मुक्तक
मायालु अंगालोमा मलाई बेर भन्छिन् ऊनी ।
समाजका नियम कानून नटेर भन्छिन् ऊनी।।
मायाको त्यो सागरमा सँगै पौड़ी खेल्न भनि ।
नदीको माछा जस्तै जाऊं बगेर भन्छिन् ऊनी ।।
२०७३-०६-१७ / १२:२६ pm
1.
"फूल, म र निलो आकाश'
फूल जस्तै सुन्दर मान्छे बन्न सकिएन
किन यस्तो हुदो रैछ भन्न सकिएन ।
मौसमी पो हुँदो रैछ राम्रो फूल पनि
कति फुले कति झरे गन्न सकिएन ।
माथितिर निलो आकाश टोलाएर हेर्छु
किन छोप्छ बादलुले जान्न सकिएन ।
कति थिए चाहना, इच्छा अनि अभिलाषा
जिन्दगीको बाटो अझै खंन्न सकिएन ।
2072 -07-18
2
दुई दुई जोड्दाखेरी चार नभएपछि
नियम कानून बनाउनुको सार नभएपछि ।
नाच्न थाल्छन सांढेहरु उन्मत्त भै वरिपरि
वल्लो पल्लो छुट्टाउने बार नभएपछि ।
3 नेता
बर्गीय हित गर्छु भन्थ्यो,
परि आए मर्छु भंथ्यो ।
गाउ अनि देशको बिकाश,
गर्न अघि सर्छु भन्थ्यो ।
अज्ञानतालाई हटाउंदै ,
ज्ञानको ज्योति छर्छु भंथ्यो ।
दुखिहरुको मुहारमा ,
लाली किरण भर्छू भंथ्यो ।
कहॉ गयो थाहा छैन,
गायब भयो गाउ बाट ।
कति खोजें भेटिएन ,
उहि पूरानो नाउ बाट ।
आज भोलि सुनेको छु,
शहरतिर बस्या छ रे ।
दुस्मनसँगै साइनो गांसि,
सिंह दरबार पस्या छ रे ।
रूप फेरेछ नाम फेरेछ ,
आफु बस्ने गाम फेरेछ ।
उ त पुरै बदलिएछ ,
उस्ले गर्ने काम फेरेछ ।
2072-07-19
4
सानो हुन कोहि नमान्ने
सबै ठूलो हुनै पर्ने ।
दक्षताको खडेरी छ
पदले आकाश छुनै पर्ने ।।
एउटा प्रधान सघाउनलाई
आधा दर्जन उपप्रधान ।
हरे ईश्वर तिम्ले पनि
कस्तो दिन्छौ बरदान ।।
अब कस्तो चमत्कार
ल्याउने होलान यिनले ।
पक्कै पनि बताउने छन
भोलि आउने दिनले ।।
2072-07-19
5 हामी र हाम्रो देश
अरेबियन धनी बने तेल कूटनीतिले
हामी भने गरीब भयौ फेल फुटनीतिले ।
ग्यास भेटिए उनीहरु सिलिन्डरमा भर्छन
यहां भने आगो झोसि ईश्वर पूजा गर्छन् ।
स्वर्गद्वारी, मुक्तिनाथमा ग्यासको बत्ती पुज्ने
बैज्ञानिक तथ्य के हो कहिले कुरा बुझ्ने ।
फलाम खानी बन्द भए तामा खानी बन्द
त्यसैले त बिकासको गति भयो मन्द ।
बन्द भए ढुङ्गा खानी घर गोठ छाउने
छानो छाउने जस्ता पनि बाहिरबाटै आउने ।
बगरमा सुन भेटिन्छ खोज्ने ज्ञान छैन
अपार छन् संभाबना रोज्ने ध्यान भैन ।
जल, बायु सौर्य शक्ति खेर गैरहने
देशभित्र ऊर्जा संकट सधैं भैरहने ।
बांझो रहे खेतबारी छैन जनशक्ति
हामी भने देखाइरहने सधैं बिदेशभक्ति ।
अथाह छन संभाबना खोजी गर्न थालौं
आजै देखी स्वाधीनताको एउटा दियो बालौ ।
2072-07-20
6. यस्तो हुन्छ
जब प्रणाली मिचिने गर्छ
कमजोर अंग थिचिने गर्छ ।
लड्न थाले भने सांढेहरु
निर्धो बाच्छो मिचिने गर्छ ।
सानो शक्ति भएको चुम्बक
ठूलो भए तिरै खिचिने गर्छ ।
जोगाउन जति नै खोजे पनि
आखिर भुसुनो किचिने गर्छ ।
2072-07-21
7
बिशाल फॉट भएर पो के भो
खेति गर्ने कुनै छाँट छैन भने ।
सुनौलो अबसर पाएर पो के भो
गरि खाने हिम्मत र ऑट छैन भने ।
8
हिजो सम्मको हितैषी मित्र
अचानक किन बांगो भएछ ।
चरित्रका उपदेश दिंदै हिड्थ्यो
आखिर किन नाङ्गो भएछ ।
9
दुःख दिने नियत भए
कस्को के नै लाग्दो रैछ ।
नजिक आको मौका पनि
टाढा टाढा भाग्दो रैछ ।
आफ्नो भन्ने मान्छे पनि
पराइ जस्तो लाग्दो रैछ ।
अति गर्न थाले पछि
सोझो पनि जाग्दो रैछ ।
2072-07-22
10 . सेल्फ़ी
एक्लै थीएं बसको सीटमा
एक्स्क्युज्मि भन्दै उनी बसिन ।
साथमा रैछ सेल्फी स्टिक
सुइरो तान्दै मोबाइल कसिन ।
किट्ट पार्दै सेल्फी हानिन
मलाई समेत कैद गरिन ।
कस्तो छनि पिक्चर भन्दै
देखाउदै मै तिर सरिन ।
राम्रो भनु राम्रो छैन
नराम्रो छ भन्न भैन ।
लाज लाग्यो आफैलाई
उन्लाई कत्ति संकोच छैन ।
मेरो भन्दा तिन्को उमेर
अलि बढ़ी जस्तो लाग्थ्यो ।
उन्को तडक भडक देख्दा
मलाई कस्तो कस्तो लाग्थ्यो ।
2072-07-22
11. भाउ
पहिले भाउ बढथ्यो सुनको
अहिले तेल र नुनको ।
किन होला बढ़िरहने
