भूमिराज शर्मा
पर्वत, २२ जेठ
संकटको बेला अरुको मुख ताक्नुभन्दा आफै अगाडि सरेर संकटको सामना गर्नुुपर्छ भन्ने सन्देश यहाँको एक तिमिल्सिना परिवारले दिएको छ । महाभुकम्पले आफ्नै घर चर्किएको भए पनि त्यो भन्दा बढी पीडा गाउँको स्कुल भत्किएकोमा आफूहरुलाई भएको भन्दै बैशाख १२ गतेको महाभुकम्पले क्षतिग्रस्त भएको जिल्लाको देउपुर गाविसमा रहेको जननेत्र उमाविलाई उक्त परिवारले चालिस हजार एक सय एक रुपैया आर्थिक सहयोग गरेको छ । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच सो गाविसको वडा नं ६ निवासी आनन्द पाध्या तिमिल्सिनाको परिवारले उक्त रकम बराबरको चेक प्रदान गरेको हो ।
बिनासकारी महाभुकम्पले विद्यालयका दूई वटा भवनहरु पूर्ण रुपमा क्षतिग्रस्त भएपछि पठनपाठनमा असहज अवस्था सिर्जना भएको देखेर पुननिर्माणको लागि सहयोग पुर्याउने उद्धेश्यले उक्त रकम प्रदान गरेको स्थानीय समाजसेवी एवं शिक्षापे्रमी आनन्द पाध्याले बताउनु भयो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै सो परिवारका सदस्य एवं विद्यालयका भूतपूर्व विद्यार्थी यज्ञश्वर तिमिल्सिनाले क्षतिग्रस्त विद्यालय पुननिर्माणको लागि सबैले सक्दो सहयोग गर्नुपर्ने बेला आएको बिचार व्यक्त गर्नुभयो ।
भुकम्पले कक्षा ७ देखि १० सम्मका बिद्यार्थीहरुले अध्ययन गर्ने कक्षाकोठाहरु भत्काइदिएपछि अहिले उच्चमाविका कक्षाकोठाहरुमा पठनपाठन संचालन भइरहेको छ भने पुस्तकालयमा समेत लगेर बिद्यार्थीहरुलाई पढाउनु परेको प्राचार्य दिपक शर्माले जानकारी दिनु भयो । उमाविको कक्षा शुरु भएपछि बिद्यार्थीलाई पढाउने कक्षाकोठा नभएकोले तत्काल पुननिर्माणको लागि सहयोग गरिदिन सबै पक्षहरुसँग अनुरोध गरिएको विव्यस अध्यक्ष कृष्ण बहादुर गुरुङले बताउनु भयो ।
सहयोगका लागि देश बिदेशबाट केही आश्वासन प्राप्त भएता पनि हालसम्म विद्यालयले स्थापना गरेको राहत कोषमा पचास हजार रुपैयाँ नगद र छ बण्डल जस्ता पाता मात्र जम्मा भएको छ । यसअघि राहत कोषमा बिद्यालयका भुपू बिद्यार्थी दया चापागाईले पाँच हजार र भीम प्रसाद चापागाईले पाँच हजार एक सय रुपैया जम्मा गरिसक्नु भएको छ भने भेरासोल हाउजिङ कमपनी पोखराले छ बण्डल जस्ता पाता उपलब्ध गराइसकेको छ ।

