मुस्ताङ, असार ११ - प्रयोगात्मक विषयको नम्बर हराउँदा स्थगित भएको मुस्ताङ जिल्लाको एसएलसी नतिजा सार्वजनिक हुँदा मुस्ताङ भक्तपुरपछि दोस्रो उत्कृष्ट जिल्ला बनेको छ । मुस्ताङमा ८६.५९ विद्यार्थी उत्तीर्ण भएका छन् । देशभर ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा हिमाली जिल्लाको नतिजा भने देशकै दोस्रो उत्कृष्ट भएको जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले जानकारी दिए । 'भक्तपुरको नतिजा ८७ प्रतिशत छ, हामी देशकै दोस्रो भयौं,' जिशिअ न्यौपानेले भने । जिशिका मुस्ताङका अनुसार ९७ जना विद्यार्थीले परीक्षा दिएकोमध्ये ४६ जना प्रथम श्रेणी, ३७ जना द्वितीय र एकजना तृतीय श्रेणीमा गरी ८४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । असार ४ गते प्रकाशित भएको प्रवेशिका परीक्षाको नतिजामा मुस्ताङको नतिजा समावेश भएको थिएन । जिशिकाले प्रयोगात्मक नम्बर पठाए पनि परीक्षा नियन्त्रण कार्यालयले समावेश नगर्दा समस्या भएको थियो । 'ढिलै भए पनि राम्रो नतिजा आएको छ, अहिले हामीले हरेक विद्यालयमा मार्कशिट पुर्याइसकेका छौँ,' जिशिअ न्यौपानेले भने ।
A Complete Educational Blog