सधै भाउ उनको ।
दिनमा भाउ बढ्ने घामको
रातमा तारा जुनको ।
किन कहिल्यै भाउ बढेन
मैले लाको गुनको ।
2072-07-23
12
केटा केटी पड्काएर मान्ने हुँदैनन्
कक्षा मात्रै फडकाएर जान्ने हुँदैनन् ।
सानैदेखी सुसस्कार र अनुसासन सिकाएमा
दिउसै भोडका, गाँजा चुरोट तान्ने हुँदैनन् ।
ठुला भन्नेहरुले नै नसिकाउने हो भने
सडकमा निस्की ढुगा हान्ने हुँदैनन् ।
राम्रो शिक्षादीक्षा दिई बनाएमा नैतिकबांन
जेल नेल हथकडिले बान्ने हुँदैनन् ।
2072-07-23
13
मागी मागी हिडनु पर्ने बिदेशिको भिक्षा
कसोगरी सुधार होला हाम्रो देशको शिक्षा ।
नीति छैन थिति छैन कुरा मात्र हुन्छन्
सुधारको कहिलेसम्म गर्ने हो प्रतीक्षा ।
अभियान धेरै आउंछन अबस्था छ उस्तै
कहिल्यै पनि देखिदैन गरेको समीक्षा ।
लाखौं खर्च गर्यो पढयो काम लाग्ने हैन
खै कसरी पूरा होलान् नेपालीका इच्छा ।
बिदेशिको योजनामा शिक्षा चल्ने भएपछि
यहीं पढछ्यौ कि बिदेशतिर लौ भन सदिक्षा ।
2072-07-24
14
बालक देखि बृद्ध सम्म
सबको हातमा तास देख्छु।
गाउघरका टोल टोलमा
जुवाडेको बास देख्छु ।
देउसिरे र भैलिनिको
गीत नाच हराएछन ।
उफर घन्काइ ताली बजाई
डिस्को डान्सको झकास देख्छु ।
आयातित संस्कृतिमा
रमाउन थालि सके ।
आफ्नो रीति संस्कृतिको
जताततै ह्रास देख्छु ।
रातैभरी कोलाहल
निदाउन पाइने हैन ।
बिहान हेर्दा बगैचामा
फलफूल सत्यानास देख्छु ।
2072-07-25
15
देशको उत्कृष्ट मस्तिष्क
अन्तिम बेन्चमा भेटिन सक्छ ।
जीबनका हजारौ सफलताहरु
एउटै गल्तीले मेटिन सक्छ ।
ख्याल गरौ बोल्दा मान्छेको मन
एउटै शब्दले रेटिंन सक्छ ।
2072-07-26
16 . "घरपालुवाको आक्रोस"
कागको पूजा गर्दाखेरि
परेवा रिसायो ।
कुकुर पूजा गर्न थाल्दा
बिरालोले बिन्ति बिसायो ।
गोठमा गई गाई पूजें
भैसी करायो ।
चौथो दिन गोरु पुज्दा
पाडो बर्बरायो ।
उता खोरमा बाख्रा पनि
रिसले चुर भाका ।
के भो भन्दै हेर्न गको
झण्डै मार्न आका ।
कुखुराको भाले रिसले
बास्न छोडी सक्यो ।
हिजै मात्र हाँसले पनी
नाता तोडी सक्यो ।
पोहोरसम्म मिलीजुली
बस्ने गर्थे सबै ।
अबदेखि छुट्टै दिबस
हुदैन रे नभै ।
2072-07-26
17
गीत
भैंसी भन्छ खै मेरो के छ
गोरु माग्छ स्वायत्त प्रदेश
कसो गर्नि हो,
फुकाउंदा चर्नि ठाम् बाख्रालाई
दिन पर्नि हो ।
18
ठूला भन्दा अझ धेरै सानाहरु आए,
देउसिरे र भैलिनिका गानाहरु गाए ।
एकैछिन टोलाएंछु अतित संझिएर,
झलझलि स्मृतिका पानाहरु आए ।
देउसिरे भन्थिन् उन्ले मैले भट्याउंदा,
साइनो गास्ने कति धेरै ब'हानाहरु आए ।
सेलरोटी र फलफूल खान्थ्यौ बाँडिचूडि,
हाम्ले साटि लाउंथ्यौ नया नानाहरु पाए ।
2072-07-27
19
दीदी भाइको नाता संधै सुम'धुर रही रहोस् ,
दुःख कष्ट रोग बाधा सबै दूर भइ रहोस ।
उन्नति र प्रगतिका पाइलाहरु अघि बढून् ,
दुस्ट जनका सपना चकना' चूर भइ रहोस् ।
2072-07-27
१.
गजल
राणा शासन अन्त्य गरी प्रजातन्त्र आयो
अनि फेरि राजा फाली लोकतन्त्र छायो ।
हजारौं सपुतको ठूलो बलिदानी पछि
गणतन्त्र जिन्दाबाद भन्दै ऊ करायो ।
प्रजातन्त्र लोकतन्त्र गणतन्त्र सबै आए
भन्न मन लागेको छ गरीबले के पायो ।
राणापछि राजा हुदै राजापछि महाराजा
जो आयो उस्ले आफ्नो दुनो सोझायो ।
गरीबको चुलो निभ्दा देख्ने कोहि छैन
अधिकार माग्दा उल्टै शासक बर्बरायो ।
२०७२ फागुन ७ गते । ७:२३pm
२.
एउटा चोरले अर्को चोरको बाटो देख्दो रैछ
ठूलोको सामु सानोले यहाँ घुंडा टेक्दो रैछ ।
भागबन्डा मिलेनछ कि खै कसो भएछ कुन्नी
चोरले पनि फेसबुकमा स्टाटस लेख्दो रैछ ।
भित्र भित्रै चोर्दै हिडछ बाहिर भने साधु बन्छ
यही हो चोर भनौ भने आबरणले छेक्दो रैछ ।
देखिन्छ कि कतै आफ्नै पद चाप भनि उस्ले
लुकि लुकि आफै आफ्ना सबुद मेट्दो रैछ ।
चोरी चोरी आफै मात्र खाने पनि कहाँ हो र
नजराना बुझाउनलाई ठूलै मान्छे भेट्दो रैछ ।
२०७२ फागुन ९ गते /९:५०am
३.
