्य फेल गराउने योजना रहेको प्रधानाध्यपक पाठकले बताए । विद्यालयले बधाई कार्यक्रम भने आगामी सोमबार गर्ने भएको छ ।