Skip to main content

शिक्षा ऐन दुई महिना भित्र पारित हुने

काठमाडौं - संसदको महिला बालबालिका समाज कल्याण तथा जेष्ठ नागरिक समितिकी सभापति रञ्जु झाले संसदमा छलफल भइरहेको शिक्षा ऐन संशोधन विधेयक दुई महिना भित्र पारित भइसक्ने बताएकी छिन् ।
सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीको समस्या समाधान गर्न तत्काल ऐन संशोधनको जरुरी रहेको बताइन । विधेयक संसदमा दर्ता भएर संशोधनको चरणमा छ । सांसदहरुले दर्ता गरेको संशोधन माथिको छलफल हुन बाँकी छ । ‘बिशेष क्षेत्राधिकार प्रयोग गरेर भएपनि ६ महिना लगाउँदिन ।  एक÷दुई महिना भित्र पारित गराउँछु’ उच्च माध्यामिक विद्यालय संघ हिसानले बिहीबार आयोजना गरेको शिक्षा ऐन संशोधन विधेयक सम्बन्धि बिशेष गोष्टीमा उनले भनिन, ‘यदि म समितिको सभापति नभएको भए अहिले पनि ऐन संसदमा जाने वाला थिएन । १० पटक भन्दा बढी त समितिमा बोलाएर निर्देशन दियौ । मेरो रिचार्ज पनि सकियो ।’
विधेयक ढिलो गरी संसदमा आएकोले व्यक्तिगत स्वार्थ भन्दा पनि राष्ट्र र जनताको हितमा ऐन बन्ने उनले ठोकुवा गरिन् ।
व्यवस्थापिका–संसदमा प्रस्तुत शिक्षा ऐन, २०२८ (आठौँ संशोधन) लाई बृहद् छलफल गरेर मात्रै पारित गरिने उनले प्रतिबद्धता जनाइन । ‘अब पनि शिक्षा ऐन संशोधन भएन भने हामी पछि पर्छौ’उनले भनिन् । ऐन संसोधन गर्दा कसैको दबावमा नपर्ने उनले दाबी गरिन । समितिमा निजी लगानीकर्ताहरु समेत रहेकोले उनीहरुको स्वार्थ प्रेरित रहेर ऐन बन्ने हो की भन्ने गुनासो छ । यो गुनासोलाई सम्बोधन गर्दै उनले भनिन,‘म न्यूट्रल रहेर कसैको दबाबमा पनि पर्दिन । इमान्दारीका साथ काम गर्छु ।’
शिक्षा उपसमितिका संयोजक गणेशमान गुरुङले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न र शिक्षकको समस्या समाधान गर्न ऐनको संशोधन खाँचो भएको बताए । ‘केही महिना ढिलाई होस् तर, सर्वमान्य बनाऔ,’ उनले भने । नयाँ शिक्षा नीतिको अवलम्बनका लागि उच्चस्तरीय शिक्षा आयोग गठन अत्यावश्यक भएको उनले बताए ।
सांसद एवं हिसानका अध्यक्ष उमेश श्रेष्ठले तत्कालको समस्या फुकाउन यो ऐनले काम गरेपनि शिक्षाको मार्गचित्र बनाउन आयोग गठन गर्नु पर्ने बताए । निजी क्षेत्रलाई बाइपास गरेर निती बन्न नसक्ने दाबी गरे । कार्यक्रममा नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले विधेयकले निजी क्षेत्रलाई खुम्च्याउन नभई नियमन गर्न खोजेको तर्क गरे ।
अर्का सांसद एवं हिसानका उपाध्यक्ष बाबुराम पोखरेलले निजी क्षेत्रको कुरा पहिलो पटक संविधानमा राख्न सफल भएको बताए । निजी क्षेलाई बिस्तापित गर्ने गरी ऐन नआउने उनले बताए ।
सांसद धनिराम पौडेलले शिक्षा विधेयकमा जनताको भावना समेट्ने बनाउनु पर्ने बताए । अर्का सांसद टीएल चौधरीले यो ऐनले निजी क्षेत्रको लगानीको ग्यारेण्टी गर्ने बताए । सामुदायिक विद्यालय सुधार र शिक्षकको समस्या हल गर्न ऐन ल्याउनु पर्ने बाध्यता भएको उनले बताए । ‘सबैको हित हुने ऐन आउनेछ,’उनले भने ।
प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले ऐनमा निजी क्षेत्रलाई नियन्त्रण गर्न खोजे मान्य नहुने बताए । ‘हामीलाई लचकता हुनुपर्छ’ उनले भने । सरकारले यसवर्षदेखि सुरु गर्न लागेको लेटर ग्रेडिङको बिषयमा छलफल नै नगरी ल्याएको भन्दै उनले आपत्ती जनाए । शिक्षाको आधा हिस्सा निजी क्षेत्रले धानेपनि सरकारले परीक्षा, पाठ्यक्रम निर्माण लगायत कतैपनि समावेश नगरेको आरोप लगाए ।
एन प्याब्सनका अध्यक्ष कर्ण शाहीले लेटरग्रेडिङमा तीन घण्टाको परीक्षालाई आधार मानेर विद्यार्थीको सिकाई मुल्याङकन गर्न नहुने बताए ।
उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले मन्त्रीले जारी गरेको १८ बुदे प्रतिबद्धता र ऐनमा गरिएको व्यवस्था एक अर्कामा बाझिने खालको भएको बताए । सरकारले सन् २०१६ देखि सुरु गरेको विद्यालय क्षेत्र सुधार कार्यक्रम परिषद्संग छलफल बिना ल्याइएको भन्दै उनले आपत्ती जनाए । ऐनमा प्राविधिक धारका विद्यार्थीले नौ देखि १३ कक्षासम्म पढ्नु पर्ने भनिएको व्यवस्था हास्यस्पद भएको उनले टिप्पणी गरे ।
नौदेखि १२ कक्षाको अवधारणा पनि नेपालका लागि सान्दर्भिक नभएको उनले बताए । ‘प्राविधिक धारको नौ देखि १३ कक्षासम्मको अवधारणा संसारमा कँही छैन’ उनले भने ।
उनले यो ऐनलाई तत्काल पारित गर्न नहुने बताए । ‘हतारमा यो ऐनलाई अघि बढाउनु हुदैँन’ उनले भने, ‘ऐन ल्याउनु अघि आयोग बनाएर सुझाव लिनु पर्छ । अनि त्यसमा समावेश गरिएको बिषयलाई समेटेर पारित गर्नुपर्छ ।’
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाले सरकारले शिक्षा क्षेत्रमा अनुदान घटाउँदै जाने र निःशुल्क शिक्षा पनि दिने भन्नु व्यावहारिक रुपमा सम्भव नहुने बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले विधेयकले निजी क्षेत्रको शिक्षालाई थप स्थान दिएको बताए । संसद्बाट पारित हुने कानुनको प्रभावकारी कार्यान्वयन हुने उनले बताए ।
संसदमा विचाराधीन शिक्षा ऐन, २०२८ (आठौँ संशोधन) मा कक्षा १ देखि ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षाको नयाँ संरचना प्रस्ताव गरिएको छ । ऐन संशोधन भएपछि माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न एक राष्ट्रिय परीक्षा बोर्ड गठन हुनेछ । त्यसपछि हालको एसएलसी परीक्षा बोर्ड र उच्च मावि परीक्षा बोर्ड समायोजन हुनेछ भने निजी विद्यालयलाई क्रमशः गुठी वा सहकारीमा रुपान्तरण गरिनेछ ।
प्रकाशित मिति २०७२ पुस २३ गते

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...