सेवा प्रबेश गर्ने बेला भनसुनले ऊ छिरयो ।
जब संस्थाभित्र छिरयो सबैलाई पो पिरयो ।
घडिले दश बजाउदा हाजिर कहिल्यै हुन्न
अतिरिक्त क्रियाकलाप उस्ले कहिल्यै छुन्न ।
बांगा मात्रै कुरा गर्छ बोल्ने गर्छ चर्को संग
कहिले झगडा एउटासंग कहिले अर्कोसंग ।
साँचो कहिल्यै बोल्ने हैन बनावटी कुरा गर्छ
ढांट छल गरी गरी आफ्नै स्वार्थ पूरा गर्छ ।
फूर्ति मात्रै लगाउंछ बिषय बस्तु जान्ने हैन
आफू भन्दा माथिल्लोले भनेको मान्ने हैन ।
कनिकुथी पढेकोथ्यो बिर्से होला उस्ले सबै
एउटै प्रश्न हल गर्दैन गेस,गाइड,नोट नभै ।
धाक धम्की डर देखाई केटाकेटी तर्साउंछ
बुझ्ने गरी सिकाउंदैन उल्टै लाठी बर्षाउंछ ।
राजनीतिको फेरो उस्ले दह्रो गरी समाएछ
यता ठगठाग उता भने राम्रै नाम कमाएछ ।
कहिलेकाहीँ यता आउने नत्र उतै धाउने
यस्ता काम चोरलाई कस्ले ठेगान लाउने ।
२०७२-११- १०/९:२०am
४.
बिसौं बर्ष खर्च गरी डिग्री पास गर्यो काम छैन
जागिर खोज्दै भौतारियो गोजीभित्र दाम छैन ।
जता जान्छु उतै देख्छु पैसावालाकै रवाफ छ
कुन देश गयो कति ल्यायो सवाल जवाफ छ ।
पल्ला घरे हर्के अस्ति युकेबाट नेपाल आको
यसो हेर्दा जिऊ भरी सुनै सुनका सिक्रि लाको ।
काठमाण्डू र पोखरामा दुईटा घर किन्या छरे
थोत्रा चप्पल लगाउनेले कार चढेर हिन्या छरे ।
हिजो मात्रै महोत्सबमा लाखौं रकम दान गरेछ
आयोजकले पनि उस्लाई गर्नु सम्म मान गरेछ ।
तल्ला घरे चक्रे भने गाउँकै स्कूल धाउने गर्छ
झिस्मिसेमा ड्युटी जान्छ साँझ घर आउने गर्छ ।
पेन्सन पाक्ने बेला भयो अस्थायी जागिर खान्छ
महँगीले नेटो काटयो घरको खर्च के ले धान्छ ।
२०७२-११-१०/११:०८pm
५.
मुक्तक
१.
ऊर्जा नदी बगेको छ अन्धकार बीचबाट
नियतिले ठगेको छ अन्धकार बीच बाट ।
बत्ती मुनि अध्यारो हुन्छ भन्थे बूढा पाका
बाल्नअन्तै लगेको छ अन्धकार बीचबाट ।
२०७२-११-११
६.
कर्णालीको अनिकाल देख्ने कोहि छैन
चुलो नबलेको ब्यथा लेख्ने कोहि छैन ।
भुकम्पले घर भत्के केटा केटी पालमुनि
न्यानो नाना लागाएर सेक्ने कोहि छैन ।
राहतको बहानामा अरबौंको भ्रष्टाचार
बिपत्तिको हुरी बतास छेक्ने कोहि छैन ।
हिजो भोट माग्ने नेता आज हराएछन
दुखियाको आँगनीमा टेक्ने कोहि छैन ।
२०७२-११-१२/८:१० am
७.
बिदेश गई हण्डर खाई स्वदेश फर्के सेते,काले
साहुसंग ऋण खोजी खसी बाख्रा पाल्न थाले ।
खरबारीको डाले घाँस र घरकै अन्न खुवाएर
उन्नत जातका बाख्रा मोटा बनाई तिन्ले पाले ।
बाख्रा मात्रै कहाँ हो र लोकल कुखुरा सँगै थिए
आँगनीमा नांची नांची लड्न थाले खसी भाले ।
खेतबारी मलिलो भो अन्न दोब्बर फल्न थाल्यो
जब तिनले मल, जुतो ,सुलि लगी खेतमा हाले ।
दुई जनाको उद्यमले ब्यबसायिक रूप लियो
शहरमा घर घडेरी जोडे धन कमाए मज्जाले ।
ती दुईको ईलम देखि चकित छन् गाउंलेहरु
पछुताउन थालि सके बिदेश ग'का हर्के लाले ।
कर्म गर्न सके यहीं हिरा मोती फल्छ बाबू
धन कमाउन बिदेश नजाऊ भन्न थाले बाले ।
२०७२-११-१३
८.
अर्थ खोज
आफू रोएर अरुलाई हसाउनुको अर्थ खोज ।
आफै खडेर अरुलाई बसाउनुको अर्थ खोज ।।
अरुको दुःख पीडामा पनि परेलीको डिलबाट ।
तपतप गर्दै अश्रुधारा रसाउनुको अर्थ खोज ।।
स्वार्थी नै स्वार्थीहरुको यो पापी दुनियाबीच ।
आफू मरेर अरुलाई बचाउनुको अर्थ खोज ।।
आफ्नै भलो गर्नेहरु त कैयौ भेटिन्छन यहाँ ।
बिपत्तिमा मृत्युलाई पचाउनुको अर्थ खोज ।।
२०७२-११-१४/८:३९pm
९.
आफू मरेर अरुलाई बचाउनेलाई सलाम छ ।
आज नौलो इतिहास रचाउनेलाई सलाम छ ।।
अमर बनी बस्यौ तिमी नेपालीको ढूकढूकिमा ।
बिपत्तिमा मृत्युलाई पचाउनेलाई सलाम छ ।।
आफ्नो गाउँ आफैं बनाऊ जुट गाउँलेहरु
गल,गैंची , बेल्चा उचाली उठ गाउँलेहरु ।
कति सुन्ने अझै पनि भाषण नेताज्यूको
आफ्नो लागिआफै गीटि कुट गाउँलेहरु ।
यदि तिमी स्वाबलम्बी बन्न सिक्यौ भने ।
नेताज्यूले पाउने छैन छुट गाउँलेहरु ।।
एकतामै बल हुन्छ भन्ने कुरा बुझेपछि
केलाई चाहियो गुट उप गुट गाउँलेहरु ।।
२०७२-११-१५/१०:०८pm
१0.
यस्तो भयो !!!!!!!!!!!!!!
