Skip to main content

निजी विद्यालयको शुल्क निर्धारण अन्योलमा

काठमाडौँ, २४ पुस । शिक्षा मन्त्रालयले चासो नदिँदा शैक्षिक सत्र २०७३ को निजी विद्यालयहरूको शुल्क निर्धारण अन्योलमा परेको छ । शिक्षा नियमावलीअनुसार शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिनाअघि शुल्क निर्धारण हुनुपर्छ । त्यसैअनुसार जिल्ला शिक्षा कार्यालयले विभिन्न पक्षको छलफल तथा निर्णयबाट नयाँ सत्रको शुल्क लागू गर्छ ।
गत वर्ष गठित वैज्ञानिक शुल्क निर्धारण प्राविधिक समितिले प्रतिवेदन बुझाउन सकेको छैन । निजी विद्यालयले मनोमानी शुल्क बढाएपछि सर्वोच्च अदालतले २०६९ मा तीन वर्ष शुल्क नबढाउन निर्देशन दिएको थियो । त्यसअनुसार निजी विद्यालयले २०७१ सम्म औपचारिक रूपमा शुल्क नबढाए पनि आफूखुसी शुल्क असुल्दै आएका छन् ।
नियमावली संशोधन हुन नसकेको अवस्थामा आउँदो सत्रका निम्ति पुरानै शुल्क मापदण्ड कार्यान्वयन हुनेछ । चालू सत्रमा भने महँगी बढेको भन्दै आफूखुसी शुल्क बढाएका छन् । नियमन गर्ने निकाय शिक्षा मन्त्रालय भने यस विषयमा मौन छ ।
गत वर्षबाट करिब २२ प्रतिशत शुल्क बढाउने प्रस्तावलगत्तै निजी विद्यालयले हतारमै शुल्क बढाएका थिए । तर, विद्यार्थी संगठनहरूले तीव्र विरोध जनाएपछि गत वैशाख १ गते शिक्षा मन्त्रालय, विभाग, दुई अभिभावक संघ, प्याप्सन, नेसनल प्याब्सन र संयुक्त विद्यार्थी आन्दोलन समितिबीच समझदारी भई वैज्ञानिक शुल्क निर्धारण समिति गठन भएको हो ।
सर्वपक्षीय सम्झौताअनुसार तत्काल पुरानै शुल्कका आधारमा विद्यार्थी भर्ना गर्ने, वृद्धि गरिएको शुल्क १५ दिनभित्र फिर्ता गर्ने र प्राविधिक समितिको सुझावका आधारमा मात्र यस सत्रका लागि शुल्क समायोजन गर्ने सम्झौता भएको थियो ।
तर, बढाइएको शुल्क फिर्ता नगर्दै वैशाख १२ को भूकम्पको कारण देखाएर निजी विद्यालयले सहमति कार्यान्वयन गरेनन् । सम्झौतामा आफूखुसी शुल्क वृद्धि गर्ने विद्यालयलाई अनुगमन समितिमार्फत छानबिन गर्ने र दोषी पाइए दर्ता खारेजीसम्मको कारबाही गर्ने भनिएको थियो ।
साथै शिक्षा ऐन, नियमअनुसार दर्ता नभएका विद्यालय बन्द गर्ने, त्यस्ता विद्यालयमा भर्ना नगर्नेरनगराउन सार्वजनिक सूचना प्रकाशित गर्नेलगायत १० बुँदे सहमति भएको थियो ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सम्झौताको ९ महिना बित्दासमेत कार्यान्वयन गर्न नसक्नु शिक्षा मन्त्रालयको अक्षमता भएको बताए । ‘यसबाट विद्यार्थी, अभिभावकहरू आर्थिक रूपमा शोषित भइरहेको र भइरहने देखिन्छ,’ उनले भने । प्राविधिक समितिले बुझाएको प्रतिवेदनअनुसार नियमावली संशोधन हुनुपर्ने भए पनि मन्त्रालय अहिलेसम्म मौन रहेको छ । उक्त प्राविधिक समितिका संयोजकमा विभागका सहसचिव खगेन्द्र नेपाल अहिले परीक्षा नियन्त्रकको जिम्मेवारीमा छन् ।
मन्त्रालयका प्रवक्ता हरि लम्सालले उक्त समितिको प्रतिवेदन प्राप्त भएपछि शुल्क निर्धारणको प्रक्रिया अघि बढ्ने बताए । ‘अब फलोअप र नियमन हुन्छ,’ उनले भने, ‘समितिले प्रतिवेदन बुझाएपछि सरोकारवालासित बसेर निचोडमा पुग्छौं ।’
गत वर्ष २२ प्रतिशत बढाउने प्रस्तावअनुसार काठमाडौंका ‘क’ श्रेणीका निजी विद्यालयले प्राथमिक तहमा १ हजार ६ सय ५० बाट बढाएर २ हजार १३ रुपैयाँ, निमावि तहमा १ हजार ८ सय ७५ बाट २ हजार २ सय ८७ र माविमा २ हजार ५ सय ५० बाट बढाएर ३ हजार १ सय ११ रुपैयाँ लिएका छन् ।
त्यस्तै ‘ख’ श्रेणीकाले प्राविमा १ हजार ३ सय ७५ बाट १ हजार ६ सय ७५ रुपैयाँ, निमाविमा १ हजार ५ सय ६३ बाट १ हजार ९ सय ७ र माविमा २ हजार १ सय २५ बाट २ हजार ५ सय ९२ रुपैयाँ असुलेका छन् ।
‘ग’ श्रेणीका निजी विद्यालयले प्राथमिक तहमा १ हजार १ सय रुपैयाँ न्यूनतम शुल्क बढाएर १ हजार ३ सय ४२ रुपैयाँ, निमावि तहमा १ हजार २ सय ५० बाट बढाएर १ हजार ५ सय २५ रुपैयाँ र माविमा १ हजार ७ सयबाट बढाएर २ हजार ७४ रूपैयाँ लिएका छन् । देशभर करिब ८ हजार निजी विद्यालय छन् ।
(कान्तिपुर दैनिकमा गणेश राईले समाचार लेखेका छन्।)

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...