सडक र म ( कविता)
म जहाँ 
जन्मे
हुर्के 
खेले र सिकेँ
मेरो 
जन्म भूमि
कर्म भूमि
पाठशाला 
जे भने पनि 
मेरो प्यारो सडक तिमीलाई सलाम छ ।
जसले
मेरो नाम
जुरायो
जिउनकै लागि
काम पुर्यायो
यसैले मेरो
पहिचान दियो 
त्यसैले त 
आमा
बाबा छिमेकी
जे भने पनि 
मेरो प्यारो सडक तिमीलाई सलाम छ ।
हिजो
यही सडकमा
जिन्दाबाद र मुर्दाबाद
भन्दै मलाई 
हजारौंको जुलुसले 
साथ दिएको थियो 
सबै भन्दा चर्को 
कराउने मै थिएँ
गोली 
अश्रु ग्यासको बीचमा
हराउने पनि मै थिएँ
अनि म सँगै
धुवाँ
धूलो 
बारूद
टायर को गन्ध 
सबै पचाई दिने
मेरो प्यारो सडक तिमीलाई सलाम छ । 
यही सडकमा 
हिँडेरै
कोही दरबार पसे
घरबार बसे
माथि पुगेँ
तल खसे
तर 
म बबुरो 
जहाँको त्यही छु 
न सत्तामा 
न भत्तामा 
तिरस्कारको
पीडामा पनि
चुपचाप शरण दिने
मेरो प्यारो सडक तिमीलाई सलाम छ ।
हिजो
प्रचण्ड गर्मीमा
टाउकोमा टालाे बाधी
धुँवाको मुस्लो सँगै
अलकत्रा बिछ्याउँथे
आज
शान्त सडकमा
आफैलाई आफ्नो बिछ्यौना
बनाइरहेको छु 
मस्त निदाइरहेको छु
जसरी 
यही सडकबाट गएको
सहयात्री 
दरबारमा निदाइ रहेछ 
त्यसैले त 
भोक 
अभावमा 
मीठो निद्रा दिने
मेरो प्यारो सडक तिमीलाई सलाम छ ।
हिजो सत्तामा 
नहुनेहरुले बन्द गर्थे
आज सत्तामा 
हुनेहरूले 
बन्द गरी रहेछन् 
हिजो गोली वर्षाउँथे 
आज लाठी बर्साइरहेछन् 
हिजो जस्तै
आज पनि
भत्काइएका छन् पुलहरु
ढलाईएका छन् रूखहरू
एक मुठी
प्राण का खातिर
स्वघोषित बन्दहरु चलि रहेछन 
आफ्नै छातीमाथि
खुशीहरु 
बलात्कृत भइरहँदा पनि
चुपचाप सही दिने
मेरो प्यारो सडक तिमीलाई सलाम छ ।
प्रिय सडक
हिजो
तिमीलाई घाउ लाग्दा
तिम्रा खाल्डा खुल्डी
मैले टालेकै हो 
तिम्रै चेतनाले गर्दा
निरंकुशता विरुद्ध
मैले मशाल बालेकै हो 
तिम्रा
भत्किएका पुलहरु
जोडी दिएँ
तिमीलाई अल्झाउने
पथ्थर पनि
फोडी दिएँ
हिजो
तिमी हामी
संकटमा थियौं
आज म छु
त्यसैले
मेरो परिवारका 
भत्किएका मन हरु 
जोडन सघाई दिने
मेरो प्यारो सडक तिमीलाई सलाम छ ।
मेरो
प्रिय सडक
जो सुकैले जे सुकै भनोस्
उर्दी जारी गरोस् 
निषेधाज्ञा गरोस् 
म तिमी सँगै रहनेछु 
हिडि रहनेछु 
किनकि
रोग भन्दा
भोक ठूलो रहेछ
भोक भन्दा पनि
आफन्तको शोक
ठूलो रहेछ
मैले यहीँ बाट 
हजारौं माइलको यात्रा
पुरा गर्नुछ 
अनि पुग्नुछ
त्यही ठाउँमा
जहाँ
रित्तै हातले भए पनि
मेरै आशामा
भोक भोकै  चियाइरहेका
नयन हरुका आँशु पुछ्नुछ
त्यसैले त 
आकाशमा विमानहरु
उडिरहेका बेला
नक्कली पास बोकी
गाडिहरु गुडी रहेको बेला
बिना हिच्किचाहट
मलाई लिफ्ट दिने
मेरो प्यारो सडक तिमीलाई सलाम छ ।
भूमिराज शर्मा 
देउपुर, पर्वत
२०७७/०१/०५
५:५७am