जति दूरी टाढा भयो ।
उति माया गाढा भयो ।।
नजिकैको माया बरु ।
अली बढ़ी छाडा भयो ।
टिप्न खोजें सुन्दर फूल ।
त्यहिं घोच्ने कांडा भयो ।।
हेर्न खोजें मायालुलाई ।
बीचमा छेक्ने डांडा भयो ।
२०७२-११-१९/९:४८am
११.
कोहि भेटिएन ............
सानो छँदा पढ़नु है बाबु भन्ने कोहि भेटिएन ।
दुःख पर्दा आफ्नो मान्छे बन्ने कोहि भेटिएन ।।
यो दुनियां स्वार्थी रैछ आफ्नै दुनो सोझ्याउने ।
दीन दुखिको आफन्तमा गन्ने कोहि भेटिएन ।।
सुख दुःख के हो भनि छुटयाउने चाहना थियो ।
दुबै कुरा नाङलोमा नि' फन्ने कोहि भेटिएन ।
मरी जाँदा के के नै लैजान्छु जस्तो गर्नेको पनि ।
आफ्नै लाश गाड्ने खाडल खन्ने कोहि भेटिएन ।
२०७२-११-२०/९:३७pm
१२.
म संग छँदा तिमी हिड्थ्यौ सुन लगाएर ।
तिम्रो हाँसो मेरो खुशी भन्थे गुन लगाएर ।।
तिमी रूँदा मैले आँशु पुछि दिने गर्थे सानु ।
आज किन हास्छ्यौ मलाई रुन लगाएर ।।
औसिको रात झैँ भयो मेरो जिन्दगानी ।
तिमी भने बसाई सरी गयौ जून लगाएर ।
पोटिलो अन्नको दाना जस्तो जिबनमा
एक्लै छाडि गयौ मलाई घुन लगाएर ।
२०७२-११-२१/५:४८am
१३.
अनुभूति
हिजो मारामार गर्ने गर्थे
आज सँगै बसेको देखें ।
एकापसमा मिची मिची
गोडामा तेल घसेको देखें ।।
सूर्य पनि पश्चिमबाट
उदाउन थालेछ कि कुन्नी ।
अचम्मै पो भयो आज
दिउसै तारा खसेको देखें ।।
२०७२-११-२१/८ : ५ am
१४.
सबै भन्दा ठूलो घात आफन्तले गर्दो रैछ ।
जिन्दगीमा बज्रपात आफन्तले गर्दो रैछ ।।
दुश्मन खोज्न कतै टाढा नजानु है तिमी ।
लुकिलुकि खुराफात आफन्तले गर्दो रैछ ।।
खै कसरी जोगाउन सक्छु तिम्रो अस्मिता।
परै बाट लामो हात आफन्तले गर्दो रैछ ।।
कहिल्यै भलो सोच्ने हैन नानाथरि बोल्छ ।
घातै हुने झुठो बात आफन्तले गर्दो रैछ ।।
२०७२-११-२४
१५.
अधिकारका कुरा गर्छौ एक दिन दिबस मनाएर ।
गधा जस्तै भयो जीबन बाकिं दिन दास बनाएर ।।
नारी पुरुष एक भन्छौ बिभेद गर्न छोड्ने होईनौ ।
के काम लाग्यो मौलिक हक संबिधानमा जनाएर ।।
कति खुट्टा तान्न सक्छौ तान्दै गर्नु है ।
हिड्ने बाटो कुरी ढुंगा हान्दै गर्नु है ।।
लक्ष्य चुम्न अघि बढ्ने पाइला रोकिदैन ।
सक्छौ भने रोक्ने कडि छान्दै गर्नु है । ।
अति गरे खति हुन्छ थाहा छ कि छैन ।
सोझो जागे दुर्जन हार्छ जान्दै गर्नु है ।
दुनियालाई डस्ने मात्रै बानी तिम्रो रैछ ।
आफूले नै आफ्नो कात्रो बान्दै गर्नु है ।।
२०७२-११-२५ /६:३०pm
१६.
गीत
तिमीले साथ दिन छोड्यौ
कसरी म बाँचु ।
मुटु भित्र पीडा लुकाई
कसरी म हाँसु ।।
जिन्दगीको गोरेटोमा
कति आए कति गए ।
आफ्नो भन्ने मान्छेहरु
पनि आज टाढा भए ।।
टुक्रिएको मुटु सिलाई
कसरी म गाँसु ।
मुटु भित्र पीडा लुकाई
कसरी म हाँसु ।।
तिम्रो मेरो सम्बन्ध त्यो
एकादेशको कथा भयो ।
नदेखिने घाउ बनि
बल्झिरहने ब्यथा भयो ।।
रहरहरु मनमै रुकाई
कसरी म साँचु ।
मुटु भित्र पीडा लुकाई
कसरी म हाँसु ।।
२०७२-११-२६/३:३९ pm
१७.
अमृत भनि बिष मलाई पिलाएर गयौ ।
जुनिभरी बल्झिने याद दिलाएर गयौ ।।
तिमीसँगै जुनि काट्छु भन्ने गथ्यौ सानु ।
आज किन आफ्नै मेसो मिलाएर गयौ ।।
पथ्थर फोडेर बाटो जब अघि बढछ ।
बन्धन तोडेर मान्छे जब अघि बढ़छ ।।
तब खुल्छ यहाँ उन्नतिको मार्गचित्र ।
आलस्य छोडेर मान्छे जब अघि बढ़छ । ।
सबैको सहयोगले पो शिखर चुमिन्छ ।
नाता जोडेर मान्छे जब अघि बढ़छ ।।
जोखिम उठाउनुको मज्जा बेग्लै हुन्छ ।
यात्रा मोडेर मान्छे जब अघि बढ़छ ।।
२०७२-११-२९/८:००pm
१८.
नेपालीको दौरा सुरुवाल भेष हराएछ ।
कपाल खैरो देख्छु कालो केश हराएछ ।।
दिनदिनै युबाहरु बिदेशिन थालिसके ।
खोज्दै छु म आज आफ्नै देश हराएछ ।।
१९.
"म कस्तो शिक्षक हुँ ? "
शिक्षणमा सुधार गर्न नचाहने
म कस्तो शिक्षक हूँ ।
नमूना बनेर मर्न नचाहने
म कस्तो शिक्षक हुँ ।।
घरैको छेउमा जागिर चाहिने
काम धन्दा भ्याइने ।
दुई पाइला टाढा पर्न नचाहने
म कस्तो शिक्षक हुँ ।
पुरानै बिधि उही पुरानै शैली
अबलम्बन गर्दैछु ।
कक्षामा प्रबिधि भर्न नचाहने
म कस्तो शिक्षक हुँ ।।
नराम्रो गर्नेको उदाहरण दिन्छु
राम्रो को सिको छैन ।
कहिल्यै अगाडि सर्न नचाहने
म कस्तो शिक्षक हुँ ।।
२०७२-१२-०१ /५:४८ pm
२०.
कोहि गर्छन् काम यहाँ सधैंभरि मरी मरी ।
कोहि भने डुलि हिड़छन टन्न भुंडी भरी ।।
जतिसुकै जोतिएर काम गरि रहदा पनि ।
भोकै हुन्छन बाल बच्चा हेर कठै बरी । ।
थरथर काप्दै जाडो भयो भन्छन् शिशुहरु ।
कठान्ग्रिने सिरेठो तिन्ले छल्ने कसो गरी ।।
हरेक बर्ष भर्ना अभियान कहाँ चल्छ कुन्नि ।
स्कूल लगी सिकाई दिने कोहि छैन बाह्रखरी ।
केहि दिन भो महामारी फैलिएछ गाऊँ तिर ।
अस्ति देखि घरकी जहान पनि थला परी । ।
खाना, नाना,छाना अनि शिक्षा स्वास्थ्य छैन ।
देशै छोडी मुग्लान जाऊँ झैँ लाग्छ घरीघरी ।।
२०७२-१२-०२/८:२०am
२१.
भलो गर्छु भन्दा भन्दै ज्यानै पो सुक्न थालिसक्यो ।
आफ्नै मान्छे भन्ने पनि देख्दा लुक्न थालिसक्यो ।।
दुनिया सबै स्वार्थी रैछन आफ्नै दुनो सोझ्याउने।
अरुलाई अघि सार्दा अबसर चुक्न थालि सक्यो ।।
जसको शक्ति उस्को भक्ति शक्तिकै पछि लाग्ने ।
आफ्नै कुकुर आफैसंग आज भुक्न थालि सक्यो ।।
धनकै पछि लाग्छन् सबै तछाड मछाड गरी गरी ।
कमाई छोटो, खर्च मोटो दैनिकी रुक्न थालिसक्यो ।।
ज्ञान, बुद्धि, बिबेक सबै ओझेल परिसकेका छन ।
धनको बिटो नहुनेको स्वाभिमान झुक्न थालिसक्यो ।।
२०७२-१२-०४/८:१६am
२२.
हिजोको हितैषी मित्र आज शत्रु जस्तो भयो ।
बिश्वाशमा ठूलो घात गर्यो नाता सस्तो भयो ।।
मैले ला' का गुनहरु सबै उसले बिर्सियो कि ।
गुनको बदला बैगुन दियो कस्तो कस्तो भयो ।।
ह्यारी तिमी हरि बन भन्दै गीत गाउन थाले ।
जताततै राजतन्त्र बादी हरु छाउन थाले ।।
आफूलाई गणतन्त्रको ठेकेदार ठान्नेहरु पनि ।
लुकिलुकि हिजोआज नागार्जुन धाउन थाले ।।
कति बस्छौ निदाएर जाग्नू पर्छ अब ।
के हो आफ्नो अधिकार माग्नु पर्छ अब ।।
पाइदैन त्यसै यहाँ खोसिएको अधिकार ।
मुठ्ठी कसी संघर्षमा लाग्नु पर्छ अब । ।
युबाहरु बिदेशिन थाले देश कहाँ बन्छ ।
ठगी खानेहरु देशबाटै भाग्नू पर्छ अब ।।
श्रम गर्नेहरुलाई सम्मान गर्न सक्नु पर्छ ।
कुरीति र कुसंस्कारलाई त्याग्नु पर्छ अब ।।
२०७२-१२-१५/९:३०am
२३.
पानी परेपछि आकाश खुले जस्तै खुलि देउन ।
कांडा बीच सुन्दर फूल फुले जस्तै फुलि देउन ।।
सजाउने छु तिमीलाई मेरो मनको बगैचामा ।
रस स्वादन गर्दै माहुरी डुले जस्तै डुलि देउन ।।
तिम्रै निम्ति भनि मैले कति दुःख कस्ट सहें ।
अतितका ती यादहरु मनभित्र बटुलि देउन ।।
अन्जानमै धेरै गल्ती गरिंदो रैछ जिन्दगीमा ।
जे कमजोरी भयो हिजो आज सबै भूली देउन ।।
२०७२-१२-१६/१:३०pm
२४.
पढ़दै नपढ़ी यहाँ उत्तीर्ण हुन पाइने भो ।
बढदै नबढ़ि भीमकाय हुन पाइने भो ।।
केको लागि मरिहत्ते गर्छौ ए मूर्खजन हो ।
लड़दै नलडि बिजयी पो हुन पाइने भो ।।
भुलिदेउ तेन्जिङ र पासांगका कथाहरु ।
चढ़दै नचडि शिखरमा हुन पाइने भो ।।
चाहिदैन अब सडाउने ब्याक्टेरियाहरु ।
सड़दै नसडि दुर्गन्धित हुन पाइने भो ।।
२०७३-१२-१९/५:०८am
२५.
कतै केन्द्राध्यक्ष नै जुवाको खालमा भेटिए रे ।
कतै निरीक्षकहरु नशाको तालमा भेटिए रे ।।
अनुगमन गर्न जानेहरुको त कुरै नगरौं हजुर ।
रक्सी , ब्राण्डी बियरको आहालमा भेटिए रे ।।
खुशियाली मनाउँदै छन उता परीक्षार्थी पनि ।
चिन्ता छैन हृष्ट पुष्ट जीउ डालमा भेटिए रे ।।
कही नभाको जात्रा हांडी गाउँमा भन्ने गर्थे ।
आज धेरै हांडी गाउँहरु नेपालमा भेटिए रे ।
२०७२-१२-२०/५:४२am
२६.
जोगीहरुले पनि यहाँ भिक्षाको ब्यापार गर्न थाले ।
ढोंगीहरुले पनि यहाँ इच्छाको ब्यापार गर्न थाले ।।
बिरोधमा हिजो चर्किएर नारा लगाउनेले नै हजुर ।
खुलेआम आज यहाँ शिक्षाको ब्यापार गर्न थाले ।।
खै कसरी निको होला र यो शिक्षाको दीर्घ रोग ।
आफूले आफ्नै यहाँ परीक्षाको ब्यापार गर्न थाले ।।
भो छाडिदेउ अब सबैको भलो चिताउने कुरा गर्न।
खुराफातीले नै यहाँ सदिक्षाको ब्यापार गर्न थाले ।।
राम्रो गर्ने यहाँ नराम्रो बन्छ नराम्रो ले पगरी गुथ्छ ।
खोइरो खन्नेहरुले समिक्षाको ब्यापार गर्न थाले ।।
२०७२-१२-२२/९:२६pm
२७.
काम बिगार्नेआफू हुन्छौ दोष अरुलाई दिन्छौ ।
के हो राम्रो के नराम्रो खै कसरी तिम्ले चिन्छौ ।।
मरी मरी काम गर्ने भोक भोकै सुत्ने गर्छन ।
तिनको पसिनाको मूल्य तिमी आफै लिन्छौ ।।
नयाँ नेपाल, नयाँ नारा, नयाँ तिम्रो अभियान ।
न त कहिल्यै सुध्रीन्छौ तिमी न त बदलिन्छौ ।।
जब बुझ्छन तिम्रो चाला शोषित पीडितजन ।
जुर्मुराउंदै उठन थाल्छन तिमी त सिद्धिन्छौ ।।
२०७२-१२-२३/१०:१५ am
२८.
औसिको रात झै जीबन कालो भए पनि ।
आँशु झर्दा आँखा पुछ्ने टालो भए पनि।।
जुनिजुनि सम्म तिमीलाई सम्झी रहूँला ।
अस्ताउने आखिर मेरै पालो भए पनि ।।
सुख छोडी दुःख बीच रम्ने बानी परेको छ ।
उस्लाई नाफा मेरो भागमा हानी परेको छ ।।
उसको जीबन घाम ताप्दै बितेको छ अरे ।
यता हावा हूरी मुसलधारे पानी परेको छ ।।
खै कसरी उपर गर्न सकिन्छ र अब यहाँ ।
टाट पल्टिने कारोबारमा लगानी परेको छ ।।
अस्मिता जोगाउने कुरा गर्नु ब्यर्थ लाग्यो ।
बलिष्ठ दुई पाखुराबीच जवानी परेको छ ।।
सिद्धान्त र ब्यबहारमा स्खलित भए पछि ।
संसारलाई जित्ने सपना खरानी परेको छ ।।
२०७२-१२-२५/५:५१ am
२९.
केहि साथी उडि गए बनि सके परदेशी ।
केहि तल बसाई सरे भई सके मधेशी ।।
यसो हेर्दा मत गाउँमा एक्लै पो भएछु ।
भन्न थाले तं भूमि मात्र भइस घरदेशी ।।
भन्नेले जे सुकै भनुन यही बसिरहन्छु म ।
किनकिन प्यारो लाग्छ आफ्नै गाउँबेशी ।।
परदेशिका पीडा उस्तै मधेशिका उस्तै ।
के लाई रहर गर्नु परयो आंखैले देखेसि ।।
२०७२-१२-२५/ साँझ ७:३० बजे
३०.
तिम्ले फल मासु लग्यौ मलाई आन्द्रा भुंडी दियौ ।
जिन्दगीको सुन्दर फ़ूल तिमीले नै चूं डि दियौ ।।
के गरौं खै हिसाब किताब असफल जिन्दगीको ।
कोष्ठ भित्र राखी मलाई शुन्यले पो गुणी दियौ ।।
२०७२-१२-२६/५:३९am
३१.
गर्नु पर्नेले उसको काम कुरो गर्दैन भने ।
आफ्नो कर्म आफै गर्न अघि सर्दैन भने ।।
तैले मात्रै बल गरेर केहि हुन्न भूमि यहाँ ।
जब उसको हात बाट माखो मर्दैन भने ।।
नाङ्गो हुने हुँदै जान्छन रमिता हेर तैले ।
चिन्ता नगर उस्ले लाज छोप्नु पर्दैन भने ।।
गाई बस्तु चराउन चरन सम्म लैजाने हो ।
कोचाउन सकिदैन ऊ आफै चर्दैन भने ।।
२०७२-१२-२९/७:३० am
३२.
सन्दर्भ "भर्ना अभियान "
बिद्यालय भर्ना गरौं साना बाबु नानीलाई ।
प्रोत्साहन गर्ने गरौं पढ़ने लेख्ने बानीलाई ।।
माया, ममता, स्नेहले राम्रो सिकाइ दिऊं ।
झोला बोकी रमाइ रमाइ स्कूल जानीलाई ।।
सिर्जनाका लहरहरु उर्लिएर आउने गरी ।
फराकिलो बनाई दिऊं ज्ञानको खानीलाई ।।
नेपालबाटै निरक्षरता उन्मूलन गरौं अब ।
उपलब्धि बढ़ाएर रोकौ शैक्षिक हानीलाई ।।
भूमिराज शर्मा, पर्बत
२०७२-१२-३०/६:३० pm
३३.
सन्दर्भ "नयाँ बर्ष "
आयो आयो फेरि अर्को नयाँ बर्ष आयो ।
गाँऊ शहर जताततै उमङ्गले छायो ।।
मनैभरि खुशीयाली बनैभरि हरियाली ।
बसन्तले रँग फेरयो पालुवा पलायो ।।
नयाँ आशा अभिलाषा सपनाहरु बोकी ।
दुःख पीडा दर्द भुलि हास्न मन लायो ।।
जे भै गयो बहत्तरमा बिर्सि सकेको छु ।
आज खुशी उमङ्गले यो मनै रमायो ।।
३४.
नव बर्ष बिशेष
राशिफल हेरेको त अशुभ हुन्छ लेख्या रैछ ।
भोलि के हुन्छ भन्ने ज्योतिषिले देख्या रै छ ।।
लेख्नेहरु लेख्दै जाऊ कर्म गर्न छोडिदैन ।
ज्योतिष भनिदेउ भोलि कस्ले भेट्या रैछ ।।
दुनियांको भबिष्य हेर्छौ आफ्नै थाहा छैन ।
तिम्रो आफ्नो हस्तरेखा कस्ले मेट्या रैछ ।।
जेजे पर्छ त्यहि टर्छ भन्दै अघि बढ़छु म त ।
जिन्दगीको सारंगीलाई कर्मैले रेट्या रैछ ।।
भुमिराज शर्मा , पर्बत
२०७३-०१-०१/१:३९pm
३५.
पहाडको चिसो पानी मधेसमा पायो भने ।
मधेसको अन्नपात पहाडमा आयो भने ।।
बिकसित हुन्थ्यो होला मेरो प्यारो देश ।
पहाड र मधेशले माया प्रीति लायो भने ।।
मधेसका फांटहरुमा गरिखाने आँटहरु ।
कति खुशी हुन्थे होला शान्ति छायो भने ।।
को पहाडी को मधेसी हामी सबै नेपाली ।
देश डुब्छ बिखण्डनको गीत गायो भने ।।
२०७३-०१-०४/८:३६ am
३६.
मुक्तक
१.
जसको बोल्ने ढंग छैन
उही बक्ता बनेको छ ।
जसको लेख्ने ढंग छैन
लेखक हूँ भनेको छ ।।
दुई चार अक्षर लेख्न
पढन नजानेर के भो ।
तिम्रो भन्दा क्षमता त
हाम्रा गाउँको रनेको छ ।।
२०७३-०१-०५/११:५२pm
२.
जो भनेको मान्दैन उही
आज्ञाकारिताका कुरा गर्छ ।
जो आफै बेइमान छ उ
इमान्दारिताका कुरा गर्छ ।।
बोली र ब्यबहारबीच
दरार पैदा भएको देख्छु ।
जो आफै भ्रष्ट छ उहि
सदाचारिताका कुरा गर्छ ।।
३७.
गजल
ट्राफिकले मापसे जाच्यो गाड़ी रोकेर ।
नेताजी नै हिडया रैछन रक्सी धोकेर ।।
खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरियो ।
बाटो हिडनु पर्छ अझै नाक छोपेर ।।
साक्षरता अभियानमा धेरै खर्च भयो ।
पूर्ण साक्षर गाउँ बन्यो ल्याप्चे ठोकेर ।।
दिनभर पुस्तक दिबस मनाएकी छोरी ।
बेलुका घर फर्किन रित्तो झोला बोकेर ।।
दातालाई झुक्याउन हल्लामात्र गर्छौ ।
कुनदिन दाता फर्किंने हुन जिब्रो टोकेर ।।
२०७३-०१-०६/९:३० am
३८.
मुक्तकहरु
१.
पैसा जति उस्कै हातमा
मलाई रित्तो खल्ती भयो ।
राम्रो जति उस्कै पौरख
मेरो भागमा गल्ती भयो ।।
जिन्दगीको बचत खाता
उस्कै नाउंमा खोले पछि ।
ब्याज खान्छे उही मोरीले
मेरो खाता चल्ती भयो ।।
२.
जाडो हुँदा सबैलाई
घाम प्यारो हुँदो रैछ ।
मालिकलाई कामदारको
काम प्यारो हुँदो रैछ ।।
आजकलको जमाना
के आएछ यस्तो कुन्नी ।
अमूल्य यो ज्यान भन्दा
दाम प्यारो हुँदो रैछ ।।
२०७३-०१-०७/९:३० am
३९.
लोकतन्त्र बिशेष
लोकतन्त्र गणतन्त्र भन्दै दिन बित्यो ।
नेताजीको भरिया बन्दै दिन बित्यो ।।
भट्याएका सबै तन्त्र देशमा आइसके ।
जमीन्दारको खोरिया खन्दै दिन बित्यो ।।
झुपडी नि भत्काइ दियो पापी भुकम्पले ।
आकाशका ताराहरु गन्दै दिन बित्यो ।।
गास छैन बास छैन बाच्ने आश छैन ।
येन केन प्रकारेण झण्डै दिन बित्यो ।।
२०७२-०१-११/९:४६am
४०.
भुकम्प बिशेष
भुकम्पले घर भत्क्यो आफन्तको लास भयो ।
बर्ष दिन बितिसक्यो त्रिपाल मुनि बास भयो ।।
पीडा अझै मेटिदैन झल्को आउँछ घरि घरि ।
हजारौंको मृत्युसँगै धनजन सत्यानास भयो ।।
पीडितलाई राहत दिने भाषण मात्र गरी बस्यौ ।
गोदाममा राहत सड्यो यता आधा गास भयो ।।
धेरै ठूलो सहयोग आयो कता गयो पत्तो छैन ।
आज भोलि हल्ला सुन्छु नेताजीकै पास भयो ।।
कस्लाई पो सुनाऊँ खै पीडितका दुःख ब्यथा ।
भोट हाली पठाएको नेता झन बदमास भयो ।।
२०७३-०१-१२/६:५२am
४१.
जलस्रोतको धनी देशमा गाग्री हानाहान भयो ।
लोकतन्त्रको नाम जप्दै कुर्ची तानातान भयो ।।
दश पढयो गाउँ छोड्यो बाह्र पढयो देशै छोड्यो ।
रोजगार खोज्दै बिश्वभरि डुल्ने पहिचान भयो ।।
पछि परे जागिर खाने भन्दै गाउँमा अल्झिनेहरु ।
दुई चार बर्ष बिदेश बस्ने आज नम्बर वान भयो ।।
पढयो लेख्यो काम छैन हात मुख जोर्न माम छैन।
दक्षता र योग्यताको आज यहाँ अपमान भयो ।।
२०७३-०१-१५/९:१७
"पीडा अस्थायी शिक्षकको "
बिसौं बर्ष पढाएर सेवाबाट बाहिरिदै छु ।
मुटुमा तीर गढ़ाएर सेवाबाट बाहिरिदै छु ।।
डढ़ेलोले सुकाएको जंगलको ठुटो जस्तै ।
आफैलाई डढ़ाएर सेवाबाट बाहिरिदै छु ।।
उर्जाशील जिन्दगानी कर्णधारलाई भनि ।
आज बलि चढाएर सेवाबाट बाहिरिदै छु ।।
आफ्नै चेला आफू भन्दा धेरै माथि पुगे ।
आशाहरु सडाएर सेवाबाट बाहिरिदै छु ।
सुनौलो हात हल्लाउने नीति आयो अरे ।
झनै ब्यथा बढाएर सेवाबाट बाहिरिदै छु ।।
२०७३-०२-१४/८:३३pm
भुकम्प बिशेष
भुकम्पले घर भत्क्यो आफन्तको लास भयो ।
बर्ष दिन बितिसक्यो त्रिपाल मुनि बास भयो ।।
पीडा अझै मेटिदैन झल्को आउँछ घरि घरि ।
हजारौंको मृत्युसँगै धनजन सत्यानास भयो ।।
पीडितलाई राहत दिने भाषण मात्र गरी बस्यौ ।
गोदाममा राहत सड्यो यता आधा गास भयो ।।
धेरै ठूलो सहयोग आयो कता गयो पत्तो छैन ।
आज भोलि हल्ला सुन्छु नेताजीकै पास भयो ।।
कस्लाई पो सुनाऊँ खै पीडितका दुःख ब्यथा ।
भोट हाली पठाएको नेता झन बदमास भयो ।।
२०७३-०१-१२/६:५२am
जलस्रोतको धनी देशमा गाग्री हानाहान भयो ।
लोकतन्त्रको नाम जप्दै कुर्ची तानातान भयो ।।
दश पढयो गाउँ छोड्यो बाह्र पढयो देशै छोड्यो ।
रोजगार खोज्दै बिश्वभरि डुल्ने पहिचान भयो ।।
पछि परे जागिर खाने भन्दै गाउँमा अल्झिनेहरु ।
दुई चार बर्ष बिदेश बस्ने आज नम्बर वान भयो ।।
पढयो लेख्यो काम छैन हात मुख जोर्न माम छैन।
दक्षता र योग्यताको आज यहाँ अपमान भयो ।।
२०७३-०१-१५/९:१७
सन्दर्भ " मई दिबस "
गफ गर्ने गफाडिलाई गफै पिच्छे ताली हुन्छ ।
श्रम गर्ने श्रमिकलाई उल्टै यहाँ गाली हुन्छ ।।
पाऊंदैनन श्रमिकले तोकिएको ज्याला पनि ।
जब शोषक सामन्त नै सत्तामा बहाली हुन्छ ।।
दिनदिनै हजारौं हजार युबाहरु बिदेशिन्छन ।
गाउँ मात्र होइन अब शहर पनि खाली हुन्छ ।।
पाउने छैनन् श्रमिकले खोसिएको अधिकार ।
बिश्वास गरी पठाएको नेता जब जाली हुन्छ ।।
२०७३-०१-१९/८:५४pm
सरकार ढाल्ने खेल फेरि चल्न थालेको छ ।
सहयात्री बनेकैले किन छल्न थालेको छ ।।
बामपन्थी एकताको कुरो गर्थ्यौ कमरेडहरु ।
सात महिनामै गठबन्धन ढल्न थालेको छ ।।
जनबादी सत्ता ल्याउंछौं भनी कुर्लिएथ्यौ । ।
पूँजी बादी सत्ताकै फल फल्न थालेको छ ।।
काम कुरो एकातिर कुम्लो बोकी सत्तातिर ।
तिम्रै कार्यकर्ताको मन जल्न थालेको छ ।।
कहिल्यै कुरो बुझ्ने हैनौ चल्छौ इशारामा ।
राजनीतिमा रातो बत्ती बल्न थालेको छ ।।
२०७३/०१/२२ Wed 11pm
हिजो रातो बत्ती बल्यो आज हरियो ।
नेताज्यूको यूटर्न देख्दा छक्कै परियो ।।
साँझपख एउटा कुरा बिहानीमा अर्कै ।
रात भरि कता गइयो के के गरियो ।।
सौदाबाजी सत्ताकै छ आलोपालो गर्ने ।
जनतालाई आश्वासनकै भ्रम छरियो ।।
भुकम्पले भत्किएको घर बन्ने कहिले ।
फेरि अर्को त्रिपाल मुनि बसाई सरियो ।।
२०७३-०१-२३/८:१८pm
गजल
शिक्षामा पैसाको खेलो भएको छ ।
रातारात कमाउने मेलो भएको छ ।।
कृतिम नतिजाको बिगबिगी बढ्यो ।
गरी खान नसक्ने चेलो भएको छ ।।
लाखौंको भबिष्य क्षणभरमै जल्ने ।
शिक्षा खडेरीको डढ़ेलो भएको छ ।।
नपढ़ेकाहरुको त कुरै नगरौं हजुर ।
पढेकै मान्छे पनि अर्घेलो भएको छ ।।
२०७३-०१-२५/७:२३am
तिमी नभए
मरे तुल्य हुन्छु म तिमी नभए ।
एक्लै बसी रुन्छु म तिमी नभए ।।
तिम्रै याद आई दिन्छ घरिघरी ।
तस्बिरलाई छुन्छु म तिमी नभए ।।
कोहि छैन मनको ब्यथा बुझि दिने ।
आँशुले पीर धुन्छु म तिमी नभए ।।
उर्लिएर आएका रहरहरु लाई ।
मन भित्रै थुन्छु म तिमी नभए ।।
कुरा काट्नेहरु सल्बलाए पछि ।
नराम्रो हल्ला सुन्छु म तिमी नभए ।।
२०७३-०१-२६/६:४०pm
हाम्रो १८ बर्षे सहयात्रा ।
पत्तै नपाई बिते हाम्रा ती अठार बर्ष ।
धेरै दुःख पीडा झेल्यौ थोरै मात्र हर्ष ।।
जिन्दगानी यस्तै रैछ एक्लै हिड़न गार्हो ।
दुई जनाबीच गर्नु पर्ने बिचार र बिमर्श ।।
कुन मोडले कतातिर लैजाने हो कुन्नी ।
हरेक पाइला पाइलामा गर्नु छ संघर्ष ।।
एउटाको मर्मलाई अर्कोले बुझ्न सके ।
सफल हुन्छ सहयात्रा भन्दैछु सहर्ष ।।
२०७३-०१-२९ /८:२९ pm
बाहिर अमृत तर भित्र जहर भेटेको छु ।
जिन्दगीको मोडमा दुखद प्रहर भेटेको छु ।।
जोखिम मोलि धनको पछि दौडिदैछ मान्छे ।
छोटो बाटो धन कमाउने रहर भेटेको छु ।।
छाडिदेउ अस्मिताका कुरा गर्न मेरो सामु ।
जवानीको लिलाम हुने शहर भेटेको छु ।।
बाहिरि रूप एकथरि बास्तबिकता अर्कै ।
आफन्तकै भर नपर्ने ठहर भेटेको छु ।।
२०७३-०२-०६/७:५०am
कहिले हुन्छ अनाबृष्टि कहिले अति बृष्टि ।
सताउनु थियो भने किन प्रभु यस्तो सृष्टि ।।
बाली नाली सबै नष्ट पुर्पुरोमा हात भयो ।
सरकारमा रमाउनेको कहिले पुग्ला दृष्टि ।।
२०७२-०२-०३/६:२८am